गृहपृष्ठ बेइजिङमा प्रधानमन्त्रीको व्यस्तता

बेइजिङमा प्रधानमन्त्रीको व्यस्तता

kp_oli-newskarobar फाइल तस्बिर

जम्बो टोलीसहित ६ दिने राजकीय भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली बेइजिङ पुगेका छन् । साँझ नेपाली दूतावासमा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री सहभागी भए । त्यसअघि, बेइजिङ पुगेलगत्तै ओलीलाई त्यहाँस्थित नेपाली दूतावासले सम्मान गरेको थियो । कार्यक्रममा ओलीले ‘लुक वी’ नामक पत्रिकाको विमोचन गर्दै बेइजिङस्थित नेपाली दूतावासको विच्याटको शुभारम्भ पनि गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले चीन नेपालको भरपर्दो छिमेकी तथा मित्रराष्ट्र भएको बताउँदै दुईपक्षीय सहकार्य अघि बढ्ने धारणा राखे । नेपालले ‘एक चीन नीति’लाई सदा समर्थन गर्दै आएको दोहोर्याउँदै उनले चीनले गरेको तीव्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको बताए । ‘नेपाल बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा आबद्ध भइसकेकाले अब ठूलो लगानी र हिमालपारिको कनेक्टिभिटीमा जोड दिनुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘यहाँको तीव्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको छ ।’
प्रधानमन्त्री ओलीले दोस्रो दिन बुधबार त्यहाँको व्यापारिक समुदायसँग अन्तक्र्रिया गर्ने कार्यतालिका छ । नेपाली उद्यमी व्यवसायी र चीनको सीसीपीआईटीबीचको छलफलपछि बुधबार नै ऊर्जा र कृषिसम्बन्धी निजी क्षेत्रका परियोजनामा हस्ताक्षर हुनेछ ।
भ्रमणको तेस्रो दिन असार ७ गते प्रधानमन्त्री ओलीले महत्वपूर्ण भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीस्तरीय वार्ता र सम्झौताहरुमा हस्ताक्षरपछि पत्रकार सम्मेलन हुनेछ । सोही दिन राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुनेछ । असार ८ गते प्रधानमन्त्री ओली चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा निस्कने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसबाहेक उनले बेइजिङमा हुने विविध कार्यक्रममा सहभागिता जनाउनेछन् ।

चीन भ्रमणका क्रममा आर्थिक करिडोर घोषणालाई सम्झौतामा रूपान्तरण गर्ने विषयदेखि रेलमार्ग अध्ययन गर्नेसम्मका समझदारीमा हस्ताक्षर हुनेछन् । तिब्बतको राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठवटा नाकासम्म पु¥याउने, केरुङ–काठमाडौं रेलमार्ग निर्माण, रसुवागढी र तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माण, देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापनासम्बन्धी समझदारीमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै, रसुवागढीमा चीनले बनाइदिन लागेका दुईवटा पुलको समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ । प्रधानमन्त्रीको भ्रमणकै क्रममा निजी क्षेत्रबीच पनि ऊर्जा र कृषिक्षेत्रको विकासमा सम्झौता हुनेछ । दुई वर्षअघिको भ्रमणका क्रममा भएका ऐतिहासिक सम्झौताहरुको कार्यान्वयन पक्षमा छलफल हुनेबारे ओलीले सोमबार नै सदनलाई जानकारी गराएका थिए ।

प्रकाशित समय २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु