गृहपृष्ठ अपी पावरले निर्माण गर्ने दुई मेगावाट सोलारको पिपिए

अपी पावरले निर्माण गर्ने दुई मेगावाट सोलारको पिपिए

api-power-newskarobar

 

अपी पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवर्धक अपी पावर कम्पनीबीच आइतबार सम्झौता भएको हो ।

कम्पनीले धनुषाको ढल्केरबरमा एक र बाराको सिमरामा एक मेगावाटको सोलार प्यानल निर्माण गर्न लागेको छ । ती आयोजनासँग प्रतियुनिट ७.३ रुपैयाँमा २५ वर्षका लागि पिपिए भएको हो । पिपिएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले हस्ताक्षर गरेका छन् ।

उत्पादित विद्युत परवानीपुरको ११ केभी परवानीपुर सबस्टेसनमा जोडिनेछ । ‘प्राधिकरणले १० महिना तोके पनि हामीले सात महिनामै निर्माण पूरा गर्ने लक्ष्य राखेका छौं,’ प्रबन्ध निर्देशक न्यौपानेले भने, ‘भदौभित्र चिनियाँ कम्पनीले काम सुरु गर्नेछ ।’

कम्पनीले यसअघि साउन २७ गते पर्साको परवानीपुरमा आठ र रौतहटको चन्द्रनिगाहपुरमा चार गरी १२ मेगावाट क्षमताको दुई सौर्य परियोजनाको विद्युत खरिद सम्झौता नेपाल विद्युत प्राधिकरणसँग गरिसकेको छ । अपीले रिडी पावर कम्पनीसहित प्राधिकरण सबस्टेसननजिक सौर्य विद्युत जडान गर्न खुला प्रतिस्पर्धाबाट १० स्थानको अनुमति लिएको छ ।

सरकारले २०७२ फागुनमा घोषणा गरेको ९९ बुँदे ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक’ सम्बन्धी कार्ययोजनामा प्रतियुनिट ९.६१ देखि ८.४५ रुपैयाँ ‘बेन्चमार्क’ तोकी पिपिए आह्वान गरेको थियो । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत विकाससम्बन्धी कार्यविधि २०७४’ लागू भएपछि सोलार पिपिएको दर प्रतियुनिट ७.३ रुपैयाँ कायम गरियो ।

यसअघि, अपी पावर कम्पनीले छोटो समयमा करिब १७ महिनाभित्र ८.५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत प्रवाह गरिरहेको छ । त्यसैगरी, कम्पनीले हाल निर्माण गरिरहेको सोही नदीमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने तयारी गरिरहेको छ । यसका लागि अपी पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड सञ्चालन विभागबीच साउन २५ गते ४० मेगावाट क्षमताको माथिल्लो चमेलियाको ग्रिड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।

प्रकाशित समय १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु