गृहपृष्ठ अलैँची सुकाउन अझै परम्परागत भट्टीको प्रयोग

अलैँची सुकाउन अझै परम्परागत भट्टीको प्रयोग

alaichi bhaddi_news karobar

भारतलगायत तेस्रो मुलुकबाट गुणस्तरीय अलैँंचीको माग बढे पनि नेपालबाट भने अझै गुणस्तरहीन अलैँची नै निकासी हुने गरेको छ । विशेषगरी अलैँची सुकाउन परम्परागत पद्दति नै अपनाउनाले पनि नेपालबाट कम गुणस्तरीय अलैँची नै विश्व बजारमा जाने गरेको छ ।

अलैँची सुकाउनका लागि सुधारिएका भट्टी आए पनि किसानले त्यसको प्रयोग नगर्नाले धुवाँधुलोसहितको अलैँची निकासी गर्नुपर्ने बाध्यता छ । बढी लागत पर्नाले कतिपय किसानले आधुनिक भट्टी किन्न सकेका छैनन् । तर, पछिल्लो समय आधुनिक भट्टीमा सुकाएको अलैँची कम गुणस्तरीय हुने र राम्रो नसुकेको आरोप लाग्नाले पनि आधुनिक भट्टी भित्रिन नसकेको कतिपय किसानको भनाइ छ ।

लामो समय भण्डारण गर्नुपर्ने बाध्यता रहेकाले राम्रो धुवाँमै सुकेको अलैँची व्यवसायीले खोज्नाले पनि आधुनिक भट्टी नभित्रिएको रोङ गाउँपालिकाका किसान गोविन्द पौडेल बताउँछन् । ‘विश्व बजारमा आधुनिकभट्टीकै अलैँचीको माग छ । तर, केही व्यवसायीले भने धुवाँ भएको कालो वर्णको अलैँची नै चाहिन्छ भन्नाले पनि आधुनिक भट्टी नभित्रिएको हो ।’ पौडेलले भने, ‘धेरै खर्च गरेर आधुनिक भट्टीमा सुकाउदा पनि नबिक्ने सम्भावना छ । त्यसैले पनि हामीले आधुनिक भट्टी प्रयोग नगरेका हौं ।’

तर, आधुनिक भट्टीमा सुकाउनका लागि दक्षजनशक्ति नभएका कारण कम गुणस्तरीय अलैँची उत्पादन भएकोे व्यवसायीको अनुमान छ । सरकारी तवरबाट तालीम र दक्षशक्ति बढाउने कार्यक्रम नभएकाले पनि आधुनिक भट्टीको अलैँची कम गुणस्तरीय भएको हुनसक्ने अलैँची व्यवसायी महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक नेपालको बुझाइ छ ।

‘अब हामीले परम्परागत भट्टीमा अलैँची सुकाएर विश्व बजारमा बिक्दैन । बजारमा माग नै सुधारिएको भट्टीको अलैँचीको छ ।’ नेपालले भने, ‘हामीसँग यसका लागि दक्षजनशक्ति नभएकाले पनि कम गुणस्तरीय अलैँची उत्पादन हुँदैछ । यसमा सम्बन्धित पक्षले ध्यान पुर्‍याउनुपर्छ ।’

भारतसँगै अन्य मुलुकसमेत सुधारिएको भट्टीमा गइसकेकाले नेपालले पनि यसका लागि प्रयत्न गर्नुपर्ने नेपालको भनाइ छ । व्यवसायी र किसानले गुणस्तर छुट्याउनु भन्दा विश्व बजार हेरेर काम गर्दा मात्र नेपालको अलैँचीले बजार पाउने उनले बताए । ‘हामीले अबका दिनमा पनि विश्व बजारमा धुवाँसहितको परम्परागत भट्टीको अलैँची पठाउनु हुँदैन । हामीले पनि अन्तर्राष्ट्रिय गुणस्तरकै अलैँची पठाउनुपर्छ ।’ नेपालले भने, ‘यदि विश्व बजारमा हाम्रो अलैँची बिक्न छाडेका दिन हामीले कहाँ लगेर बेच्ने ? त्यसका बारेमा पनि सोच्नु पर्‍यो नि ।

किसान भट्टीसम्बन्धी जानकार नहुनाले पनि अलैँचीमा प्रविधि नभित्रिएको व्यवसायी तथा विज्ञ बताउँछन् । पछिल्लो समय अलैँची मासिने र रोग लाग्ने समस्याले पनि परम्परागत शैली अपनाउनु परेको कृषि विज्ञ डा योगेन्द्रमान श्रेष्ठको भनाइ छ । ‘धुवाँ भएको अलैंँचीमा कीरा लाग्दैन भन्दै कतिपय व्यवसायी अलैँची किन्नुहुन्छ तर विश्व बजार हेरेर यसको मापन गर्नु आवश्यक हुन्छ ।’ डा श्रेष्ठले भने, ‘सरकारले यसका लागि प्रयत्न गर्नुपर्ने देखिन्छ । व्यवसायीले आधुनिक भट्टीमा अलैँची सुक्न गाह्रो हुने बताउँदा पनि किसानले बाध्य भएर परम्परागत पद्दति अपनाएका हुन् ।’

व्यवसायीले धेरै किसिमका अलैँचीका मापदण्ड बनाएका कारण पनि अलैँचीमा आधुनिक भट्टीको प्रयोग हुन नसकेको देखिन्छ । कतिपय व्यवसायीले आधुनिक भट्टीकै अलैँची खोज्नु र कतिपयले परम्परागतको अलैँची गुणस्तरीय भन्नाले पनि आधुनिक भट्टी लागू नभएको पाइन्छ । तर, परम्परागत भट्टीमा सुकाएको अलैँची विश्व बजार धेरै लामो नबिक्ने हुनाले अलैंँचीमा आधुनिक भट्टीकै प्रयोग गर्नु आवश्यक रहेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताउँछन् ।

‘युरोप, अमेरिकालगायतका राष्ट्रमा आधुनिक भट्टीको धु्वाँरहित अलैँची नै खोजिन्छ,’  घिमिरे भन्छन्, ‘हामीले बारीबाट निकालेको केही महीनामै अलैँची विश्व बजार पुग्ने वातावरण मिलाएमा आधुनिक भट्टीको गुणस्तरीय अलैँची बेच्न सकिन्छ ।’

घिमिरेका अनु्सार किसान–व्यवसायीले ‘भाउ पर्खिने नाउँमा’ लामो समय भण्डारण गरिदिनाले पनि समयमा अलैँची विश्व बजारमा नपुग्दा कम गुणस्तरको हुने गरेको हो । यदि छोटो समयमा अलैँची खरीदबिक्री गर्नसके आधुनिक भट्टी नै बढी गुणस्तरीय हुने घिमिरेको भनाइ छ । नेपालमा आधुनिक भट्टीको प्रयोग भने बढ्दै गएको पाइन्छ । किसानमा आएको चेतनाका कारण पनि आधुनिक भट्टी प्रयोग गर्ने किसान बढेको पाइएको हो । पछिल्लो समय सरकारीस्तरबाट पनि आधुनिक भट्टी वितरण थालेपछि प्रयोग बढेको पाइएको छ । (रासस)

प्रकाशित समय १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु