गृहपृष्ठ बिमाको दायरा दुई वर्षमा १४३ प्रतिशत बढ्यो

बिमाको दायरा दुई वर्षमा १४३ प्रतिशत बढ्यो

insurance-newskarobar

दुई वर्षको अवधिमा बिमाको दायरा झन्डै डेढ सय प्रतिशत बढेको छ । बिमा समितिले गरेका संरचनागत तथा प्रक्रियागत सुधारका कारण बिमाको दायरा दुई वर्षमै १४३ प्रतिशत बढेको हो ।

नेपालमा बिमा सेवा सुरुवात भएको ६८ वर्षसम्म कुल जनसंख्याको ७ प्रतिशतमा सीमित रहेको बिमा दुई वर्षयता १० प्रतिशत वृद्धि भएर पुससम्ममा १७ पुगेको बिमा समितिले जनाएको छ । पहिलो वर्ष बिमा क्षेत्रको विस्तारका लागि नीतिगत तथा प्रक्रियागत सुधारमा जुटेको बिमा समितिले दोस्रो वर्षदेखि नै नतिजा देखिएको जनाएको छ । ‘हामीले एक वर्षको अवधिमा धेरै नै संरचनागत र प्रक्रियागत सुधार गरेका छौं,’ समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले भने, ‘त्यसको नतिजा देखिन थालेको छ, असारसम्ममा बिमाको दायरा बढेर २० प्रतिशत पुग्ने अपेक्षा गरेका छौं ।’

कृषिक्षेत्रको विकास तथा प्रवर्धनका लागि सञ्चालित कृषि बिमाअन्तर्गतका बिमालेख लगतको आधारमा रहँदै आएकोमा एक वर्षदेखि बिमा समितिले उत्पादनमा आधारित बिमालेख तयार गर्ने कार्यक्रम सञ्चालन गरेको छ । हाल समितिबाट विभिन्न खाद्यान्न बाली, तरकारी बाली, घाँसखेती, चियाखेती र मसलाबाली बिमालेख जारी भइसकेका छन् । आँपखेती र कफीखेती बिमालेख जारी गर्ने तयारी भइरहेको छ भने माछा बिमालेख परिमार्जन गरिएको छ । फलतः कृषि बिमातर्फ गत आर्थिक वर्ष २०७४/७५ को तुलनमा चालू आवको असोजसम्ममा ४६ प्रतिशत वृद्धि भएको छ ।

न्यून आय भएका वर्गलाई पनि बिमाको दायरामा ल्याउन र थप सुरक्षण प्रदान गर्न बिमांक रकम थप र बिमादर परिमार्जन गरी लघुबिमा निर्देशिका २०७१ लाई समयानुकूल बनाइएको छ । वैदेशिक रोजगार म्यादी जीवन बिमालेखलाई थप व्यवस्थित बनाउन २०७५ माघदेखि बिमा पुलको व्यवस्था गरिएको छ । हाल वैदेशिक रोजगार म्यादी जीवन बिमालेख चारवटा बिमा कम्पनीबाट जारी हुँदै आएको छ ।

समितिले अग्नि बिमा दरसम्बन्धी सामान्य निर्देशन २०५८ प्रतिस्थापन गरी अन्तर्राष्ट्रिय प्रचलनबमोजिम हुने गरी सम्पत्ति बिमालेख निर्देशिका २०७५ जारी गरेको छ । यो निर्देशिकाले आगलागी र भूकम्पमात्र नभएर बाढीपहिरोलगायत प्राकृतिक प्रकोपबाट सिर्जना हुने जोखिममा समेत रक्षावरण गर्नेछ । त्यस्तै, समितिले तेस्रो पक्ष दायित्वलाई थप व्यवस्थित बनाउन मोटर बिमा दरसम्बन्धी निर्देशिका २०७३ लाई संशोधन गरेको छ ।

बिमाको दायरा बढाउन बिमा समितिका अध्यक्ष चापागाईं नै सक्रियतासाथ जुटेका छन् । बिमा प्रचारप्रसारर्ला ग्रामीणस्तरसम्म पुर्याउन समितिले एक वर्षयता स्थानीय तहका जनप्रतिनिधिसँग अन्तक्र्रिया गर्दै आएको छ । समितिले एक वर्षमा सातवटै प्रदेशका १२ स्थानीय तहमा कार्यक्रम गरिसकेको छ भने विभिन्न सामुदायिक विद्यालयमा ‘विद्यार्थीसँग बिमा समिति’ भन्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

समितिले बिमा क्षेत्रमा जनशक्ति अभावको समस्या न्यूनीकरण गर्न इन्स्योरेन्स इन्स्टिच्युट नेपालमार्फत बिमा समितिका कर्मचारी, बिमकका कर्मचारी र वाणिज्य बैंकका कर्मचारीलाई बिमा, बैंकिङ, निरीक्षण तथा सुपरीवेक्षणलगायत बिमाका आधारभूत विषयमा १४ वटा तालिम सञ्चालन गरेको जनाएको छ । जसमा ३२८ जना सहभागिता जनएका छन् ।

बिमा सचेतनासँगै ग्रामीणस्तरसम्म बिमाको पहुँच वृद्धि गर्न समितिले बिमा कम्पनीका शाखा खोल्ने कार्यलाई प्राथमिकतामा राखेको छ । २०७५ माघसम्ममा मुलुकभर बिमा कम्पनीमा २०८१ शाखा÷उपशाखा स्थापना भइसकेका छन् । बिमा क्षेत्रमा करिब ८ हजार जनाले प्रत्यक्ष तथा डेढ लाखभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाइरहेको समितिले जनाएको छ ।

कम्पनीहरुको संख्या वृद्धि र पुँजी वृद्धिको योजनाका कारण व्यवसाय विस्तार गर्न कम्पनीहरु बाध्य हुँदा बिमा क्षेत्रको वृद्धि दिन दुगुना रात चौगुना देखिएको हो । हाल नेपालमा १९ जीवन बिमा, २१ निर्जीवन बिमा तथा एक पुनर्बिमा गरी ४१ वटा बिमा कम्पनीले व्यावसायिक कारोबार गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

बिमामा उपेक्षाले क्षति नै क्षति, अचेतना नै मूल समस्या

 

प्रकाशित समय १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु