गृहपृष्ठ कित्ताकाटमाथिको प्रतिबन्ध एक महिनाभित्र फुकुवा हुन्छ : कृषिमन्त्री
कित्ताकाटमाथिको प्रतिबन्ध एक महिनाभित्र फुकुवा हुन्छ : कृषिमन्त्री
रुपन्देहीको सुख्वानीका बासिन्दाले ५० वर्षपछि पाए लालपुर्जा

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ र १७ का एक सय १२ घरधुरीले जग्गाधनी प्रमाणपत्र पाएका छन् । २०२५ सालमा नापी हुँदा छुटेका उनीहरुलाई ५० वर्षपछि शनिबार लालपुर्जा वितरण गरिएको हो । तिलोत्तमा नगरपालिका र नापी कार्यालय भैरहवाको आयोजनामा भूमिव्यस्था, कृषि तथा सहकारीमन्त्री चक्रपाणी खनालले जग्गाधनी प्रमाणपत्र प्रदान गरे ।
उपयोग गरेको वर्षौंपछि जग्गाधनी प्रमाणपत्र पाउँदा स्थानीय बासिन्दा हर्षित भएका छन् । तिलोत्तमा–१७, भरौलियाकी ७० वर्षीया मालतीदेवी थारुले जीवनको उत्तराद्र्धमा लालपुर्जा पाउँदा निकै खुसी लागेको बताइन् । यस्तै, तिलोत्तमा–१५ की ६० वर्षीया कोइली चौधरीले लामो प्रतीक्षापछि प्रमाणपत्र पाए पनि वास्तविक जग्गाधनी हुन पाउँदा खुसीको सीमा नरहेको बताइन् ।
नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले प्रक्रिया पूरा गरेर क्रमशः तिलोत्तमा नगरपालिकामा रहेका अन्य गाउँब्लक जग्गाको पनि जग्गाधनी प्रमाणपत्र वितरण गरिने जानकारी दिए । तिलोत्तमाका अन्य वडामा पनि गाउँब्लक जग्गा छ ।
जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री खनालले कृषियोग्य जमिनलाई खण्डीकरण हुनबाट जोगाउन कित्ता काट रोकिएको बताए । ‘तर अंशबण्डाका नाममा कित्ताकाट गरी बिक्री–वितरण भइरहेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भइरहेको छ,’ उनले भने । मन्त्री खनालले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको बताए ।
प्रतिबन्धका कारण धेरै समस्या र विकृति बढेको पाइयो भन्दै मन्त्री खनालले आवश्यक नीति निर्माण गरेर कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा मन्त्रालय रहेको जानकारी गराए । ‘जग्गा व्यवस्थापनसम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउँछौं,’ उनले भने, ‘यस सम्बन्धमा मैले प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरेको छु, एक महिनाभित्र यो विषय टुंग्याउने छौं ।’ स्थानीय तहले भू–उपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा मन्त्री खनालको भनाइ छ ।
यसअघि, प्रदेश सांसद दधिराम न्यौपानेले जग्गाको कित्ताकाट रोकिँदा मालपोत र नापी कार्यालयमा धेरै विकृति देखिएको जानकारी गराएका थिए । त्यस्तै, नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कित्ताकाटमा लगाइएको रोकले ल्याएको समस्याप्रति जानकार रहे पनि आफूहरु नीतिभन्दा बाहिर जान नसक्ने बताए । तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नगरभित्रको जग्गाको वैज्ञानिक व्यवस्थापनमा नगरपालिका क्रियाशील रहेको बताए ।
प्रकाशित समय १७:१८ बजे