गृहपृष्ठ निर्यात व्यापारमा नयाँ धन्धा : पाम आयल ल्याउँदै विदेश पठाउँदै

निर्यात व्यापारमा नयाँ धन्धा : पाम आयल ल्याउँदै विदेश पठाउँदै

Palmoil_bottle_NewsKarobar

नेपालका केही व्यापारीहरूले निर्यात व्यापारका नाममा नयाँ धन्धा सुरु गरेका छन् । विदेशबाट कच्चा पाम आयल र भटमासको तेल ल्याएर  नाममात्रैका प्रशोधन गरी पुनः विदेश पठाउने गरेको पाइएको छ ।

व्यापार तथा निकासी प्रवर्धनका केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७५/७६को पहिलो ११ महिनामा विदेशबाट कुल १० अर्ब ५४ करोड रुपैयाँको कच्चा पाम आयल आयात गरी ८ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरको निर्यात गरिएको छ । यो वर्षमात्र कच्चा पाम आयातमा १४४.१ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरि, यही अवधिमा रु. १२ अर्ब १४ करोड रुपैयाँको कच्चा भटमासको तेल आयात गरि २ अर्ब ५ करोड रुपैयाँको निर्यात गरिएको छ । नेपालको कुल निर्यातमा यी वस्तुहरूको हिस्सा क्रमशः ९.९ प्रतिशत र २.१ प्रतिशत रहेको छ ।

नेपालले पहिलो पटक पाम आयल र भटमासको तेल विदेश निर्यात गर्न थालेको हो । नेपालमा यी दुवै किमिसका तेल उत्पादन हुँदैन, विदेशबाट कच्चा र अर्ध तयारी अवस्थामा आयात गरि यहाँ नाममात्रैको प्रशोधन गरिन्छ ।

पाम आयल र भटमासको तेल नेपालभित्र आन्तरिक खपत अत्याधिक बढ्दै गए पनि पहिलो पटक निर्यातसमेत हुन थालेको हो । नेपालमा सूर्यमुखी फूलको तेल (सनफ्लावर आयल) भनेर बेचिनेमध्ये अधिकांश तथा चाउचाउको प्याकेटभित्र प्याजको सुगन्ध भएको तेल भनेर सानो प्याकेटमा हालिने तेल पाम आयल नै हो ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रले कुन कुन देशमा यसको निकासी भइरहेको छ भन्ने खोलेको छैन । नेपालमा बढीजसो पाम आयल मलेसियाबाट आयात हुन्छ । विगतमा यसैगरि नाममात्रैका प्रशोधन गरेर बनास्पति घिउ भारततर्फ अत्याधिक निर्यात भएपछि भारतले परिणात्मक बन्देज नै लगाएको थियो ।

भारतीय बजारमा बढी माग रहेको र यहाँबाट भारत निर्यात गर्दा करलगायत अन्य सुविधा भएका कारण पाम आयल र भटमासको तेल पनि त्यता निर्यात गर्न थालिएको हुनसक्ने देखिन्छ ।

प्रकाशित समय १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु