गृहपृष्ठ अब को बन्ला कानुनमन्त्री ? चर्चामा दुई भक्त
अब को बन्ला कानुनमन्त्री ? चर्चामा दुई भक्त
कानुनमन्त्रीले राजीनामा दिएसँगै नयाँ मन्त्रीका विषयमा चर्चा सुरु भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामा दिएलगत्तै जिम्मेवारी कसले पाउला भन्ने चर्चा चलेको हो ।
मन्त्री पद पाउन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का धैरै सांसदले लबिङ थालिसकेका छन् । बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राबारे अमर्यादित अभिव्यक्ति दिएपछि विवादमा तानिएका तामाङले मंगलबार दिउँसो प्रधानमन्त्रीलार्ई राजीनामा बुझाए थिए । त्यससँगै नेकपामा कानुन बुझेका केही सांसदको नाम चर्चामा आएको छ ।
नेकपाले औपचारिक रुपमा कुनै निर्णय नगरिसके पनि चितवनका सांसद कृष्णभक्त पोखरेल र मोरङका सांसद भानुभक्त ढकालको नाम चर्चामा आएको हो । यी दुई नेतामध्ये पोखरेलको सभावना बढी देखिएको नेकपा स्रोतको दाबी छ । पदबाट राजीनामा दिएका तामाङ पार्टीमा माधवकुमार नेपाल पक्षका हुन् । पोखरेल पनि नेपालनिकटकै भएकाले नेता नेपालले उनलाई सिफारिस गर्ने देखिएको छ ।
प्रतिनिधिसभा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित ढकाल भने नेकपा अध्यक्ष तथा प्रधामनमन्त्री केपी शर्मा ओलीनजिकका हुन् । ढकाल ओलीका विश्वासपात्र भर्इकन पनि तामाङको ठाउँमा रिप्लेसका लागि नेता नेपाल समूहबाटै पोखरेलको सम्भावना बलियो रहेको नेताहरु बताउँछन् ।
सांसद पोखरेल किन ?
तत्कालीन नेकपा एमालेका चितवन जिल्ला अध्यक्ष पोखरेल २० वर्ष वकालत गरेका वरिष्ठ अधिवक्तासमेत हुन् । चितवन बारका अध्यक्षसमेत रहेर लामो समय काम गरेका उनी मुलुकको संविधान बनाउन महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन् । उनी ११ सदस्यीय संविधान मस्यौदा कार्यदलका सदस्यसमेत थिए ।
सांसद पोखरेल मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने कानुन अपराधसंहिता संयोजक थिए । निवर्तमान मन्त्री तामाङले गरेका कामलाई तत्काल पूर्णता दिन सक्ने क्षमता उनमा छ । असोज ३ गतेभित्र मौलिक हकसम्बन्धी सबै कानुन बनाइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
नेकपामा धेरै कानुन पढेका नेता भए पनि तत्कालका लागि कानुनमन्त्रीको जिम्मेवारी लिएर कानुन निर्माणको काम गर्ने क्षमता भएका नेता विरलै छन् । यस्तो अवस्थामा कानुन मन्त्रालयको जिम्मेवारी लिन आफू तयार रहेको सांसद कृष्णभक्त पोखरेलको भनाइ छ । ‘कानुनको विद्यार्थी शेरबहादुर तामाङलाई त सबै विषय बुझ्न चार महिना लाग्यो, कानुन निर्माणको काम जटिल छ र तत्काल सबै कानुनको ड्राफ्ट बनाउनुपर्नेछ,’ न्युज कारोबारसँग पोखरेलले भने, ‘मैले जिम्मेवारी पाएमा ६–७ दिनभित्र सबै कानुनको ड्राफ्ट तयार गर्न सक्छु ।’
सांसद ढकाल को हुन् ?
भानुभक्त ढकाल वामपन्थीको किल्ला मानिने मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् । उनी यसअघिको संसदमा एमालेका संसदीय दलको मुख्य सचेतकसमेत थिए । गएको निर्वाचनमा उनले विराटनगरका मेडिकल कजेलका सञ्चालक नेपाली कांग्रेसका सुनील शर्मालाई पराजित गरेका हुन् । कानुनका राम्रो जानकार ढकाल कानुन मन्त्रालयको जिम्मेवारी पाएमा कुशलतापूर्वक काम सम्पादन गर्न सक्षम रहेको उनी निकटका नेताहरु चर्चा गर्छन् ।
प्रकाशित समय १७:४५ बजे
















