गृहपृष्ठ कृषकलार्इ सधैं मल अभाव, प्रदेश सरकार पनि आश्वासनमात्र बाँड्दै
कृषकलार्इ सधैं मल अभाव, प्रदेश सरकार पनि आश्वासनमात्र बाँड्दै
खेतीपाती सुरु हुँदादेखिको रासायनिक मल अभावको समस्या कैलालीमा अझै यथावत छ । धान रोप्दादेखि पसाउने बेलासम्म अधिकांश किसानले मल पाउन सकेका छन् ।
मलबिनै गरिएको धानखेती राम्रो हुन नसकेको उनीहरुको भनाइ छ । ‘मल नपाएर त्यत्तिकै रोपिएको धान पसाउन सुरु भइसकेको छ,’ कैलारी गाउँपालिका-७, वसन्ताका कर्णबहादुर चौधरीले भने, ‘तर मल पाइएन ।’
सो वडाको वसन्ता र भुइयाँफाँटा गाउँमा धान ब्लक क्षेत्र बनाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उत्पादन वृद्धि गर्ने उद्देश्यले धान ब्लक क्षेत्र बनाइएको हो ।
धानको गोडमेल सकेपछि युरिया मल हाल्न खोज्दा पनि नपाइएको भुइयाँफाँटाका फूलराम चौधरीले बताए । ‘धान पसाउन लागेको छ,’ उनले भने, ‘मलका लागि गाउँका सहकारीमा दिनकै पुग्ने गर्छु, आएकै छैन भन्छन् ।’
परियोजनाको ब्लकअन्तर्गत उनले डेढ बिघामा धान रोपेका छन् । वडा नम्बर ७ को वसन्ता क्षेत्रको डेढ सय बिघालाई परियोजनाले समेटेको छ । धानको पकेट क्षेत्रअन्तर्गतकै खेतमा मल हाल्न नपाएको कृषक चौधरीले गुनासो गरे ।
गोडमेल गरेर पसाउन ठिक्क परेको धानमा अहिले मल हाल्न नपाए उत्पादन घट्ला भन्ने उनको चिन्ता छ । ‘रोपाइँ गरेपछि मल हालेको हो तर केही ठाउँमा धानको बोट राम्ररी हुर्कन पाएको छैन,’ फूलराम भन्छन्, ‘पसाउने बेला हुन थालेकाले अहिले अनिवार्य रुपमा मल हाल्नुपर्ने हो तर गाउँका धेरै किसानले मल पाएका छैनन् ।’ धान उत्पादन बढाउन यतिबेला अन्तिम पटक मल आवश्यक हुने कैलारी-५, पवेराका किसान जगीलाल चौधरीको भनाइ छ ।
निर्वाहमुखी कृषिलाई व्यावसायिक र आधुनिकीकरण गरी देशलाई अन्नमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले दुई वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिक परियोजना सञ्चालन गरिरहेको छ । किसानलाई सहुलियत दरमा कृषि यन्त्र, उन्नत बीउ, मल आदिलाई परियोजनाले प्राथमिकतामा राखेको छ ।
राष्ट्रिय धान दिवस मनाउनका लागि वसन्ता पुगेकी प्रदेश नम्बर ७ का भूमि व्यवस्था, कृषि सहकारीमन्त्री विनिता चौधरीले समयमै मल उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् । तर, उनको प्रतिबद्धता प्रतिबद्धतामै सीमित बनेको किसानको दुखेसो छ ।
परियोजना लागू भएको क्षेत्रमा कृषि यन्त्र र कृषि सामग्रीको उपलब्धतालाई सरकारले उच्च प्राथमिकता दिएको बताए पनि कैलालीमा धानको उत्पादकत्व वृद्धि गर्न लागू गरिएको ब्लक र पकेट क्षेत्रका किसानले रासायनिक मल नपाउनुले सरकारी प्राथमिकताको खिल्ली उडाएको कृषक बताउँछन् ।
कतिपय किसानले रोपाइँ गरेपछि रासायनिक मल नै हाल्न पाएका छैनन् । कैलारी-५, जबदहुवाका गहनलाल चौधरीले तीन बिघा धानखेतमा मल हाल्न नपाएको बताए । ‘रोपाइँका बेला पनि आवश्यकताअनुसार मल हाल्न पाइएन । अहिले झन् मल नै छैन,’ उनले भने ।
परियोजनाअन्तर्गत कैलालीको कैलारी गाउँपालिकामा धानको २ वटा ब्लक र ८ वटा पकेट क्षेत्र छन् । प्रतिब्लक डेढ सय बिघा र प्रतिपकेट १५ बिघा समेटिएको छ । गठन भएका कृषक समूहमार्फत कृषि यन्त्र, बीउ, मल, प्रविधि आदिमा सरकारले सहयोग गर्ने गरेको कैलारी गाउँपालिकाका कृषि संयोजक दिपकबहादुर खड्काले बताए ।
ब्लक र पकेट लागू भएका क्षेत्रमा गठन भएका समूहले मल किनेर किसानलाई सहुलियतमा बिक्री गर्ने गरेका छन् ।
धान ब्लक सञ्चालक समिति गोबरैलाका अध्यक्ष रमाकुमारी चौधरीले सरकारी मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीलाई मलका लागि पटकपटक आग्रह गरे पनि आवश्यकताअनुसार मल पाउन नसकेको बताइन् । ‘परियोजना लागू भएको क्षेत्रमा सरकारले बीउ, मलको उपलब्धतालाई उच्च प्राथमिकता दिनुपर्ने हो,’ उनले भनिन्, ‘उन्नत बीउ र समयमै मल पाएमात्र उत्पादकत्व बढ्छ ।’
कैलालीमा ७२ हजार ५०० हेक्टर जमिनमा धानखेती गरिन्छ । तर, जिल्लाभरका कृषक मल अभाव भोगिरहेका छन् ।
कैलालीका लागि थप पाँच सय टन मल आवश्यक पर्ने कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । एक साताभित्रै केही परिमाणमा मल आइपुग्ने कम्पनीका प्रमुख दुर्गाप्रसाद पाण्डेयले बताए ।
कैलालीमा धानका लागि मात्रै साढे सात हजार टन युरिया आवश्यक पर्छ । तर, प्रदेश ७ का नौ जिल्लाका लागि कम्पनीले जम्मा पाँच हजार टन युरिया बिक्री गरेको छ भने साल्ट ट्रडिङले वैशाखयता प्रदेशभर दुर्इ हजार टन मल बेचेको जनाएको छ ।
प्रकाशित समय १६:०१ बजे
















