गृहपृष्ठ नेपाल आत्मनिर्भर बन्ला भन्ने चिन्तामा भारत
नेपाल आत्मनिर्भर बन्ला भन्ने चिन्तामा भारत
स्वतन्त्र र सार्वभौम नेपालले चीनसँग विभिन्न सम्झौता र समझदारी गर्दा भारतमा अस्वाभाविक छट्पटाहट किन ?

चीनको ६ दिने राजकीय भ्रमण सकेर आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एक छिमेकीविरुद्ध अर्काे छिमेकीको कार्ड प्रयोग नगर्ने बताए । ‘हामी छिमेकीविरुद्ध कार्ड खेल्दैनौं, इमानदार कूटनीतिक प्रयास गर्छौं, इमानदार छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गछौं,’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री चीन भ्रमणमा रहँदा भारतमा भने ठूलै हलचल छायो । नेपाल परम्परागत भारतमुखी परराष्ट्र नीतिबाट उम्किएको महसुस भारतीय बुद्धिजीवीले गरे भने मूलधारका मिडियाले ‘भारतविरुद्ध चीनले नपालसँग गठबन्धन गर्न खोजेकोदेखि नेपाल चीन सम्झौता भारतलाई खतरापूर्ण हुने’सम्मका समाचार पस्किए ।
यी घटनाले स्वतन्त्र र सार्वभौम नेपालले चीनसँग विभिन्न सम्झौता र समझदारी गर्दा भारतमा अस्वाभाविक छट्पटाहट भइरहेको पुष्ट्याइँ गरेका छन् । आर्थिक विकासमा प्रतिस्पर्धा गरिरहेका दुई देशबीच सन्तुलन मिलाएर नेपाल अगाडि बढ्न खोज्दा यस्ता टिप्पणी आउनुलाई कूटनीतिज्ञहरुले नेपालमाथिको ‘सिन्डिकेट’ तोडिने भारतीय चिन्ताका रुपमा लिएका छन् ।
‘सम्झौता कार्यान्वयन गर्नसके भारतसँग मात्रै रहँदै आएको परनिर्भता तोडिन्छ, आफ्नो एकाधिकार तोडिँदा भारत चिन्तित हुनु स्वाभाविक हो, तर त्यसरी आलोचना गर्नु कूटनीतिक रुपमा उचित होइन ।’
कुन देशसँग कस्ता सम्झौता गर्ने र कस्तो व्यापार गर्ने भन्ने विषय आन्तरिक मामिला भएको र विदेशीहरुले यसमा चिन्ता लिन आवश्यक नरहेको कूटनीतिज्ञहरु बताउँछन् । ‘सम्झौता कार्यान्वयन गर्नसके भारतसँग मात्रै रहँदै आएको परनिर्भता तोडिन्छ, आफ्नो एकाधिकार तोडिँदा भारत चिन्तित हुनु स्वाभाविक हो, तर त्यसरी आलोचना गर्नु कूटनीतिक रुपमा उचित होइन,’ कुटनीतिज्ञ टंक कार्कीले भने । नेपालले दुवै छिमेकीसँग बराबरीको दूरीमा सम्बन्ध बढाउने र बढाउनुपर्ने भन्दै उनले चीन सम्झौतालाई भारतको विकल्प खोजिएको भन्ने अर्थमा बुझ्न नहुने प्रस्ट पारे ।
तीनपटक सम्म नाकाबन्दी लगाइसकेको भारत चीनसँगका सम्झौताले नाकाबन्दी युग समाप्त हुने भएपछि आत्तिएर अनेक टिप्पणी गरिरहेको परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको विश्लेषण छ । ‘रेल सम्झौताले वैकल्पिक मार्ग दिने र भारतको एकाधिकार रहेको मुलुकमा नाकाबन्दी लगाउने युगकै समाप्त गरिदिने भएकाले भारत आत्तिएको हो,’ उनी भन्छन्, ‘आफ्नो निर्देशनअनुसार नेपाललाई चलाउन खोज्ने र नमानेमा नाकाबन्दी लगाएर दबाब दिने जस्ता काम अब गर्न नसकिने भएकाले भारतीय पक्ष नेपाल–चीन सम्झौताबाट आत्तिएको हो ।’
परराष्ट्रविद् श्रेष्ठ भारतीय मिडियाबाजीलाई आफ्नो प्रभुत्वबाट उम्कन खोज्दा भारतबाट आएको हतास र हल्का टिप्पणी भएको बताउँछन् । ट्रान्समिसन लाइन सम्झौताले आफ्नो लगानीबाट उत्पादित बिजुलीमात्रै किन्ने योजनालाई असफल बनाउने भएकाले भारतको टाउको दुखेको उनको भनाइ छ ।
भारतकै कारण नेपालले चीनसँग व्यापारिक विकल्प खाजेकाले भारत तरंगित हुनुपर्ने कारण नभएको वरिष्ठ पत्रकार एवं विश्लेषक ध्रुवहरि अधिकारी बताउँछन् । ‘विगतमा पटक–पटक नाकाबन्दी लगाएकै कारण नेपालले विकल्प खोजी गरेकाले भारत आत्तिनु पर्दैन, बरु व्यवहार सुधार्नुपर्छ,’ उनले भने ।
हरेक देशले राष्ट्रिय स्वार्थअनुसार काम गर्ने भए पनि आफ्नो हितअनुसार अर्काे देश अघि बढोस् भन्ने भारतको गलत नियत देखिएको विश्लेषक आनन्दराम पौडेलको टिप्पणी छ । ‘भारतको चिन्ता नेपाल चीनसँग नजिकिन्छ भन्नेमात्र होइन, कतै यो देश आर्थिक दृष्टिबाट आत्मनिर्भर पो भइहाल्छ कि भन्नेमा बढी छ,’ उनी भन्छन्, ‘चीनसँगको सम्झौता कार्यान्वयनपछि नेपाल आत्मनिर्भर बन्ने भएकाले आफ्नो व्यापार नसुकोस् भन्ने चाहना पूरा गर्ने भारतको अभीष्ट हो ।’
प्रकाशित समय १८:३० बजे