गृहपृष्ठ तीन वर्षमा १५५ प्रतिशत नाफा बढाउने एनएमबी बैंकको योजना

तीन वर्षमा १५५ प्रतिशत नाफा बढाउने एनएमबी बैंकको योजना

nmb bank-newskarobar

काठमाडौं- एनएमबी बैंकले आगामी तीन वर्षभित्र १५५ प्रतिशत नाफा बढाउने योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ निष्कासन (एफपीओ) जारी गर्नका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको तुलनामा नाफा १५५ प्रतिशत बढाएर ३ अर्ब ८५ करोड ३५ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको हो ।

आर्थिक वर्ष २०७३/७४ मा बैंकको खुद नाफा एक अर्ब ५१ करोड १३ लाख रुपैयाँ थियो । बैंकले चालू आवमा खुद नाफा बढाएर २ अर्ब ३२ करोड ७६ लाख पुर्याउने र  आगामी वर्ष ३ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुर्याउने लक्ष्य तय गरेको हो । त्यसका लागि बैंकले तीन वर्षमा ब्याज आम्दानी बढाएर १४ अर्ब ३८ करोड रुपैयाँ पुर्याउने योजना बनाएको छ । चालू आवमा ब्याज आम्दानी ९ अर्ब ४९ करोड ४५ लाख र आगामी वर्ष ११ अर्ब ५२ करोड रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको छ ।

नाफा बढेपछि आव २०७६/७७ मा बैंकको प्रतिसेयर आम्दानी (र्इपीएस) ३८ रुपैयाँ ५४ पैसा पुग्नेछ । गत वर्ष बैंकको र्इपीएस २२ रुपैयाँ ७१ पैसा थियो । चालू आवमा ईपीएस २९ रुपैयाँ १० पैसा र आगामी वर्ष ३८ रुपैयाँ ३७ पैसा पुग्ने अनुमान बैंकको छ ।

यस्तै, गत आवमा चार अर्ब २२ करोड रहेको जगेडा कोषको आकार चालू आवमा बढेर ७ अर्ब २५ करोड पुग्ने र आगामी वर्ष ९ अर्ब ७२ करोड रुपैयाँ पुग्ने बैंकको अनुमान छ । तीन वर्षमा चुक्तापुँजीको आकार १० अर्ब रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ ।

बैंकले तीन वर्षमा निक्षेप परिचालन २६ प्रतिशत बढाएर एक खर्ब ३६ अर्ब १७ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । चालू आवमा निक्षेप २० प्रतिशत, आगामी आवमा २३ प्रतिशत बढ्ने अनुमान बैंकको छ । यस्तै कर्जा लगानी २६ प्रतिशत बढाएर १ खर्ब १२ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले जेठ ३० गतेदेखि एफपीओ ल्याउँदै छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ ।

एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।

एफपीओ निष्कासन बन्द छिटोमा असार ३ र ढिलोमा असार २८ गतेसम्मलाई तोकिएको निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

प्रकाशित समय १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु