गृहपृष्ठ पोखराको होटल क्षेत्रमा दुई खर्ब लगानी, पर्यटक क्षमता २० हजार पुग्यो

पोखराको होटल क्षेत्रमा दुई खर्ब लगानी, पर्यटक क्षमता २० हजार पुग्यो

तीन सय होटल बिनादर्ता सञ्चालन, व्यवसायी भन्छन्– सरकारी अनुगमन फितलो

pokhara-newskarobar

पोखरामा पर्यटकीयस्तरका तीन सयभन्दा बढी होटल तथा लज बिनादर्ता सञ्चालन भइरहेको पाइएको छ । होटल तथा लज दर्ता नहुँदा बर्सेनि करोडौं रुपैयाँ राजस्व गुमाइरहे पनि सरकारी निकायलाई भने कुनै वास्ता छैन ।

पोखरा पर्यटन कार्यालयका प्रमुख शालिकराम रेग्मी जनशक्ति अभावका कारण होटल तथा लजलाई दर्ता प्रक्रियामा ल्याउन समस्या भएको बताउँछन् । ‘एकातिर हामीसँग जनशक्ति कम छ, अर्कातिर केही व्यवसायीले घरेलु र अन्य क्षेत्रमा दर्ता गरेर चलाइरहेको पाइएको छ,’ उनले भने ।

pokhara-newskarobar

सरकारी तथ्यांकमा ३२ होटल, संघ भन्छ– ६० थपिए
पोखरामा आर्थिक वर्ष २०७४/७५ मा मात्रै ३२ नयाँ होटल थपिएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा १० वटा बढी हो । अघिल्लो वर्ष पोखरामा पर्यटकीय स्तरका २२ वटा होटल तथा लज थपिएका थिए । पश्चिमाञ्चल होटल संघले भने गत वर्ष करिब ६० वटा होटल थपिएको जनाएको छ ।

पोखरा पर्यटन कार्यालय पोखराका प्रमुख शालिकराम रेग्मीले आर्थिक २०७४/०७५ मा पोखरा क्षेत्रमा करिब ५ लाखदेखि ३ करोड लगानीका ३२ वटा होटल थपिएको जानकारी दिए । ‘होटलको संख्यासँगै एक वर्षमा चार सयभन्दा बढी रुम थपिएका छन्,’ उनले भने, ‘अघिल्लो आर्थिक वर्षमा करिब ३ सय ५० रुम थपिएका थिए ।

पोखरा क्षेत्रमा हालसम्म पर्यटनस्तरका चार सयभन्दा बढी होटल रहेको पर्यटन कार्यालयको तथ्यांकमा उल्लेख छ । यद्यपि, व्यवसायीले पर्यटन कार्यालयमा देखाउने लगानी र होटल एवं लजको संरचनाभन्दा वास्तविकतामा दोब्बरदेखि चार गुणाभन्दा बढी हुने गरेको छ ।

पर्यटन कार्यालय प्रमुख रेग्मी भने अनुगमनका क्रममा न्यूनतम मापदण्डमात्र हेरिने बताउँछन् । ‘तोकेको मापदण्ड पूरा गरेका होटललाई हामी पर्यटकीय स्तरको मान्यता दिन्छाैं तर लगानी र कोठाका विषय धेरै होटलले लुकाउने गरेका हुनसक्छन्,’ उनले भने । व्यवसायी भने सरकारलाई राजस्व कम तिर्नुपर्ने भएकाले कम लगानी र कोठा देखाइने गरेको हाकाहाकी बताउँछन् । पर्यटन कार्यालय साविक गण्डकी तथा धौलागिरिका १० जिल्लाका पर्यटकीय स्तरका होटल तथा लज एवं रेस्टुराँका दर्ता र पाँच/पाँच वर्षमा नवीकरण गर्ने गरेको छ ।

दर्ता शुल्क नन स्टार होटलको १० हजारदेखि पर्यटकीय र डिलक्स स्तरीय होटलको दर्ता शुल्क ४० हजारसम्म छ । यसअघि, होटलहरुको न्यूनतम दर्ता शुल्क ५ हजार रुपैयाँ रहेकोमा चालू वर्षदेखि दोब्बर बढेको हो ।

 

सरकारी तथ्यांकमा २५ करोड, वास्तविकतामा दुई अर्ब लगानी
पोखरा क्षेत्रको होटल व्यवसायमा गत वर्ष २५ करोड लगानी थपिएको छ । आर्थिक २०७४/७५ मा पोखरा क्षेत्रका होटल, लज तथा रेस्टुराँमा मात्र करिब २५ करोड लगानी भएको पर्यटन कार्यालय पोखराका सूचना अधिकारी शुक्रराज कोइरालाले जानकारी दिए । अधिकांश व्यवसायीले वास्तविक लगानीभन्दा थोरै मात्र देखाउने गरेकाले सरकारी तथ्यांकमा कम देखिएको हो । अनौपचारिक कुराकानीका क्रममा व्यवसायीले गत वर्ष होटल व्यवसायमा दुई अर्बभन्दा बढी लगानी भएको बताउने गरेका छन् ।

pokhara-newskarobar

कुल लगानी २ खर्ब, पर्यटक क्षमता २० हजार
पोखराको होटल क्षेत्रको लगानी दुई खर्ब नाघेको छ भने पर्यटक क्षमता २० हजारभन्दा धेरै पुगेको छ । हाल पोखरा क्षेत्रका होटल तथा रेस्टुराँको प्रतिरात पर्यटक क्षमता २० हजारभन्दा बढी रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७४/७५ मा पोखरा क्षेत्रका होटल तथा लजमा ठूलो लगानी भएको छ । करिब २ अर्बभन्दा बढी होटल क्षेत्रमा लगानी हँुदा करिब एक हजार ५ सय रुम एकै वर्षमा थपिएको तुलाचनले बताए । पोखरा क्षेत्रमा होटल तथा लज क्षेत्रको कुल लगानी २ खर्बभन्दा बढी रहेको उनको भनाइ छ ।

अध्यक्ष तुलाचनले पोखरामा तीन सयभन्दा बढी पर्यटकीय स्तरका होटल दर्ताबिना सञ्चालन भइरहे पनि दर्ता प्रक्रियामा ल्याउन सरकारले बेवास्ता गरेको बताए । बिनादर्ता सञ्चालन भइरहेका होटलका कारण दर्ता भएर चलेका होटलको साख गिरेको उनको भनाइ छ । ‘सरकारी निकाय फितलो अनुगमनका कारण पर्यटकीय क्षेत्रमा पनि बिनादर्ता होटल सञ्चालन हुन पाएका हुन्,’ उनले भने ।
पश्चिमाञ्चल होटल संघका अनुसार हाल पोखराका लेकसाइडसहित पोखरा आसपासका ग्रामीण भेगमा समेत रिसोर्ट खुल्ने क्रम बढेको छ । ‘लेकसाइडबाट पर्यटन क्षेत्र विकेन्द्रित हुँदै आएको छ,’ उनले भन्छन्, ‘पोखराको पर्यटन क्षेत्र विस्तार हुनु राम्रो कुरा हो ।’

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु