गृहपृष्ठ संघीय फोरमलाई सरकार छाड्न राजपाको आग्रह

संघीय फोरमलाई सरकार छाड्न राजपाको आग्रह

सरकारमा रहेरै एकिकरणको प्रयास गर्ने फोरमको जवाफ

मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अर्काे मधेश केन्द्रित दल संघीय समाजवादी फोरमलाई सरकार छाड्न आग्रह गरेको छ । उसले वर्तमान सरकारलाई फोरमले सहयोग गरिरहनु दुर्भाग्यपूर्ण भनेको छ । राजपाले फोरमलाई पार्टी एकताको लागि वार्ता गर्न सरकारलाई दिएको समर्थन फिर्ता लिएर आउन आग्रह गरेको हो । बर्तमन केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही साताअघि फिर्ता लिएको राजपाले अर्काे मधेश केन्द्रित दललाई समेत सरकार असहयोग गर्न भनेको हो ।
सरकारले सबिधान संशोधन नगरेको, फैजदारी मुद्दामा जेल रहेका रेशम चौधरीको मुद्दा फिर्ता नलिएको लगायतका कारण देखाउदै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । लगतै पृथकताबादी आन्दोलन गरिरहेको सिके राउत समुहसँग सरकारले राजनीतिक सहमति गर्दै मुलधारको राजनीतिमा ल्याएपछि राजपाले फोरसँग पार्टी एकताको प्रक्रिया अघि बढाएको हो ।
फागुन ३० गते राजपाले संघीय फोरमलाई पठाएको पत्रमा एकीकरणका लागि विचार र सिद्धान्त मिलाउँदै सरकारलाई असहयोग गर्न आग्रह गरेको छ । राजपाले संघीँय फोरमलाई पठाएको पत्रमा भनिएको छ, ‘अग्रगमन एवं परिवर्तनकारी शक्तिलाई धम्क्याउने दुस्साहस गर्नेलाई सहयोग पुग्ने गरि द्ई तिहाइ संसदीय गणितलाई ग्यारेन्टी गर्दै मजबुती प्रदान गर्ने काम फोरमले गरिरहेको छ, जुन अत्यन्तै दुर्भाग्यपूर्ण छ ।’
वर्तमान अवस्थामा केन्द्रीय राजनीतिको दुई धु्रवमा रहेका दलबीच उचित वातावरण तयार गरी वार्तालाई अगाडि बढाउन नेपाल कम्युनिष्ट पार्टीको सरकारबाट हट्नु पर्ने राजपाले फोरमलाई शर्त राखेको नेताहरुले बताए । देशले श्रमजिवी वर्ग तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरुबीच एकता खोजिरहेको उल्लेख गर्दै राजपाले विगतको आन्दोलनलाई सँस्थागत गर्न दुई दलवीच एकताको विकल्प नरहेको बताएको छ ।
दुई बर्षअघि ६ वटा मधेश केन्द्रित दल एकीकरण भई राजपा नेपाल गठन भएको हो । त्यतिखेर संघीय फोरम भने सहभागी भएन । त्यो अपूर्णतालाई फोरम नेपालले पूरा गर्ने अपेक्षा लिएको राजपाले पठाएको पत्रमा भनिएको छ । यद्यपि संघीय फोरमले भने तत्काल सरकार नछाड्ने स्पष्ट पार्दै पार्टी एकताको लागि भने प्रक्रिया अघि बढाउन तयार रहेको बताएको छ । आफू सरकारमा रहनु पार्टीगतभन्दा राजनीतिक र रणनीतिक सवाल भन्दै संघीय फोरमले राजपालाई जवाफ दिएको छ, ‘दुई दलमध्ये एउटा सरकारमा र अर्को सरकार बाहिर हुँदैमा एकता प्रकृयामा अवरोध हुनुहँुदैन । ‘
पार्टी एकीकरणका लागि विचार र सिद्धान्त मिलाउनुपर्ने तर अहिले सरकारभित्र बाहिरका विषयलाई छाड्नुपर्ने संघीँय फोरमका अध्यक्ष उपेन्द्र यादवले पत्रमा लेखेको नेताहरुले बताएका छन् ।
राजपा नेपालले विचार र सिद्धान्त मिल्ने दलसंग एकता गर्न भन्दै वार्ता समिति बनाएको छ । अध्यक्ष मण्डलको सदस्य राजेन्द्र महतोको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति छ । समितिमा वृषेशचन्द्र लाल, केशव झा, रमेश यादव र सुनिल रोहित रहेका छन् । त्यस्तै संघीँय फोरम नेपालले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय वार्ता समिति गएको मंसिरमै गठन गरेको थियो । सो समितिमा उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रामसहाय प्रसाद यादव, उपमहासचिव प्रकाश अधिकारी, सचिव इस्तियाक राई र राजनीतिक समिति सदस्य महेन्द्र थापा छन् ।

प्रकाशित समय २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु