गृहपृष्ठ देशमा अर्बौंको आर्थिक अपराध
देशमा अर्बौंको आर्थिक अपराध
*६ महिनामै हुन्डी कारोबारीबाट ६ अर्ब बरामद *९ अर्बको राजस्व अपचलन *सम्पत्ति शुद्धीकरणमा साढे ५६ करोडको मुद्दा
मुलुकभित्र विगत केही समयदेखि आर्थिक अपराध व्यापक रूपमा झांगिन थालेपछि सरकारले एकै पटक आफ्ना सबै अनुसन्धानमूलक संयन्त्रहरूलाई एकीकृत रूपमा परिचालित गर्ने निर्णय लिएको छ । हालैमात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतका अनुसन्धान निकायहरूलाई ल्याइएपछि ती निकायलाई एकीकृत रूपमा परिचालन गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जानकारीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो तथा आर्थिक अपराध महाशाखासमेतको सक्रियता यसबीचमा बढाइएको छ ।
मुलुकमा हुन्डी कारोबार व्यापक रूपमा मौलाउन थालेपछि सीआईबी र प्रहरीका अन्य संयन्त्रहरू परिचालन गरि मुख्य हुन्डी कारोबारी पक्राउ गर्न थालेको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नै देशभरिबाट ५५ जना अवैध हुन्डी कारोबारी पक्राउ गरिएको छ, तिनीहरूबाट ५ अर्ब ९१ करोड ६ लाख रुपैयाँबराबरको रकमसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरूलाई बिगोको तेब्बर जरिवाना र ३ वर्षसम्म कैद माग गरेर अदालतमा मुद्दा दायर गरिएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
हुन्डीका कारोबारीहरूलाई नियन्त्रण गर्न थालिएसँगै त्यसले रेमिट्यान्समा सकारात्मक प्रभाव पारेको दाबी सरकारको छ । प्रहरीले अहिले शंकास्पद हुन्डी कारोबार हुनसक्ने आशंकामा केही ठूला रेमिट्यान्स कम्पनीमाथि पनि सुक्ष्म निगरानी बढाएको छ । काठमाडौंमा प्रहरीले कडाइ गर्न थालेपछि विराटनगर, जनकपुर, वीरगन्जलगायतका तराईका सीमावर्ति सहरहरूमा हुन्डी कारोबारीले आफ्नो सञ्चाल सारेका प्रहरीको अनुसन्धाले दिएको छ । त्यस्ता केही ठूला कारोबारीलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ ।
हालैमात्र जनकपुरबाट हालसम्मकै सबैभन्दा ठूलो हुन्डी कारोबारीको र्याकेट पक्राउ गरिएको थियो । जनकपुरका रामेश्वर पूर्वे, उनकी श्रीमती मीना साह, विजय यादवसहितले ‘ह्वाट्स एप’को प्रयोग गरेर ४ अर्ब १५ लाख ४९ हजार रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट खुलेको थियो भने तिनका साथबाट ८३ लाख ६९ हजार नेरु र भारु ६,५०० बरामद भएको थियो । उनीहरूमाथि ४ अर्ब १६ करोड ३३ लाखको मागदाबीसहित राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरिसकेको छ ।
यसैगरी, हुन्डी कारोबारीहरू अरुणकुमार दास, रोशनकुमार महरा, विन्देश्वर राउतसहितका व्यक्तिले १३ करोड २२ लाखको हुन्डीमार्फत भुक्तानी गरेको र उनीहरूबाट बरामद भएको ५५ लाख ३७ हजारसमेत जोडेर २ अर्ब २० करोड रुपैयाँको मागदाबी गरेर अर्को मुद्दा पनि दायर भइसकेको छ ।
राजस्व अनुसान्धान विभागले पहिलो ६ महिनामा झन्डै १०० व्यावसायिक संस्था र फर्महरूको शंकास्पद कारोबारको छानबिन र अनुसन्धान गरी नक्कली भ्याट बिलको कारोबार गर्नेहरूमाथि समेत अनुसन्धान गरी २० करोड रुपैयाँको मागदाबी गरेर मुद्दा दायर गरिएको जानकारी दिएको छ ।
यही अवधिमा प्रहरीले भन्सार चोरीपैठारी गरेर ल्याएको ३५ किलो सुन बरामद गरिसकेको छ । नेपालमा सुनको अवैध कारोबार हुन्डीकै माध्यमबाट चल्ने गरेको छ । झिटीगुन्टा सुविधामा वा विभिन्न प्याकेट भित्र ल्याइएका सुन तस्करहरूले गौशाला र बसपार्क आसपासका तल्लो एजेन्टबाट संकलन गर्ने क्रममा ‘ट्रयाप थापेर’प्रहरीले सुन बरामद गर्ने गरेको हो ।
९ अर्बको राजस्व चुहावट
यसैबीच राजस्व अनुसन्धान विभागले यही अवधिमा राजस्व चुहावटमा संलग्न १३२ जनालाई पक्राउ गरेर अदालतमा मुद्दा दायर गरेको छ । विभागका अनुसार राजस्व चुहावटको कसुरमा ८ जना कर्मचारीसहित १३२ जनामाथि मुद्दा दायर गरिएको हो । उनीहरूबाट बिगो र जरिवाराबापत ९ अर्ब १४ करोड ७७ लाख रुपैयाँ रकम र ३ वर्षसम्म कैद मागदाबी गरिएको जनाइएको छ ।
सरकारको राजस्व लक्ष्य पूरा गर्नमा सकस भएसँगै राजस्व अनुसन्धान विभागका सबै मातहत क्षेत्रीय कार्यालयहरूमार्फत राजस्व चुहावट नियन्त्रणका पहल थालिएको हो । विभागले वैदेशिक रोजगारीमा पठाएबापत तिर्नुपर्ने कर नतिरी लुकाएकोमा समेत नेपाल वैदेशिक रोजगारी व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङसहितका अन्य म्यानपावर व्यवसायीमाथिसमेत मुद्दा दायर गरिसकेको छ ।
यस्ता छन् मुख्य राजस्व छली
रसुवा भन्सारमार्फत मितेरी इन्टरनेसनलले एडिडास ब्रान्डको सामानसहित अन्य सामान कम देखाएर आयात गरेपछि व्यापारीहरू रञ्जन श्रेष्ठ, सुमन त्रिपाठी,धनबहादुर तामाङसहित भन्सार कर्मचारीहरू पवित्रकुमार खड्का र धिरजकुमार थापामाथि राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । उनीहरूले ७५ करोड राजस्व छलेको आरोप विभागको छ ।
यसैगरी सुभान इन्टरनेसनले विमानस्थल भन्सार कार्यालयबाट प्रज्ञापनमा घोषितभन्दा बढी परिणामको सामान ल्याएपछि उक्त कम्पनीका भरतबहादुर अर्याल र सुशीला पाण्डेलयातका ४ जनाविरुद्द १८ लाख बिगो र ३ वर्ष कैद सजाय मागदाबी गरेर मुद्दा दायर गरिएको छ ।
छिरिङ ङटुप लामा र लोप्साङ तेन्जे लामाले अवैध रूपमा ल्याएको १० किलो ७६६.१ लाख सुन बरामद गरेर उनीहरूमाथि ४ करोड ९३ लाखको बिगो मागदाबीसहित मुद्दा दायर गरिएको जनाइएको छ । यस्तै, बहादुर तामाङबाट पनि ५ किलो सुन बरामद भएकोले तामाङमाथि पनि २ करोड ४९ लाखको बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ ।
सम्पत्ति शुद्धीकरणका सात मुद्दा
यसैबीच, सम्पत्ति शुद्धीकरण विभागमा पहिलो ६ महिनामा २१४ उजुरी परेकोमा तीमध्ये ७ वटा मुद्दा अभियोजन गरेर ५६ करोड ६२ लाखको बिगो दाबी गरी दोब्बर जरिवाना र कैद मागदाबी गरिएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित समय १७:३८ बजे

















