गृहपृष्ठ चार शक्तिशाली आयोगसहित ३२ वटा विभाग गठन गर्ने नेकपाको तयारी
चार शक्तिशाली आयोगसहित ३२ वटा विभाग गठन गर्ने नेकपाको तयारी
स्थायी कमिटी बैठक बस्दै
पार्टी गठन भएपछि पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । संगठनात्मक संरचनासम्बन्धी सुझाव दिन गठित समितिको प्रतिवेदन अनुसार विभिन्न आयोग तथा जनवर्गीय विभाग गठन गर्न बैठक बस्न लागेको नेताहरुले बताएका छन् । अपराह्न ३ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा संगठनात्मक संरचना सम्बन्धी सुझाव दिन गठित कार्यदलले प्रतिवेदन पेस गर्ने छ । जेठ ७ गते पार्टी सचिवालय बैठकले पार्टीको अन्तरिम विधानको अधिनमा रहेर महासचिव विष्णु पौडेलको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको थियो । कार्यदल सदस्यमा नेता देवप्रसाद गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा छन् ।
कार्यदलले पार्टीमा चार शक्तिशाली आयोग व्यवस्था गर्न सुझाव दिएको सदस्य वेदुराम भुसालले जानकारी दिए । कार्यदलको प्रतिवेदनमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा परीक्षण आयोग, सल्लाहकार आयोग गठन गर्न सुझाव समेटिएको छ । ‘केन्द्रमा चार शक्तिशाली आयोग गठन गरिने व्यवस्था प्रस्ताव छ, पछि महाधिवेशनबाट निर्वाचित आयोगलाई स्वतन्त्र रूपमा कार्यसम्पादन गर्ने अधिकार हुनेछ ।’ कार्यदल सदस्य भुसालले न्युजकारोबारसँग भने ।
अध्यक्ष, सचिव र २९ सदस्यसहित आयोग ३१ सदस्यीय हुनेछन । आयोग अध्यक्षको हैसियत पार्टीमा स्थायी कमिटी, सचिवको पोलिटब्युरो र सदस्यको केन्द्रीय सदस्यसरह हुनेछ ।
चार आयोगका साथै पार्टीमा २८ देखि ३२ वटासम्म विभागको गठनबारे समेत आजको बैठकमा छलफल हुने नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ‘विभाग केन्द्र, प्रदेश र जिल्लामा समेत गठन हुनेछन्,’ श्रेष्ठले भने । केन्द्रमा रहने प्रत्येक विभागमा ३५ जना, प्रदेश स्तरमा १५ जना र जिल्लामा ११ जना सदस्य रहनेछन् । प्रत्येक विभागमा प्रमुख, उपप्रमुख र सचिवसहितको पदाधिकारी रहनेछन् ।
प्रतिवेदनमा केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीका साथै पार्टीका विभाग तथा जनवर्गीय संगठनको काम, कर्तव्य एवं अधिकारका विषयमा समेत बाँडफाँट गरिएको छ ।
भ्रातृ संगठनबीच समन्वय कायम गर्न मोर्चा संगठन र सम्पर्क मञ्चको समन्वय गर्न सम्पर्क समन्वय कमिटी पनि गठन गर्ने पनि नेकपाको तयारी छ । प्रवास कमिटीले प्रवासमा रहेका प्रवासी मञ्चहरुको संयोजन र त्यहाँ कार्यरत सदस्यहरुको वरीयता निर्धारण गर्ने व्यवस्था गरिएको छ ।
भ्रातृ संगठन एकीकरणको तयारीमा
तत्कालिन माओवादी केन्द्र र एमालेका भातृ संगठनबीचको एकता प्रक्रिया पनि अन्तिम चरणमा पुगेको बताइएको छ । भ्रातृ संगठन, पेसागत संगठनहरुको एकताका लागि पनि छुट्टै सुझाव संकलनका लागि गठित कमिटीले सुझाव संकलन गरिरहेको छ । युवा संघ नेपाल, वाईसीएल नेपाल, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाललगायतका भ्रातृ संगठनहरुको बैठक बसेर एकताको गृहकार्य सुरु गरिसकेका छन् । शुक्रबार प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गरे । नेकपा का २२ मध्ये १४ भ्रातृ संगठनको नेतृत्व तत्कालिन एमाले र ८ वटाको नेतृत्व तत्कालिन माओवादी केन्द्रका नेताले लिने सहमति छ ।
प्रकाशित समय ११:३५ बजे
















