गृहपृष्ठ गहुँ छर्ने बेलामा डिएपी मल अभाव
गहुँ छर्ने बेलामा डिएपी मल अभाव
कृषक भन्छन्- धान रोप्ने बेलामा युरिया पाइँदैन, गहुँ छर्ने बेलामा डिएपी पाइँदैन
फाइल तस्बिर
पूर्वीतराईका किसानलाई यतिबेला धान थन्क्याउने र गहुँ छर्ने चटारो छ । धान थन्क्याएर गहु छर्ने बेलामा किसान भने गहुँको बीउ र मल नपाएको गुनासो गरेका छन् । धान रोप्ने सिजनमा आवश्यक पर्ने युरिया अभाव झेलेका मोरङका किसान यतिबेला गहुँको बीउ र त्यसलाई आवश्यक पर्ने डिएपी मल अभाव हुँदा हैरानी व्यहोरिरहेका छन् ।
सामान्यतः धान रोप्ने सिजनमा युरिया र गहुँ छर्ने यो सिजनमा डीएपीको माग अत्यधिक हुने गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले मलको आयात र बिक्री वितरण गर्दै आएका छन् । तर, मल आयात र बिक्री–वितरणको जिम्मा पाएका यी संस्थानले आवश्यकताअनुसार मल आपूर्ति भने गर्न सकेका छैनन् ।

सिजनअनुसारको मल उपलब्ध नगराउँदा किसान समस्यामा परिरहेका छन् । मोरङ शिसवनी जहखदाका किसान पर्शुराम राजवंशीले सिजनका बेला मल नपाउने गरेको गुनासो गरे । उनले जुन मलको आवश्यकता रहे पनि मल किन्ने बेलामा विपरीत हुने गरेको बताए । उनले भने, ‘अहिले गहुँ छर्ने बेला छ । गहुँका लागि पर्याप्त डिएपी मल चाहिन्छ तर अहिले युरिया मलमात्र पाइन्छ । जुन धान रोप्ने सिजनका लागि आवश्यक हो । त्यतिबेला डिएपी पर्याप्त पाइएको थियो ।’
कृषि सामग्री कम्पनीले माग गरेअनुसारको मल नदिँदा किसानले भनेजति मल उपलब्ध गराउन नसकेको विक्रेताको भनाइ छ । दैनिक एक सयभन्दा बढी बोरा डिएपी मल बिक्री हुने ठाउँमा कम्पनीले हप्तामा एक सय बोरामात्रै दिने गरेको मोरङ कटहरीस्थित मल बिक्री केन्द्रका प्रमुख राजु राजवंशीले बताए । उनले भने, ‘एकदमै मलका लागि बढी दाबब दियो भने हप्तामा दुईपटक समम दिन्छ, यहाँ हप्तामा दोब्बर संख्यामा कृषकहरु मलका लागि आउँछन् । त्यसमा पनि एक जना कृषकलाई तीन बोराभन्दा बढी मल आवश्यक पर्छ । त्यसैले किसानलाई चाहिने जति मल उपलब्ध गराउन सकेका छैनौँ ।’

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादवले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा पर्याप्त मल रहेको दाबी गरे । उनले प्रादेशिक मल नीति बनाउने कुरा अगाडि बढाइरहेको अवस्था रहेको र वर्षातको सिजनमा युरिया र डिएपीको केही अभाव भए पनि अहिले त्यस्तो समस्या नरहेको उनले बताए । उनले भने, ‘अहिले कृषि सामग्री र साल्ट ट्रेडिङमा पर्याप्त मल रहेको जानकारीमा आएको छ । यस सम्बन्धमा हामी धान बाली भित्र्याइसकेपछि पुनः प्रदेश स्तरमा एउटा बैठक बस्ने छौँ र मलको उपलब्धता के–कस्तो हुन्छ, हिउँदे सिजनका लागि मलको कसरी बिक्री–वितरणको व्यवस्था मिलाउने, नयाँ परिप्रेक्ष्यमा यसलाई कसरी व्यवस्थित गर्ने कुरामा हामी छलफलमा छौँ ।’
संघीय सरकारमातहत रहने साल्ड ट्रेडिङ र कृषि सामग्री कम्पनी हाल प्रदेश सरकारमातहत छन् । यी दुई संस्थानमा प्रदेशअन्तर्गतका कृषि ज्ञान केन्द्रको मागका आधारमा मल बिक्री–वितरण हुँदै आएको छ । मलको आवश्यकताका आधारमा स्थानीय तहहरुबाट सिफारिस गर्ने गरी मल उपलब्ध गराउने र बिक्रीको प्रतिवेदन र मल उपलब्ध गराएको जानकारी स्थानीय तहमा पठाउने व्यवस्था प्रदेश सरकारले गरेको छ ।


प्रकाशित समय ११:११ बजे
















