गृहपृष्ठ पहिलो दिन ३९ वटा ब्रोकर कार्यालयबाट अनलाइन सेयर कारोबार
पहिलो दिन ३९ वटा ब्रोकर कार्यालयबाट अनलाइन सेयर कारोबार
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्से नकारात्मक, कारोबार रकम २० करोडमा सीमित
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यतालिकाअनुसार साउन १ गते ३९ वटा ब्रोकर कार्यालयले अनलाइन सेयर कारोबारको परीक्षण सुरु गरेका छन् । बाँकी ११ वटा कार्यालयले भने नयाँ प्रणाली कनेक्सनमा प्राविधिक समस्या आएको भन्दै लगानीकर्तालाई युजरनेम र पासवर्ड उपलब्ध गराउन सकेनन् ।
नेप्सेका प्रवक्ता मुरारी पराजुलीले केही प्राविधिक समस्या आएकाले सबै ब्रोकर कार्यालयले अनलाइन कारोबार परीक्षण सुरु गर्न नपाएको बताए । ‘केही प्राविधिक कठिनाइले सबैबाट अनलाइन कारोबार सुरु हुन नसकेको हो,’ उनले भने, ‘भोलिबाट सबैमा सुरु हुन्छ ।’
निभ सेक्युरिटिजका कर्मचारी सुमन चालिसेले पनि सफ्टवेयर कनेक्सनमा केही समस्या आएकाले मंगलबार लगानीकर्तालाई युजरनेम र पासवर्ड प्रदान गर्न नसकिएको बताए । ‘आजै केहीबेरमा समस्या समाधान हुन्छ,’ उनले भने, ‘भोलिबाट परीक्षण सुरु गर्छौं ।’
नेप्से नकारात्मक

आर्थिक वर्ष २०७५/७६ को पहिलो कारोबार भएको दिन मंगलबार नै सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ । व्यापार, वित्त र अन्यबाहेकका सबै समूह नकारात्मक बनेपछि समग्र बजार परिसूचक ओरालो लागेको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । सोमबारको तुलनामा आज करिब ११ करोड कम अर्थात् २० करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । गत आर्थिक वर्षको अन्तिम दिन सोमबार सेयर बजार परिसूचक करिब १२ अंगले बढेको थियो भने कारोबार रकम ३१ करोड ८५ लाख रुपैयाँ थियो ।
नेप्सेको कार्यतालिकाअनुसार अनलाइन सेयर कारोबार सुरु हुँदा पनि बजारमा कुनै उत्साह आउन सकेन । मंगलबारबाटै अनलाइन कारोबारको परीक्षण सुरु भएको हो ।
जीवन र निर्जीवनको फरक–फरक समूह
नेप्सेले मंगलबारदेखि नै जीवन बिमा र निर्जीवन बिमाको उपसमूह अलग–अलग गरेको छ । बिमाको उपसमूह छुट्याइएसँगै नेप्सेमा अब ११ उपसमूह पुगका छन् । हाल जीवन बिमामा सात र निर्जीवनमा १५ कम्पनी छन् । नेप्सेले केही महिनाअघि विकास बैंक समूहबाट लघुवित्तलाई अलग गरेको थियो ।
प्रकाशित समय १७:१७ बजे

















