गृहपृष्ठ राष्ट्रियसभाबाट मन्त्री अधिकारीको शोक प्रस्ताव पारित
राष्ट्रियसभाबाट मन्त्री अधिकारीको शोक प्रस्ताव पारित
राष्ट्रियसभाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । शुक्रबारको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शोक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणसमेत गरेको छ ।
शोक प्रस्तावमा भनिएको छ, ‘मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा २०७५ साल फागुन १५ गते बुधबारका दिन तेह्रथुमको चुहानडाँडा एयरपोर्ट निरीक्षणपश्चात् पाथीभरा देवीको दर्शन गरी काठमाडौं फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका- १० सिस्नेभिरमा हेलिकप्टर दुर्घटनामा परी निधन भएकोमा बैठक गहिरो शोक प्रकट गर्दछ ।’
२०६४ र २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की जिल्लाबाट निर्वाचित अधिकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य थिए । युवा अवस्थादेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय अधिकारी व्यवस्थापिका-संसद्को विकास समितिको पूर्व सभापतिसमेत थिए ।
बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक-सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । शोक प्रस्ताव पारित गरेसँगै शुक्रबारको बैठक सकिएको छ । अर्को बैठक फागुन १९ गते आइतबार १ बजे बस्नेछ ।
प्रकाशित समय १५:२० बजे
















