गृहपृष्ठ हिमवत् सम्मिलनमा साहित्य र संस्कृतिबारे विमर्श

हिमवत् सम्मिलनमा साहित्य र संस्कृतिबारे विमर्श

हिमवत् खण्ड कला साहित्य सम्मिलनको दोस्रो दिन शनिबार कला, साहित्य, संस्कृति र सभ्यतासम्बन्धी स्वदेशी र विदेशी विज्ञहरुबीच विचार विमर्श भएको छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय सम्मिलनअन्तर्गत शनिबार कलाकार ठाकुरप्रसाद मैनालीले ‘नेपाली कला संस्कृतिको फैलदो आकाश र भावी दिशा’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन् ।

कार्यपत्र प्रस्तुत गर्दै मैनालीले इस्वी सन् सुरुहुनु पूर्व बनेका प्रस्तर गजलक्ष्मी, अष्टमात्रिका तथा सूर्यका मूर्तिहरुले नेपाली कलाको ऐतिहासिकता झल्काउने गरेको बताए । चीनको कला संस्कृतिको विकासमा समेत नेपालीको भूमिका रहेको उनको भनाई थियो ।

भारतको सिक्किम विश्वविद्यालयका डिन डा. कविता लामाले ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ विषयमा प्रस्तुति दिएकी थिइन् । उनले भानुभक्तीय रामायणलगायत कृतिलाई डिजिटलाइजेसन गर्न सुझाव दिइन् ।

प्रा.डा. मधवप्रसाद पोखरेलले ‘हिमवत् खण्डको भाषाको उद्भव : नेपाली भाषाको वर्तमान महत्व र स्थिति’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली भाषालाई खसालेर अंग्रेजीलाई पुल्पुल्याउने अवस्था देखिएकोमा चिन्ता प्रकट गरे ।

प्रा.डा. जीवेन्द्रदेव गिरीले ‘नेपाली भाषाको साहित्यिक अवस्था र समृद्धिको यात्रा’ विषयमा बोल्दै नेपाली, नेपाल भाषा र मैथिलीमा झैँ सबै मातृभाषामा साहित्यको विकास हुन सकेमा समृद्धिका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

शनिबार प्रस्तुत भएका कार्यपत्रमाथि प्राज्ञ विष्णु प्रभात, लक्ष्मण न्यौपाने (म्यानमार), प्रा.डा. व्रतराज आचार्य र डा. जगमान गुरुङले समीक्षात्मक परिपूरण मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हिमवत् खण्ड कला साहित्य सम्मिलनको सफलताको कामना गर्दै यस क्षेत्रका कला र संस्कृतिलाई सियोले धागो उने झैँ एउटै मालामा उन्न सक्नुपर्नेमा जोड दिए । ज्ञवालीले साहित्य र संस्कृतिलाई संमृद्धिसँग जोड्न पनि आग्रह गरे ।

शनिबारै बहुभाषिक कवि गोष्ठी र हास्यव्यंग्य साँझको कार्यक्रम छ भने आइतबार स्रष्टाहरु चन्द्रागिरी पुगेर स्थलगत सिर्जना र समापानमा सहभागी हुनेछन् ।

(रासस)

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु