गृहपृष्ठ ‘डा. केसी स्वतन्त्र हुँ भन्छन्, वार्ता गर्न विवेकशील खटाउँछन्’
‘डा. केसी स्वतन्त्र हुँ भन्छन्, वार्ता गर्न विवेकशील खटाउँछन्’
केसी पक्षकाे अाराेप- सरकारले अलमल्याउँदैछ
चिकित्सा शिक्षा सुधारको माग राख्दै चिकित्सक गोविन्द केसी १५ औं पटक अनशनमा छन् । अनशन बसेको २७ औं दिनमा पनि उनको माग सम्बोधन भएको छैन । उनको स्वास्थ्य अवस्था जटिल भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनी बोल्न नसक्ने र मान्छेसमेत नचिन्ने अवस्थामा पुगेका छन् ।
पटक–पटक बान्ता गरेकाले जतिबेला जे पनि हुन सक्ने भन्दै उपचारमा संलग्न चिकित्सक ‘अलर्ट’ बसेका छन् । डा. दिव्यासिंह शाहका अनुसार एक-दुई दिनमा अनसन नतोडे डा. केसी ठीक नहुने अवस्था आउनसक्छ ।
सरकार र डा. केसीका प्रतिनिधिबीच औपचारिक र अनौपचारिक वार्ता भएपनि निष्कर्ष निस्किएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सुवास नेम्वाङलाई सहमतिको पहल गर्न खटाएका थिए । उनकै पहलमा वार्ता प्रक्रिया अगाडि पनि बढ्यो । तर, हिजो निर्णायक वर्ता भनिए पनि अन्तिममा आएर विफल हुन पुग्यो । सहमतिमा हस्ताक्षर गर्न मात्र बाँकी रहेको खबर सार्वजनिक भएको थियो ।
वार्ताका लाागि सिंहदरबार पुगेलगत्तै एकाएक उल्टियो । सरकारी वार्ता टोली र डा. केसीका वार्ता टोलीबीच सिंहदरबारमा एक घण्टा बढी छलफल भएपनि निष्कर्ष केही निस्किएन । डा. केसी पक्षकाले बताएअनुसार वार्ताका क्रममा प्रमुख मुद्दामा छलफल नै भएन । वार्ता असफल हुनुमा एकले अर्कोलाई आरोप लगाएका छन् । डा. केसीका प्रतिनिधिले चिकित्सा शिक्षा विधेयक संशोधन गर्नुपर्ने २२ वटा प्रस्ताव राख्दै मन्त्रिपरिषद बैठकबाट पारित गरेर अब बस्ने संसद बैठकमा पेस गर्नुपर्ने सर्त राख्यो । डा. केसीको यो सर्त पूरा गर्न नसकिने सरकारी पक्षले जवाफ दिएपछि वार्ता असफल हुन पुग्यो ।
सरकारी वार्ता टोलीका एक सदस्यले भने, ‘सरकारले निर्णय गर्ने कुरा हैन, संसदको प्रक्रियाबाट टुंगो लगाउने विषय हो, हामीले यी विषय संसदको प्रक्रियामा लैजाउँ भन्यौ, तर उनीहरुले मन्त्रीपरिषदबाट पारित गरेर संसदमा लैजानुपर्ने अडान राखेपछि वार्ता विफल भयो, अझै छलफलमा छाैं, छिट्टै निकास निस्कन्छ । उता, डा. केसीका प्रतिनिधि अभिषेकराज सिंहले भने, ‘सरकारले विधेयकका विषयमा छलफल नै गर्न चाहेन, हलो अड्काउने काम मात्र भयो, अब कठोर निर्णय लिन्छौँ ।’
वार्ता असफल हुनुको कारण जे भनिएको छ त्यो भन्दा फरक तथ्य बाहिर आएको छ । सरकारले वार्ता असफल हुनुमा डा. केसीको तर्फबाट वार्तामा सहभागी भएकाहरुको मुख्य हात रहेको आरोप लगाएको छ । नेकपाका एक नेताले भने, ‘डा. गोविन्द केसी म स्वतन्त्र छु, कसैको उक्साहटमा अनशन बसेको हैन भन्छन् तर वार्तामा राजनीतिक दलका नेता खटाउँछन्, उनीहरूकै कारण वार्ता भाँडियो ।’
डा. केसीको वार्ता टोलीमा विवेकशील साझा पार्टीका नेता ओमप्रकाश अर्याल र सुरेन्द्र भण्डारी सहभागी थिए । उनीहरुकै कारण वार्ता भाँडिएको सरकारी पक्षको दाबी छ ।
प्रकाशित समय १०:०७ बजे
















