गृहपृष्ठ ओलीको भ्रमणलाई दिए चिनियाँ सञ्चारमाध्यमले महत्व, हतास नहुन भारतलाई सुझाव

ओलीको भ्रमणलाई दिए चिनियाँ सञ्चारमाध्यमले महत्व, हतास नहुन भारतलाई सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले उच्च महत्व दिएका छन् । खासगरी सरकारी सञ्चारमाध्यमले ओलीको आगमन र समन्वय प्रयासको प्रशंसा गरेको छ । समाचारहरुमा नेपालका प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर भारत निराश हुनुपर्ने कारण नरहेको टिप्पणी पनि गरिएको छ ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले लेखेको छ, ‘नेपाल चीनसँगको सहकार्यमा आर्थिक सहयोग र आधारभूत ढाँचाको विकाससँग जोडिएका एजेण्डालाई टुंगोमा पुर्याउन चाहान्छ ।’
पत्रिकाले नेपालका प्रधानमन्त्री ओलीको यो प्रयासलाई लिएर भारत निराश हुन नपर्ने पनि भनेको छ । किनकि, चीनसँग नेपालको सहकार्य बढ्दैमा नेपालमा भारतको प्रभाव नघट्ने पत्रिकाको निष्कर्ष छ ।

अहिलेसम्म यी तीन मुलुकका नेतृत्वले भने त्रिपक्षीय सहकार्यको आवश्यकता औँल्याउँदै आएका छन् । ग्लोबल टाइम्समा संघाइ इन्स्टीच्युट फर इन्टरनेसनल स्टडीज सेन्टरका निर्देशक चाओ गेनछेङको भनाइ पनि समावेश गरिएको छ । उनले चीनका लागि नेपाल सधैं विशेष र महत्वपूर्ण रहँदै आएको बताएका छन् । ‘दुई देशको लामो सीमा र द्धिपक्षीय सहकार्य स्वायत्त तिब्बतसम्बन्धी स्थिरताका लागि महत्वपूर्ण छ,’ उनले भनेका छन्, ‘चीनको वान बेल्ट वान रोड प्रोजेक्टमा नेपाल एक महत्वपूर्ण देश भएको र आर्थिक विकासमा चीनले सघाओस् भन्ने नेपालको चाहाना चिनियाँ नेतृत्वले बुझेको पनि छ ।’

ओलीको भ्रमणलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शुङले वान बेल्ट वान रोड परियोजनाको माध्यमबाट दुई देशबीच महत्वपूर्ण राजनीतिक साझेदारीको वातावरण बन्ने दाबी गरेका छन् । ‘राजनीतिक सहकार्यसँगै सांस्कृतिक आदान–प्रदान र दुई देशका नागरिकबीचको हेलमेलमार्फत पनि सम्बन्ध गहिरिनेछ,’ उनको भनाइ समाचारमा समेटिएको छ ।

संघाइ इन्स्टीच्युट फर इन्टरनेसनल स्टडीज सेन्टरका निर्देशक चाओले नेपाल र चीनको सम्बन्धलाई लिएर भारतमा बढाइ चढाइ हुनु गलत भएको बताएका छन् । ग्लोबल टाइम्सको समाचारमा उनले भनेका छन्, ‘भारतले नाफा नोक्सानको समीकरणबाट बाहिर निस्कन जरुरी छ । नेपाल चीनसँग सहकार्य गर्न चाहान्छ । तर, उसको अर्थ व्यवस्था भारतसँग निर्भर छ ।’

भारतले चीनको महत्वकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’को विरोध गर्दै आएको छ । तर, नेपालले यसमा चीनलाई साथ दिएको छ । त्यसैले पनि भारतले नेपाल–चीनबीच सम्भावित सहकार्यलाई टाउको दुखाइको विषय ठान्ने गरेको छ । तर, चिनियाँ सञ्चारमाध्यमले विभिन्न विश्लेषक र राजनीतिज्ञलाई उदृत गर्दै लेखेको छ, ‘चीन नेपालमा आफ्नो प्रभुत्व जमाउन नभएर छिमेकीको हैसियतमा नेपालको चाहानाअनुसार विकासमा सघाउन चाहान्छ ।

भारतसँगको निर्भरता कम गर्न ओलीले चीन तिब्बतसँग आफ्नो सडकको सञ्जाल फैलाउन चाहनुभएको पत्रिकामा उल्लेख गरिएको छ । चिनियाँ रेलवेको विस्तार हिमालयदेखि नेपालसम्म विस्तार गर्ने विषय पनि यसपटक गम्भीर रुपले छलफल हुने कुरा समाचारमा उल्लेख गरिएको छ ।

यसबीचमा नेपाल र चीनबीच विभिन्न ९ परियोजना निर्माणसम्बन्धी समझदारी पनि मच्चिएको छ । ओलीको चीन भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले सकारात्मक रुपमा लिएर समाचार प्रकाशन, प्रशारण गरेपनि भारतमा भने हंगामा मच्चिएको छ । भारतीय सञ्चारमाध्यमले ओली चीनतिर ढल्किएको, भारतलाई घाटाजस्ता समाचारहरु प्रकाशन तथा प्रशारण गरिरहेका छन् ।

प्रकाशित समय ०७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु