गृहपृष्ठ राजधानीमै विस्फोट भएपछि विज्ञहरू भन्छन्- सुरक्षा चुनौती बढ्यो

राजधानीमै विस्फोट भएपछि विज्ञहरू भन्छन्- सुरक्षा चुनौती बढ्यो

सुरक्षा मामिलाका जानकारको टिप्पणी- गुप्त सूचना संकलनमै प्रहरी चुक्यो

nepal_police फाइल तस्बिर

पछिल्लो समय विभिन्न स्थानमा भएको विस्फोट र आगजनीपछि सुरक्षा चुनौती बढेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जिम्मा लिएको एनसेल केन्द्रीय कार्यालय र एनसेलका टावर लक्षित घटनापछि सुरक्षा चुनौती बढेको सुरक्षा विज्ञहरु बताउँछन् ।

माओवादी सशस्त्र द्वन्द्वको एउटा समूह मूलधारको राजनीतिप्रति अरुचि राख्दै हिंसामा उत्रनु सामान्य नरहेको सुरक्षा विज्ञहरुको आँकलन छ । यसले मुलुकमा बल्लतल्ल व्यवस्थित हुन लागेको राजनीतिक स्थायित्वमा धावा बोल्न खोजेको सुरक्षा मामिलाका जानकार  राजेन्द्र बहादुर सिंहको टिप्प्णी छ । तर, यसलाई नियन्त्रण गर्न सुरक्षा प्रशासनले अझै आवश्यक चासो नदिएको पूर्व एआईजी समेत रहेका सिंहको टिप्प्णी छ ।

गुप्त सूचना संकलनदेखि जनशक्ति व्यवस्थापनमा समेत चुकेको सुरक्षा संयन्त्र घटनापछि आवश्यक गम्भीर अनुसन्धानमा समेत लापरबाह देखिएको हेमन्त मल्लको ठम्याई छ ।

‘राजधानीमै वम विष्फोट हुनु मामोली घटना होइन । यसअघि नै सुरक्षा सर्तकता नभएको र अझै पनि समेत सचेत नभएको पाइयो । सुरक्षा निकायको सूचना संकलन, परिचालनमा त्रुटी छ,’ सिंह भन्छन्, ‘भूमिगत रूपमा संगठन सञ्चालन गर्दै चन्दा संकलनसहित विस्फोटका घटना जारी राख्दा र मैले आतंक मच्चाएको भनेर कसैले भन्दा भन्दै राज्यले आतंक नियन्त्रणमा आवश्यक सतर्कता देखाउन नसक्नु, कारबाही प्रक्रिया अगाडि बढाउन नसक्नु ठूलो कमजोरी हो ।’

सुरक्षा संयन्त्रको गुप्त सूचना संकलनदेखि जनशक्ति व्यवस्थापनमा समेत चुकेको सुरक्षा संयन्त्र घटनापछि आवश्यक गम्भीर अनुसन्धानमा समेत लापरबाह देखिएको अर्का विश्लेषक हेमन्त मल्लको ठम्याई छ । कुनै पनि जघन्य घटनाको आवश्यक गम्भीर अनुसन्धान र नागरिकलाई सुरक्षा प्रत्याभूति गृह प्रशासनको पहिलो प्राथमिकता हुनुपर्ने भए पनि त्यो नदेखिएको उनको टिप्प्णी छ ।

‘सुरक्षा निकायको इन्टलिजेन्ट देखिएन, विगतमा जस्तो सक्रियता तत्पतरता हराएको देखियो, यति ठूलो घटना एकैसाथ देशभर हुनुअघि नै सुरक्षा निकायले जानकरी पाइसक्नुपर्थ्यो,’ मल्ल भन्छन्, ‘सुरक्षा संयन्त्रलाई त्यहीअनुसार निर्दिष्ट गर्न नेतृत्व असक्षम देखियो, गुप्त सूचना संकलन गर्ने संगठनहरूको निक्कै ठूलो कमजोरी देखियो ।’

घटनाको जिम्मा लिएको विप्लव समूहसँग तत्कालीन सशस्त्र द्वन्द्वमा बम बनाउने र पड्काउनेजस्ता युद्धकौशल जानेका कार्यकर्ता धेरै छन् । यस्तो अवस्थामा अझै थप हुनसक्ने घटनाप्रति सुरक्षा निकाय चनाखो नभएको देखिएको उनको टिप्प्णी छ ।

पछिल्लो घटनाको जिम्मा लिएको समूह चन्दा असुली, आगजनी र विस्फोटमा निरन्तरजस्तै जोडिँदै आएको छ । विगतका घटनामा राजनीतिक रंग दिँदै पक्रने र छाड्ने प्रवृत्तिले ति समूहका कार्यकर्ता बढी हौसिएका गृहमन्त्रीले नै बताएका छन् ।

यस घटनालाई विध्वंसात्मक तथा आतंककारी गतिविधिको रुपमा प्रहरीले लिएको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीको दावी छ ।

घटनापछि अनुसन्धान गर्ने र पक्राउ गर्नेबाहेक अन्य विकल्प नहुँदा यो समस्या दोहोरिँदै आएको प्रहरीका उच्च अधिकारीहरु बताउँछन् ।

यता प्रहरी भने सिंगो संगठनको सक्रियतामा कुनै कमी नआएको दावी गर्दै आएको छ । प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘एनसेल टावरमा आगजनी र विस्फोट गराउनेमाथि प्रहरी खोजतलासमा जुटेको छ, पक्राउ गरेर कानुनी दायरामा ल्याउँछौं ।’

यस घटनालाई विध्वंसात्मक तथा आतंककारी गतिविधिको रुपमा प्रहरीले लिएको बताउँदै प्रवक्ता सुवेदी सुरक्षा कडा बनाइएको दावी गर्छन् ।

उनी भन्छन्, ‘सार्वजनिक स्थलमा भय सिर्जना गरी निहत्था नागरिक मार्ने घटना आतंककारी हो । शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने कर्तव्य पालना गर्न कसुरबापतको कारबाहीमा कुनै कसर राख्दैन ।’

प्रकाशित समय १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु