गृहपृष्ठ कांग्रेस सांसदको माग– मन्त्रालयको खर्च रकम एक रुपैयाँ बनाइयोस्

कांग्रेस सांसदको माग– मन्त्रालयको खर्च रकम एक रुपैयाँ बनाइयोस्

आगामी वर्षको बजेटमाथिको छलफल संसदमा जारी रहेको छ । संसदमा विषयगत मन्त्रालयको छलफलका क्रममा केही सांसादहरुले मन्त्रालयको खर्च रकम घटाएर एक रुपैयाँ बनाउनुपर्ने माग राखेका छन् ।

विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको जारी छलफलमा आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ ।
कांगेस सांसद मानबहादुर विश्वकर्माले लालबाबु पण्डितले नेतृत्व गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको खर्च शीर्षकमा एक रुपैयाँ मात्रै कायम गराउन प्रस्ताव गरेका छन् । संसद सचिवालयका अनुसार आइतबार सांसद विश्वकर्माले ‘विनियोजन विधेयक, अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

आइतबार बस्ने संसद बैठकमा नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले पनि शक्तिबहादुर बस्नेतले नेतृत्व गरेको वन तथा वातावरण मन्त्रालयको खर्च रकम घटाएर एक रुपैयाँ कायम गर्न माग गरेका छन् । उनले विनियोजन विधेयक अन्तर्गत वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्दैछन् ।

यसैगरी उदयपुरबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद लक्ष्मी परियारले पनि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च रकम घटाएर एक रुपैयाँ बनाउन माग गरेकी छन् । उनले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा सो मन्त्रालयका खर्च रकम घटाएर एक रुपैयाँ कायम राख्न प्रस्ताव प्रस्तुत गर्ने बताएकी छन् ।
बार्दियाबाट प्रतिनिधित्व गर्ने कांग्रस सांसद सञ्जयकुमार गौतमले पनि सहरी विकास मन्त्रालयको खर्च रकम घटाई एक रुपैयाँ कायम गर्न माग गरे । उनले आगामी वर्षका लागि ल्याइएको बजेटमा विनियोजित खर्चमा सो मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्दैछन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आइतबार विनियोजना विधेयक माथिको छलफल हुने चारै मन्त्रालयको खर्च रकममा एक सय रुपैयाँ घटाउने माग गरे । उनले संसद सचिवालयले आगामी वर्षको बजेटमो खर्च गर्ने रकममा एक सय रुपैयाँ घटाउन औपचारिक रुपमा आइतबार प्रतिनिधिसभा बैठकमा प्रस्ताव राख्दैछन् ।

विनियोजन विधेयक अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस् भनी उनले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विनियोजन विधेयक अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल र वन तथा वातावरण मन्त्रालयको खर्च रकममा एक सय रुपैयाँ घटाउन माग गरेकी छिन् । उनले मन्त्रालयमा खर्च रकम बढी भएको भन्दै त्यसमा एक सय घटाउनुपर्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित समय ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु