गृहपृष्ठ कैलालीमा विकास खर्च न्यू्न, तीन महिनामा चार प्रतिशत खर्च

कैलालीमा विकास खर्च न्यू्न, तीन महिनामा चार प्रतिशत खर्च

चालु आर्थिक वर्षको तीन महिनामा कैलालीमा विकास खर्च दयनीय देखिएको छ । कार्यालयहरुले विकासका लागि आएको बजेट कार्यान्वयन गर्न सकेका छैनन् । आर्थिक वर्षको तीन महिनामा झण्डै चार प्रतिशत मात्रै खर्च भएको छ । रानी जमरा, हुलाकी सडक आयोजना र मोहना पुल अत्तरीया सडकले केही रकम खर्च गरेपनि अन्य कार्यालयहरुले विकास बजेट खर्च गर्न सकेका छैनन् ।

कैलालीमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकासे बजेट न्युन मात्रामा खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार विभिन्न विकासे कामका लागि विनियोजित बजेटमध्ये हालसम्म ३ दशमलव ९ प्रतिशत खर्च भएको छ । कैलालीका विकासे कार्यालयहरुका लागि २ अर्ब बढीको विकास बजेट विनियोजन भएकोमा १५ करोड मात्र खर्च भएको छ । यो कुल बजेटको ३ दशमलव ९ प्रतिशत बजेट मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदनराज पाण्डेयले जानकारी दिए ।

रानी जमराका लागि दुई अर्ब १२ करोड वढी बजेट रहेकोमा ३ दशमलव ४१ प्रतिशत अर्थात ७२ करोड ११ लाख खर्च भएको छ । हुलाकी सडकका लागि ४० करोड बजेट आएकोमा १ करोड ६८ लाख अर्थात शुन्य दशमलव ४२ प्रतिशत खर्च भएको छ । मोहना पुल अत्तरीया सडक आयोजनाको प्रगति दुई कार्यालयभन्दा बढी हुँदा यसले झण्डै चार प्रतिशत मात्र खर्च गरेको छ । आयोजनाका लागि पनि ४० करोड वजेट आएकोमा ६ करोड अर्थात १७ प्रतिशत खर्च भएको छ ।

तर, चालुतर्फको बजेट भने कार्यालयहरुले साढे २५ प्रतिशत सिध्याएका छन् । चालुतर्फ २२ अर्र्ब रकम रहेकोमा ५ अर्ब ६१ करोड रकम खर्च भएको छ । विकासे कार्यालयहरु संघीय वा प्रदेश कुन सरकारको मातहतमा रहने भन्ने अन्योल कारण खर्च हुन नसकेको हो ।

कतिपय कार्यालयहरु स्थापना हुन बाँकी रहेको र कतिपय कार्यालयहरुलाई विकास बजेट खर्च गर्न अख्तियारी नपाएकाले पनि खर्च हुन नसकेको हो । पहिलो त्रैमासिकको प्रगतिलाई हेर्दा धेरैले यस वर्ष पनि विकास बजेट विगत जस्तै फ्रिज देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदनराज पाण्डेय अहिलेसम्मको प्रगति आशातित नरहेको बताए ।

प्रकाशित समय ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु