गृहपृष्ठ बानेश्वरमा घन्कियो नारा– लोकमान ढाल्यौं, अब ओली ढाल्छौं

बानेश्वरमा घन्कियो नारा– लोकमान ढाल्यौं, अब ओली ढाल्छौं

अनसनको अावरणमा सरकार ढाल्ने खेल

baneshwor-jhadap-newskarobar (1) फाइल तस्बिर

 

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको समर्थनका नाममा भइरहेको सडक आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने रणनीति उद्घोष भएको छ । सत्याग्रहीको समर्थनमा उत्रिएको भनिएका नेपाली कांग्रेस, विवेकशील साझा, नयाँ शक्तिलगायतका दल र एनजीओ÷आईएनजीओहरु डा. केसीको आवरणमा सरकार ढाल्ने खेलमा जुटेका हुन् ।

डा. केसी अनसनको २२औं दिनसम्म आइपुग्दा बानेश्वरमा भेला भएका समर्थकले बृहत् र्यालीपछिको कोणसभामा ‘ओली सरकार ढाल्न आन्दोलन केन्द्रित भएको’ घोषणा नै गरे । शनिबार मध्याह्न माइतिघरबाट निस्किएको विभिन्न दलका नेता, सामाजिक अगुवा, बुद्धिजीवी, विद्यार्थी, पूर्वप्रधानन्यायाधीशलगायत सहभागी प्रदर्शनपछिको कोणासभामा वक्ताहरुले ‘ओली सरकार ढाल्ने’ रणनीतिक योजना ओकलेका हुन् । माइतिघरबाट निस्किएको र्याली बानेश्वरमा कोणसभामा परिणत भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीदेखि अधिवक्ता ओमप्रकाश अर्यालसम्मले ‘ओलीतन्त्र’ अन्त्यका लागि आफूहरु प्रदर्शनमा उत्रिएको बताए ।

 

केसीका माग पूरा नभए देशमा आगो बल्छ : सुशीला कार्की

sushila-karki

पूर्वप्रधानन्यायाधीश कार्कीले अनपढ र माफियालार्ई पोस्ने सरकार ढाल्नैपर्ने बताइन् । मेडिकल कलेज सम्बन्धनको पर्खाइमा रहेका दुर्गा प्रसाईंप्रति लक्षित गर्दै उनले भनिन्, ‘सरकार सात पढेका, आठ पढेका माफियाको पक्षमा छ, हामी गरिब दुःखी जनताको पक्षमा छैन, यस्तो सरकार किन चाहियो ?’

प्रसाईं नेकपा एमाले र माओवादी केन्द्र एकताअघि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएपछि चर्चामा आएका व्यक्ति हुन् । सरकारले जनताको भोट पाएको भए पनि जनताले भनेको मान्नुपर्ने उनले बताइन् । कार्यक्रमको अन्तिम वक्ता रहेकी कार्कीले मन्तव्य टुङ्ग्याउँदै भनिन्, ‘केसीका माग पूरा नभए देशमा आगो बल्छ ।’

 

यो स्वाभिमानविरोधी सरकार हो, गिराउनुपर्छ : कृष्ण पहाडी

krishna-pahadi-

नागरिक अगुवा कृष्ण पहाडीले पनि नागरिकको सर्वाेच्चता कायम गर्न ओली सरकार ढाल्नुपर्ने तर्क गरे । पूर्वप्रधानन्यायाधीश कार्कीभन्दा अघि मन्तव्य राखेका उनले भने, ‘यो स्वाभिमानविरोधी सरकार हो, गिराउनुपर्छ ।’ सरकारले गैरसरकारी संस्थालाई नियमन गर्ने तयारी गरेपछि उनी आक्रोशित हुँदै आएका छन् । गैसरकारी संस्थाका व्यक्तिको सम्पत्ति छानबिन गर्ने सरकारको तयारीप्रति असहमति जनाउँदै आएका गैरसरकारी संस्थाका सञ्चालक पहाडीले प्रधानमन्त्रीको चर्काे विरोध गरे । ‘सबै गैरसरकारी संस्थालाई एउटै डालोमा हालेर नवीकरण नहुने धम्की दिइएको छ,’ उनले भने, ‘गैरसरकारी संस्थाप्रति यो सरकार पूर्वाग्रही बनेको छ ।’

 

लोकमानलाई जस्तै ओलीलाई पदच्युत गराउँछौं  : ओमप्रकाश अर्याल

omprakash-

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं अधिवक्ता ओमप्रकाश अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई जस्तै प्रधानमन्त्री ओलीलार्ई पनि पदच्यूत गराउने चेतावनी दिए । सरकार निरंकुश बन्दै गएकाले ढाल्ने अभियान सञ्चालन गर्नुको विकल्प नरहेको उनको भनाइ छ । ‘ओलीविरुद्ध जनविद्रोह गर्छाैं, सरकार ढालेर छाड्छौं,’ अर्यालले भने ।

आकाशमा बेलुन उडाउँदै अधिवक्ता अर्यालले आफूहरुको आन्दोलनले ओली सरकार पनि बेलुन जस्तै गरी उड्ने दाबी गरे । ‘हेर्नुहोस् ! ओलीतन्त्र पनि यसैगरी उडाउँछौं, हावादारी कुरा गर्दागर्दै यो सरकारको पनि हावा फुस्किसक्यो,’ हातबाट बेलुनको झुप्पो उडाउँदै उनले भने । कार्यक्रमका उद्घोषक अर्यालले डा. केसीका मागका सम्बन्धमा भन्दा पनि सरकारलाई गाली गर्नमै अधिकांश समय खर्चिए ।

 

ज्ञानेन्द्रको फौजी सत्ता ढाल्यौं, अब ओलीको पालो : खगेन्द्र संग्राैला

khagendra-sangraula

लेखक खगेन्द्र संग्रौलाले नेकपाका अध्यक्षद्वय प्रचण्ड र ओलीको सेखी झार्न आन्दोलनमा सहभागिता जनाएको बताए । चार महिना बित्न नपाउँदै ओली नेतृत्वको सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको फौजी सत्ताको स्मरण गराएको भन्दै संग्रौलाले भने, ‘ज्ञानेन्द्रका फौजी सत्ता ढालेका आएका हौं, अब ओलीलाई पनि घुँडा टेकाउँछौं ।’

प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, हिसिला यमी, करिश्मा मानन्धर, विवेकशील सझा पार्टीका रवीन्द्र मिश्र, कांग्रेस नेता गगन थापा, रामहरि खतिवडालगायत सहभागी थिए ।

प्रकाशित समय १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु