गृहपृष्ठ प्रहरीमा थपियो मानव बेचबिखन अनुसन्धान ब्यूरो
प्रहरीमा थपियो मानव बेचबिखन अनुसन्धान ब्यूरो
नेपाल प्रहरीमा मानव बेचविखन नियन्त्रणका लागि छुट्टै ब्यूरो गठन गरिएको छ । नेपाल प्रहरी नियमावलीमा संशोधन गरी ‘मानव बेचबिखन अनुसन्धान ब्यूरो’ गठन गर्ने निर्णय गरिएको हो ।
नेपालबाट हुने मानव बेचबिखनका घटना बढेपछि प्रहरीले सम्बन्धित सरोकारवालाहरूको सुझावअनुसार शक्तिशाली ब्यूरो गठन गरेको हो ।
नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५/७६ मा २५८ मानव बेचबिखनका घटना प्रहरीमा दर्ता भएका थिए भने आव २०७४/७५ मा यो संख्या ३०५ थियो । बदनाम हुनेलगायतका विभिन्न सामाजिक कारणहरूले गर्दा बेचबिखनसम्बन्धी घटनाहरू निकै कममात्र प्रहरीमा पुग्ने गरेको छ ।
विगतमा भारतमा मात्र नेपाली महिलाहरूका बेचबिखन हुने गरेकोमा हालैका दिनहरूमा वैदेशिक रोजगारीका नाममा अफ्रिकी मुलुकहरूमा समेत नेपाली चेलीहरूका बेचबिखन र ओसारपसार हुने गरेको छ ।
ब्यूरोको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुने व्यवस्था गरिएको छ । ब्यूरोलाई मानव बेचबिखन तथा ओसारपरारसम्बन्धी कसूर हुन नदिन आवश्यक व्यवस्था मिलाउने मूल दायित्व सुम्पिइएको छ ।
अहिलेसम्म प्रहरीको महिला, बालबालिका तथा जेष्ठ नागरिकसम्बन्धी निर्देशनालयले यस्ता कसुरको अनुसन्धान गर्ने गरेको थियो ।
ब्यूरोले अब छुट्टै रुपमा मानव बेचबिखनसम्बन्धी प्रकरणका उजुरीको छानबिनदेखि प्रहरी प्रधान कार्यालय वा सम्बन्धित प्रहरी कार्यालयको अनुरोधपछि मानव बेचबिखनसम्बन्धी अपराधहरूको अनुसन्धान गर्नेछ ।
यस्तै, ब्यूरोलाई मानव बेचबिखन तथा ओसारपसारमा परेका पीडितको तत्काल उद्धार गरी आपतकालीन संरक्षणलगायतका व्यवस्था मिलाउनु पर्ने दायित्व पनि सुम्पिइएको छ ।
प्रहरीले यसका लागि अब छुट्टै सेल्टर हाउस बनाउनु पर्ने हुन्छ वा यस क्षेत्रमा कार्य गरिरहेका गैर सरकारी संस्थाहरूसँग मिलेर यस्ता घटनाका पीडितहरूलाई सुरक्षित रूपमा उद्धार र संरक्षण गर्नुपर्ने हुन्छ ।
यो ब्युरोका अनुसन्धान अधिकारीले नेपालभरि नै अनुसन्धानका कार्य गर्नसक्ने अधिकार पनि दिइएको छ ।
प्रकाशित समय १७:४३ बजे

















