गृहपृष्ठ यस वर्ष धानको उत्पादन ५४ लाख टन पुग्ने
यस वर्ष धानको उत्पादन ५४ लाख टन पुग्ने
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ)ले यस वर्ष अर्थात् सन् २०१९ मा नेपालको धान उत्पादन ५४ लाख मेट्रिक टन पुग्ने प्रक्षेपण गरेको छ । यस वर्ष मनसुन ढिला प्रवेश गरेको र रसायनिक मल लगायतका अन्य कृषि सहायक वस्तुको आपूर्तिमा कमी आउने संकेतका बाबजुद धानको उत्पादन १.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको हो ।
सन् २०१८ मा नेपालमा ५३ लाख ४० हजार टन धान उत्पादन भएको थियो । गत वर्ष मनसुन अनुकूल भएको कारणले धानको उत्पादन करिब साढे ७ प्रतिशतको उच्चदरले बढेर हालसम्मकै उच्च अनुपातमा फलेको थियो ।
चालू वर्षमा खेतीपातीका याम सुरु हुँदासम्म पानी पर्याप्त पर्न नसक्दा निकै न्यूनमात्रै धान रोपाइँ हुन सकेको छ । यस्तै सरकारले धान लगाउने मुख्य समय सुरु हुँदासमेत पर्याप्त रसायनिक मल नै उपलब्ध गराउन सकेको छैन । यस्ता कारणले गर्दा यस वर्ष धानको उत्पादन नघटे पनि गत वर्षको भन्दा थोरै अनुपातले मात्र बढ्ने अनुमान गरिएको हो ।
नेपालभित्रको उत्पादनले नपुगेपछि सन् २०१९/२०मा खाद्यान्न आयात बढेर १२ लाख टन पुग्ने एफएओको अनुमान छ । यस वर्ष धान–चामलको आयात भने औसतभन्दा १३ प्रतिशत कम भइ ५ लाख टन पुग्ने अनुमान गरिएको छ । मुलुकभित्रका भरिपूर्ण उत्पादनले नै आन्तरिक माग पूरा गर्ने भएकाले धान–चामलको आयात घट्ने उसको भनाइ छ ।
दाना उद्योगको बढ्दो मागसँगै मकैको आयात पनि बढेर ५ लाख टन पुग्ने अवस्थामा गहुँको आयात भने आन्तरिक उत्पादन बढेसँगै पाँच वर्षकै न्यून तहमा झर्ने एफएओले प्रक्षेपण गरेको छ ।
एफएओले यस वर्ष गहुँको उत्पादन भने उल्लेख्य दरले बढ्ने प्रक्षेपण गरेको छ । संगठनका अनुसार यस वर्ष गहुँको उत्पादन २० लाख ८० हजार पुग्नेछ । यो गत वर्षको भन्दा ५ दशमलव ४ प्रतिशतले बढी भएको एफएओद्वारा शुक्रबार सार्वजनिक नेपालको खाद्य उपलब्धताबारेको प्रतिवेदनमा उल्लेख छ ।
अक्टोबर र मेका बीचमा तराई क्षेत्रमा गहुँको उत्पादन तीव्र रुपमा बढेसँगै यस वर्ष समग्रमा नेपालको खाद्य उत्पादन २२ लाख टन पुग्ने प्रक्षेपण गरिएको हो । तराई क्षेत्रले नेपालको कुल गहुँ उत्पादनको ६० प्रतिशत हिस्सा ओट्ने गरेको छ ।
एफएओका अनुसार यो वर्ष मकैका उत्पादनमा ० दशमलव ४ प्रतिशतको झिनो वृद्धि भइ २० लाख ८० हजार टन पुग्नेछ भने कोदो, उवासहितका अन्य अन्नको उत्पादन पनि ३ दशमलव ५ प्रतिशतले बढेर ३ लाख ६५ हजार टन पुग्ने भएको छ ।
नेपाल सरकारले भने यो वर्ष धानको उत्पादन ७० लाख टन पुग्ने बताएको छ । यो वर्ष करिब १५ लाख ५२ हजार ४६९ हेक्टरमा रोपाइँ गर्ने सरकारको लक्ष्य छ । संघीयताको कार्यान्वयनसँगै सिँचाइ, बीउबिजनलगायतका कुरा स्थानीय तहको पहुँचमा भएकाले आगामी वर्ष करिब ७० लाख टन उत्पादन हुने मन्त्रालयको अनुमान छ । उत्पादित सबै चामलले बजार पाउन सके आगामी आर्थिक वर्षमै आयात दर घटाउन सकिने कृषि तथा पशुपन्छी मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराई बताउँछन् ।
प्रकाशित समय १५:५९ बजे

















