गृहपृष्ठ दुई महिनामै ७७ प्रतिशतले बढ्यो प्याजको भाउ

दुई महिनामै ७७ प्रतिशतले बढ्यो प्याजको भाउ

प्याजको आयात ५२ प्रतिशतले घट्यो

Onion Price_NewsKarobar

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि विगत दुई महिनाको अवधिमा प्याजको मूल्य करिब ७७ प्रतिशतले बढेको छ । दसैँका समयमा मासुमा हाल्ने मसलाका रूपमा रहेको प्याजका भाउ लगातार बढे पनि उपभोक्ताहरू चुपचाप किन्न बाध्य भएका छन् ।

आन्तरिक रूपमा उत्पादित प्याजले माग नधान्ने भएका हुनाले नेपाल वार्षिक औसत ७५ हजार टनभन्दा बढी  प्याज आयात गर्ने गरेको छ । गत आर्थिक वर्षमा भारतबाट मात्रै झन्डै ७४ हजार ९ सय टन र चीनबाट २६०० टन प्याज आयात भएको थियो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार भदौ ३० गते भारतीय प्याजको औसत थोक मूल्य प्रतिकिलो ७५ रूपैयाँ रहेकोमा शुक्रबार (कात्तिक ७ गते) थोक मूल्य नै औसत १३३ रूपैयाँ किलो पुगेको छ । अहिले खुद्रा बजारमा भने प्याजको मूल्य प्रतिकिलो १५० देखि १६० का बीचमा छ ।

दसैं लागेपछिमात्र एक हप्ताका बीचमा प्याजको मूल्य झन्डै २० प्रतिशतले बढाएको पाइएको छ । असोज २९ गते कालीमाटी थोक बजारमा प्याजको मूल्य प्रतिकिलो औसत १०५ रूपैयाँ रहेकोमा ४ गते ११८ रूपैयाँबाट बढाइ ५ गतेदेखि १३० रूपैयाँ भन्दामाथि पुर्‍याएको हो, शुक्रबार बिहान कात्तिक ७ गते न्यूनतम १३० र अधिकमतम १३५ रूपैयाँ प्रतिकिलो मूल्य कायम कालीमाटी बजार विकास समितिले जनाएको छ ।

आयात ५२ प्रतिशतले घट्यो

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको आयात ५२ प्रतिशतले घटेको छ । प्रायःजसो यही सिजनमा विगत केही वर्षदेखि भारतले प्याज निर्यातमा रोक लगाउने गरेको छ ।

गत वर्षको पहिलो त्रैमासिक अवधिमा भारतबाट ३६ हजार ५८ टन (३ करोड ६० लाख ५८ हजार किलो) प्याज आयात भएकोमा यो वर्ष असोज मसान्तसम्म १७ हजार २२३ टनमात्र प्याज आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

साउन र भदौ दुई महिनामा १५ हजर ७९५ टन प्याज भारतबाट आयात भएकोमा असोजमा यो अनुपात घटेर केबल १ हजार ४४१ टनमात्र प्याज आयात भएको भन्सार विभागको तथ्यांकबाट देखिन्छ । गत वर्ष यही अवधिमा नेपालमा प्याजका हाहाकार मच्चिएपछि चीनबाट समेत २ लाख ८१ हजार किलो प्याज आयात भएको थियो।

भारतमै पनि विभिन्न सहरहरूमा यस वर्ष प्याजका भाउ बढेर प्रतिकिलो औसत ८० रूपैयाँभन्दा माथि पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । बढ्दो मूल्य नियन्त्रणका लागि भारतको केन्द्र सरकारले आगामी दुई महिना प्याज आयातमा खुकुलो नीति अवलम्बन गरेको र भण्डारणमा रहेका प्याज बजारमा पठाउने निर्णय गरेको छ ।

प्रकाशित समय १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु