गृहपृष्ठ डा. केसीमाथि प्रधानमन्त्रीको आशंका- पाखुरा बटारेर, मुड्की हानेर सत्याग्रह हुन्छ !

डा. केसीमाथि प्रधानमन्त्रीको आशंका- पाखुरा बटारेर, मुड्की हानेर सत्याग्रह हुन्छ !

'कांग्रेसलार्इ देख्दा दया लाग्छ'

kp oli_newskarobar फाइल तस्बिर

 

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुख्य विपक्षी नेपाली कांग्रेसलाई देख्दा आफूलाई माया लाग्ने बताएका छन् ।

काठमाडौंमा पुष्पलाल स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एजेन्डा र दृष्टिकोणबिनाको कांग्रेस देख्दा दया लागेको बताए । ‘हजुरआमाहरूले भन्नुहुन्थ्यो– तिमीहरूको उमेरमा त हामी उडेका चरा छोप्थ्यौं । कांग्रेस अहिले उडेका चरा छोप्ने अवस्था पार गरेर घाममा बसेर गफ गर्ने भएको छ । जुरूक्क उठ्न सक्दैन । कांग्रेस देखेर माया लाग्छ,’ ओलीले भने ।

अहिलेको हारबाट कांग्रेस आत्तिएको उल्लेख गर्दै उनले कांग्रेसले आफूहरूलाई लोकतन्त्रको पाठ सिकाउनु विचित्र भएको बताए । ‘हामी पनि प्रतिपक्षमा थियौं, ३३ सिटमात्र ल्याएका थियौं । तर हामीले धैर्य गुमाएनौं । शालीन ढंगले जनताबीच जाने र नबुझेका कुरा बुझाउने काम गर्यौं ।

हिंसात्मक दमनको शान्तिपूर्ण प्रतिरोध गर्यौं । अहिले हाम्रो बहुमत आयो,’ प्रधानमन्त्रीले भने,‘ कांग्रेसले जे गरे पनि लोकतन्त्र, जसो गरे पनि लोकतन्त्र । आफू नभएपछि उसलाई अधिनायकवाद आयो ।’ प्रधानमन्त्रीले २०४८ सालमा कांग्रेसको एकमना सरकारका पालामा आफूहरूमाथि पनि कांग्रेसले दमन गरेको आरोप लगाए ।

कांग्रेसले त्यसबेला एमालेका ३० हजार कार्यकर्तालाई मुद्दा लगाएको स्मरण गर्दै ओलीले तीन वर्षमा आफू ३० पल्ट पक्राउ परको सुनाए । ‘तीन वर्षमा कांग्रेसले १ सय २२ जनालाई गोली ठोक्यो । राजमार्गमा भइरहेको साइकल ¥यालीमा गोली चलायो । यस्तो थियो कांग्रेसको लोकतन्त्र,’ त्यतिबेला आस्थाकै आधारमा हजारौं शिक्षक र कर्मचारी निष्कासित भएको उल्लेख गर्दै उनले भने, ‘देश खाने काम कांग्रेसको मात्र भयो ।’

 

राष्ट्रिय सभागृहमा आयोजित सभामा प्रधानमन्त्री ओलीको सम्बोधन
अचम्म चाग्छ । एउटा अनसनको मुद्दा गरायो । त्यो अनसन पनि गन्नुपर्छ, रेकर्ड राखेर कति औं पटक हो भनेर त्यो अनसन । के मुद्दा, के मामिला के विषय, सिम्प्ली भन्ने हो भने सहभागिताले चित्र आफैं बोल्छ भन्छन् नि ! सडकतिर तपाईंले हेर्नुभयो भने के मुद्दा रैछ, के विषय रैछ अनसनको भन्ने आफैं थाहा हुन्छ । किसिम–किसिमका मान्छेहरु कोही गेरु वस्त्रमा देखिन्छन्, कोही सन्यासीको रुपमा देखिन्छन् । कोही ठाडो चन्दन लगाएको छ कोही तेर्सो चन्दन लगाएको छ । कोही माला लगाएको छ, कोही रुद्राक्ष कोही तुलसी, मुसा खाने जस्तो कोही लाग्दैन, अचम्मको अनौठा अनौठा खाले दृश्यहरु ।

