गृहपृष्ठ कहाँ गयो बैंकिङ क्षेत्रको लगानी ?
कहाँ गयो बैंकिङ क्षेत्रको लगानी ?
बैंकहरूको लगानी ओभरड्राफ्ट, सेयर कर्जा र हायर पर्चेजमा
देशका बैंक तथा वित्तीय संस्थाहरूले आफूले जम्मा गरेको निक्षेपको झन्डै ९० प्रतिशत लगानी गरेको देखिए पनि त्यो उत्पादन र रोजगारी बढाउने क्षेत्रमा परिचालन नै नभएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरूले कुल ३ खर्ब ६ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा २ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ लगानी नै गरेका छन्, यो कुल निक्षेपको झन्डै ९० प्रतिशत हो । जबकी, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)को व्यवस्थाअनुसार कुल निक्षेपको ८० प्रतिशतभन्दा बढी लगानी गर्न पाइँदैन ।
अहिले धेरैजसो वाणिज्य बैंकहरूको सीडी रेसियो यो हाराहारीमा पुगिसकेकाले बैंकिङ क्षेत्रमा लगानी गर्ने पैसासमेत नभएर बैंकरहरू छटपटाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार २८ वटा वाणिज्य बैंकहरूले मात्र २ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँबराबरी लगानी गरेका छन्, औसतमा एउटा बैंकले साढे आठ अर्ब रुपैयाँ लगानी गरेको देखिन्छ, यत्रो ठूलो लगानी हुँदा पनि देशमा कति रोजगारी सिर्जना भयो? देशमा कति उत्पादनमूलक क्षेत्र विस्तार भयो भनेर हेर्ने हो भने निराश हुनुपर्ने अवस्था छ । देशमा रोजगारी नपाएर दैनिक १५०० युवाहरू बिदेशिन बाध्य छन् । यदि बैंकहरूले लगानी गरेको रकम सही ढंगले उत्पादन बढाउने क्षेत्रमा परिचालन भएको भए उनीहरू बिदेशिनु पर्दैन थियो ।
राष्ट्र बैंकको विवरण हेर्दा कुल ऋणको २९ प्रतिशत थोक तथा खुद्रा बिक्री शीर्षकमा लगानी भएको देखिन्छ, जबकी उत्पादनमूलक क्षेत्रमा २२ प्रतिशत र सेवामा ११ प्रतिशत लगानी हुँदा कृषिमा ९ प्रतिशतमात्रै लगानी भएको छ । बिमा, वित्त र रियल इस्टेट कर्जामा कुल कर्जाको १३ प्रतिशत लगानी भएको छ भने गाडी, मोटरसाइकल, इलेक्ट्रिक घरायसी उपकरण (हायर कर्जा)मा कुल कर्जाको ७ प्रतिशत लगानी भएको देखिन्छ ।
सबैभन्दा डरमर्दो विषय भनेकोचाहिँ बैंकहरूले रियल इस्टेटमा गरेको लगानीलाई अहिले ‘ओभरड्राफ्ट कर्जा’मा परिणत गरेर वासलातमा देखाउने गरेका छन् भने नेपाल राष्ट्र बैंक आफैले डेढ करोड रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत घर ऋणमा राखेकाले हाउजिङ र अर्पाटमेन्टहरूले समेत उक्त शीर्षकमै कर्जा उपयोग बढाएका छन् । आवासीय रियलस्टेट कर्जा चालू वर्षको पहिलो ६ महिनामा गत वर्षको तुलनामा गत वर्षको तुलनामा झन्डै ९ प्रतिशतले बढेको छ भने समग्र रियल इस्टेट कर्जा गत वर्षको यही अवधिभन्दा २.१ प्रतिशतले बढेको छ ।
रकमगत आधारमा हेर्दा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा डेढ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा २१ अर्ब ९७ करोड रुपैयाँ लगानी भएको देखिन्छ भने त्यसबाहेकको रियलस्टेट कर्जा १४ अर्ब ५२करोड लगानी भएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो नीति लिएसँगै घरजग्गाको कारोबार बढेको हो र सोही कारणले यी शीर्षकहरूमा जाने ऋण पनि बढेको हो ।
पुस मसान्तसम्ममा ओभरड्राफ्टमात्रै १० प्रतिशतले बढेर ४२ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यसले मात्र कुल कर्जाको १६ प्रतिशत अंश ओगट्छ भने छोटो अवधिको कर्जा (टर्म लोन)ले कुल कर्जाको १८ प्रतिशत ओगट्छ । स्थिर पुँजीका लागि दिइने छोटो अवधिको कर्जा पनि १५ प्रतिशतले बढेको देखिन्छ ।
यसैगरी, बैंकहरूको अर्को लगानी सेयरको धितोमा राखेर दिइने कर्जा (मार्जिन कर्जा) र उपभोक्ता कर्जा (हायर पर्चेज) कर्जामा केन्द्रीत भएको राष्ट्र बैंकको विवरणबाटै देखिएको छ । समग्रमा मार्जिन कर्जा २.१ प्रतिशतले मात्रै बढेजस्तो देखिए पनि २० देखि ५० लाख रुपैयाँसम्मको लगानी पहिलो ६ महिनामा नै २३ प्रतिशतले बढेको छ भने हायर पर्चेज ऋण झन्डै ७ प्रतिशतले बढेको छ । बैंकहरूले छिटो नाफा हुने क्षेत्रमा मात्रै अन्धाधुन्ध लगानी बढाउँदै गएकाले नेपालको वित्तीय क्षेत्रमा तरलतासम्बन्धी गम्भीर समस्या देखिएको हो ।
तत्कालीन नाफाका लागि आफ्नो स्रोत परिचालनको अवस्था नहेरीकनै व्यापक रूपमा लगानी बढाएकाले वर्तमान संकट आइपरेको विज्ञहरू बताउँछन् । बैंकहरूमा जसरी भए पनि नाफा कमाउनै पर्ने दबाबले यसरी छोटो अवधिका लगानीमा केन्द्रीत हुनुपर्ने बाध्यता बढेको हो ।
यो पनि पढ्नुहोस्
बैंकिङ क्षेत्रमा गम्भीर संकट, १९ बैंक तरलता जोखिम सूचीमा
प्रकाशित समय १५:५३ बजे

















