गृहपृष्ठ बजेटमाथि कांग्रेसको टिप्पणी : उत्पादनशील क्षेत्रमा लगानी बढ्न सक्दैन
बजेटमाथि कांग्रेसको टिप्पणी : उत्पादनशील क्षेत्रमा लगानी बढ्न सक्दैन
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेटले जनतामा कर र ऋणको दायित्व बढाउने निष्कर्ष निकालेको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारले मंगलबार प्रस्तुत गरेको बजेटमाथि छलफल गर्दै बजेटले कर र ऋणको भार बढाएकाले उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्ने निष्कर्ष निकालेको हो ।
‘बजेटले राष्ट्रिय-अन्तर्राष्ट्रिय लगानीकर्तालाई अाकर्षित गर्न सक्ने देखिँदैन,’ बैठकको निर्णयबारे जानकारी गराउँदै मुख्य सचेतक बालकृष्ण खाणले भने, ‘उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्ने भएकाले नयाँ रोजगारीका अवसर प्राप्त हुने देखिँदैन ।’ सरकारले भने अागामी वर्ष पाँच लाख नयाँ रोजगारी सिर्जना हुने घोषणा गरेको छ ।
कृषि र उत्पादनशील क्षेत्रको वृद्धिदर पाँच वर्षमा शतप्रतिशत बनाउने सरकारी प्रतिबद्धताअनुसार उक्त क्षेत्रमा लगानी पर्याप्त नभएको कांग्रेसको निष्कर्ष छ । यस्तै, बजेटले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्न नसकेको कांग्रेसको टिप्पणि छ । पर्यटन विकासका क्षेत्रमा पनि सरकारले राम्रा कार्यक्रम ल्याउन नसकेको निष्कर्ष निकालेको नेपाली कांग्रेसले बजेटले आमनेपाली जनताको आर्थिक समृद्धिको अपेक्षा पूरा गर्न नसक्ने टिप्पणी गरेको छ । निजी जग्गाको सम्बन्धमा बजेटमा गरिएका व्यवस्थाले सरकार नियन्त्रित अर्थतन्त्रतर्फ अग्रसर भएको कांग्रेसको अाशंका छ ।
प्रकाशित समय १६:२६ बजे

