अनि ठूल्ठूला सर्वोच्चय न्यायिक निकायमा बसेकाहरु, ‘किन पाइँदैन, निषेधाज्ञा तोड्न ? पाइन्छ ।’ निषेध आज्ञा तोड्न पुगेका मान्छेहरुको भन्दाखेरी सर्वोच्च न्यायिक निकायको टुप्पोमा बसेका मान्छेहरु । निषेधाज्ञा तोड्दै के भन्नुभयो, त्यो प्रधानमन्त्री ४ कक्षा पढ्या छैन, के बुझ्छ ? मसँग त सर्टिफिकेट माग्नुभा थिएन । तर पनि देख्नुभएछ । यस्ता यस्ता कुराहरु थिए । वास्तवमा, मानवअधिकारका नाममा आज जो मैदानमा उत्रिएका छन्, अनसन मानवअधिकारविरोधी कुरा हो ।

म यता जान चाहन्न वार्ता समिति बनाएको छ, वार्ता गर्दिन भन्नुहुन्छ । स्वास्थ आफैं जानुभएको हो कि कसले लग्या हो कि ? जुम्ला गएर अनसन बस्नुभयो । कभर्ड हलमा चार दिन अनसन बस्नुभयो । म धेरै भन्न चाहन्न । चार दिन, त्यसपछि अस्पताल आउनुभयो । स्वास्थ्य बिग्रियो भन्न आएपछि हामीले सरकारले ल्याउनुपर्यो, सुविधासम्पन्न ठाउँमा ल्याउन नदिने । अनसन बस्ने डाक्टर केसी अनसन कायम राख्ने अरु । बिमारी हुने डाक्टर केसी, उपचार गर्न नदिने अरु । अरुको जीवनमाथि खेलवाड गर्न पाइन्छ ? राजनीतिक स्वार्थका लागि उपचार गर्न दिन्न भन्न पाइन्छ ? मेडिकल एसोसिएसन व्यवधान खडा गर्छ । औषधी उपचार गर्न दिँदैन । अस्पताल बन्द गराउँदै हिड्छ । अनइथिकल हो ।
गैरकानुनी हो यो । अमानवीय हो यो । डाक्टरले अस्पतालले बिरामीको उपचार गर्दिन भन्न पाइँदैन । सलाइन दिनुपर्ने बेलामा सलाइन दिन्न भन्न पाइन्छ ? आफ्ना स्वार्थका लागि उपचारका लागि उपचार गर्ने जागिर खानोस्, अरु सडकको डाक्टरलाई हामी भनी राख्या छैनौँ । सरकारको राजस्वबाट जागिर खाएका डाक्टर एसोसिएसन बनाएर संगठित ढंगले जनतालाई उपचारबाट वञ्चित गर्ने हुलहुज्जत गर्ने यो पाइन्छ ? यही हो डमोक्रेसी ? अनि यस्तै त्यान्द्रा समातेर राजनीति गर्न कांग्रेसले खोजेको छ भने मैल त्यही भनेर हो भनेको कांग्रेसमाथि दया लाग्छ– यस्ता त्यान्द्रा गैरकानुनी त्यान्द्रा अमानवीय त्यान्द्रा समातेर हुलहुज्जतको बाटो समातेर अनी राजनीति गर्न कांग्रेसले खोज्छ भने ।

अरु त अनुभव छैन । भर्खर यसो पार्टी खोलेर हिँड्दै छन् । के–के गर्दैछन् ? यसो गर्दा हुन्छ कि त्यसो गर्दा, कांग्रेसले त त्यसो गर्या छ भने त्यसै गर्दा हुन्छ कि भन्ने पर्या होला । तर, नेपाली कांग्रेस त एउटा पुरानै पार्टी हो बुझ्नुपर्ने हो ।

