गृहपृष्ठ उपयुक्त समयमा नेपाल अाउँछु : चिनफिङ

उपयुक्त समयमा नेपाल अाउँछु : चिनफिङ

चीनकाे ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले  आज चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा ओलीले चिनफिङलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए ।

बेइजिङस्थित ग्रेट हल अफ पिपुल्समा उनीहरुबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीद्वारा जिनफिङका लागि पठाएको नेपाल भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् । राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो । यस्तै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता ४५ मिनेटसम्म चलेको थियो । सो अवसरमा सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको विकास र समृद्धिमा चीनका तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै सीले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको बताएका थिए । उनले असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको स्मरण पनि गरे ।

प्रधानमन्त्री ओलीले असल छिमेकीका रुपमा चीनको साथ र सहयोग पाएको भन्दै आर्थिक विकास र समृद्धिका लागि आफूहरु सधैँ चीनसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसलाई व्यावहारिकरुपमा नै पुष्टि गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चीनले गरेको आर्थिक र प्राविधिक विकासबाट लाभ हासिल गर्न नेपाल तत्पर रहेको बताएका थिए ।

सोहि अवसरमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएकामा सीलाई बधाई दिएका थिए । उनीहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमासमेत महत्वपूर्ण छलफल भएको थियो ।

दुई शीर्ष नेताबीचको भेटवार्तापछि अहिले प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ । सो वार्तामा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास बैरागी र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल सहभागी थिए ।

चीनका तर्फबाट राष्ट्रपति सी, विदेशमन्त्री वाङ यीलगायत वरिष्ठ चिनियाँ अधिकारीको सहभागिता थियो । राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन भ्रमणमा छन् । बुधबार विहानैदेखि महत्वपूर्ण कार्यक्रम र भेटावार्तामा व्यस्त ओलीले नेपाल चाइना विजनेश फोरमलाई समेत सम्बोधन गरेका थिए । त्यसै गरी दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा पनि सहभागी भएका थिए ।

(हरि लामिछाने/रासस)

प्रकाशित समय १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु