गृहपृष्ठ धनराज गुरुङले भने– कार्यकारी राष्ट्रपति स्वीकार्छौं
धनराज गुरुङले भने– कार्यकारी राष्ट्रपति स्वीकार्छौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति स्वीकार्य रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकारी राष्ट्रपतिको विषय बहसमा ल्याइरहेका बेला कांग्रेस नेता गुरुङको यस्तो अभिव्यक्ति आएको हो ।
‘संविधान शिलालेख होइन, जनताले चाहेको खण्डमा परिमार्जन हुनसक्छ,’ न्युज कारोबारसँग गुरुङले भने, ‘संविधान निमार्णकै क्रममा यो विषय उठेकै थियो । अहिले प्रचण्डले उठाउनुभएको छ । यसलाई हामीले नौलो रुपमा लिएका छैनौँ ।’
तर, अहिले सबैको ध्यान कुन–कुन धारा परिवर्तन गर्ने भन्नेतिर भन्दा पनि जारी भएको संविधानको प्रभावकारी कार्यान्वयनतर्फ रहेको उनले बताए । ‘धेरै लामो छलफल र मेहनत गरेर संविधान बनाइएको छ । एउटा संविधानसभाले नसकेर दुई–दुईवटा संविधानसभाले सहमतिका आधारमा संविधान निर्माण गरेको हो,’ गुरुङले भने, ‘बेलायतको जस्तो संसदीय व्यवस्था अवलम्बन गरेका छैनौँ । अमेरिकामा पनि एक खालको अभ्यास छ । अब हामीले पनि मौलिक अभ्यास गर्न सक्छौँ ।’ नेता गुरुङले पार्टीको इतिहास नबुझेकाहरुले धर्म सापेक्षताको कुरा गरिरहेको अरोप लगाए ।
(नेता गुरुङसँगको विस्तृत अन्तर्वार्ता । प्रतीक्षा गर्नुहोला ।)
प्रकाशित समय ११:३२ बजे