त्यसकारण म भन्न चाहन्छु कसैले पनि कानुनभित्र बस्नुपर्यो । यी यस्ता सेवाहरु जनजीवनलाई असर पार्ने र त्यसमा पनि, उहाँहरु अस्ति ज्ञापनपत्र दिन भनेर आउनुभयो मैले उहाँहरुले लेखेर ल्याउनुभयो’ हामी इमर्जेन्सीबाहेक सब ठप्प गर्छौँ’ भनेर मैले भने यसो गर्न मिल्दैन । तपाईंहरुलाई कर्तव्यले दिँदैन, तपाईंहरुलाई त्यो अधिकार छैन । तपाईंहरुले यस्तो गर्न मिल्दैन । तपाईंको यो नैतिक उत्तरदायित्वभन्दा बाहिरको कुरा हो । र, यो गैरकानुनी कुरा हो । अत्यावश्यक सेवा स्वास्थ्य जस्तो ठाउँमा यस्तो गर्न मिल्दैन । तपाईंहरु सरकारी जागिरमा हुनुहुन्छ ।’

उहाँहरुलाई त जागिरमा हुनुहुन्छ भन्यो भने ओहो अब एकछिन पछि सुन्नुहोला, हामीलाई जागिरे भन्ने उहाँहरु उफ्रिनुहुन्छ, हामीलाई जागिरे भन्ने भनेर । उहाँहरु जागिरमा हुनुहुन्छ । उहाँहरुले सरकारले तिरेको राजस्वबाट तनखा लिनुभएको छ । आवासीय सुविधासमेत दिएर हरदम त्यहाँ तैनाथ रहनुपर्ने भनेर त्यो सुविधासाथ राखिएका डाक्टर बन्द गर्दै हिँड्ने । आज भ्याइन, आज पढाउँदिन भोली पढाउँछु भन्यो भने मान्छे मरिहाल्दैन । आज उपचार गर्दिन भोलि उपचार गर्छु भन्यो भने मान्छे त मरिसक्छ नि । त्यस्तो पनि पाइन्छ ? हुन्छ ?

केही महान बुद्धिजीवी देखेर अचम्म लाग्छ । कठै बरी । यतिसारो विवेक कहाँ लगेर कतिमा बन्धकी राखेको ? कसरी बन्दगी मुछेको यतिसारो विवेक ? सही कुरा त अलिकति त गर्न सक्नु पर्यो नि ? यस्तो हो है भनेर ।

कांग्रेसले अध्यादेश लाँदा अध्यादेश होइन, सामान्य प्रक्रियाबाट विधेयक ल्याउनुस् भन्यो । हुन्छ भन्यौँ हामीले । सामान्य प्रक्रियाबाट विधेयक लगियो, विधेयक दर्ता गरेपछि विरोधको सूचना जारी ग¥यो हामी बहसमा उत्रिन्छौँ भनेर । हामीले ठिक छ, संसदीय अभ्यामा विरोधको सूचना जारी गर्न दिन र बहसमा उत्रिन पाइन्छ । उहाँहरुले बहस गर्छौं भनेर सूचना जारी गर्नुभयो । सदन सुरु हुनु पाएको छैन हो हल्ला सुरु गर्नुभयो हुँदैन भनेर । उहाँहरुले सामान्य प्रक्रियाबाट विधेयक ल्याउनुस् किन भन्नुभयो ? बहस गर्नु नै छैन भने विरोधको सूचना किन दिनुभयो ? विरोधको सूचना भनेको बहस गर्छौं भनेको हो ।

सच्याउनु छ केही भने विधेयक त पास गर्या छैन । पेस ग¥या छ । आउनुस्, बहस गरौँ, छलफल गरौँ । देशको हितको पक्षमा जनताको हितको पक्षमा के–के सच्याउनुपर्छ, हामी जनता र देशका लागि काम गर्न तयार छौँ भने सच्याउन त सकिन्छ नि ! संशोधन गरौँ आउनुस् छलफल गरौँ संशोधन हालौँ । त्यो छैन । अनि यो जिद्धि र अहंकार, यो एउटा प्रणाली ल्यायौँ । संसद बनायौँ । संविधान बनायौँ । कानुन बनायौँ । कि यो देखाउनका लागि मात्रै हो ? नेपाली कांग्रेसले भन्नुपर्यो कि कसको हुकुम हामीले तामेल गर्नुपर्ने हो ? क–कसको आदेश फरमान हामीले मान्नुपर्ने हो ? फलानाले भन्यो त्यसभन्दा अरु केही पनि हुँदैन । यस्तो हुँदैन । लोकतन्त्रमा कानुसम्मत ढंगले तर्कसंगत ढंगले तथ्यसंगत ढंगले ठूल्ठूला लडाइँ, देश–देशका लडाइँ संवादबाट सहमतिबाट टुंगिन्छ । त्यसका विधि हुन्छ, प्रक्रिया हुन्छ । तर यहाँ त बलजफ्तीको कुरा छ । त्यही पनि हामी भनिरहेका छौँ । आउनुस् कुरा गरौँ छलफल गरौँ ।

अब ल्याएपछि एउटा सोधुँ अलिकति । डाक्टर केसीको स्वास्थ्य परीक्षण, ब्लड परीक्षण गर्यो भने के बिग्रिन्छ भनेर उहाँहरु आतंकित हुनभयो ? आफू–आफू त गरिरहनुभएको छ, ब्लड टेस्ट सबै चिज त भइराख्या छ । अरु डाक्टरहरु कसैलाई पनि छेउछाउ पर्न नदिने । अनि सरकारको तर्फबाट हामी स्वास्थ्य परीक्षण गर्छौं के छ, अवस्थाभन्दा छेउमै जान नदिने । ब्लड प्रेसर नाप्न पाइँदैन । यो गर्न खोज्या के हो ?

कतिपय मान्छेहरुले सत्याग्रह भनिरहेका छन् । सत्याग्रह यस्तै पाखुरा बटारेर मुड्की हानेर हुन्छ । कस्तो सत्याग्रह हो यो ? स्वास्थ्य परीक्षण गर्न दिन्न । हाम्रो आफ्नै सर्कलबाहेक अरुलाई स्वास्थ्य परीक्षण गर्न दिन्न । बिपी चेक गर्न दिन्न । अक्सिजन लेवल जाँच्न दिन्न । हार्टबिट जाँच्न दिन्न । पल्स हेर्न दिन्न । के हो त्यो, कस्तो सत्याग्रह हो यो ?

यसकारण म के भन्छु भने नेपाललाई थितिमा हिडाऊँ । थितिमा चलाऊँ । थितिबाट अगाडि बढौँ । ननइस्युलाई इस्यु बनाएर अगाडि गएर कहीँ पनि पुगिँदैन । त्यस्ता इस्युमा नअल्झिऊँ । म डाक्टर केसीलाई भन्न चाहन्छु, डाक्टर केसी आउनुस् स्वास्थ्य, शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ तर्कपूर्ण बहस गरौँ । ल तपाईं नै जिम्मा लिनुहोस् । भनिराख्या छु म । तपाईं जिम्मा लिनुस्, लिड गर्नुस् ल आउनुस् । आयोग चाहियो भन्नुहुन्छ तपाईं नै अध्यक्ष बन्नुस् । आयोगको अध्यक्ष उहाँलाई नै बनाएर जिम्मा लाइदिने । गर्नु केही भए पो त ? के–के गर्नुपर्छ ?

(प्रधानमन्त्री ओलीले सोमबार पुष्पलाल स्मृति दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित सभालाई सम्बोधन गरेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित समय १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु