गृहपृष्ठ घुम्ती बिमाबारे के भन्छन् विज्ञ ?

घुम्ती बिमाबारे के भन्छन् विज्ञ ?

नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस)ले देशव्यापी घुम्ती बिमा कार्यक्रम सुरु गरेको छ । यसले बिमा क्षेत्रमा उत्साह छाएको छ । बिमासम्बद्ध निकाय, कम्पनी र सरोकार राख्ने व्यक्तिहरुले घुम्ती बिमा कार्यक्रम मुलुकका लागि आवश्यक कार्यक्रम भएको र यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

कसले के भने ?
साक्षरतामात्रै होइन बिमाको बजार विस्तार बढाउने कार्यक्रम हुनुपर्छ : डा. युवराज खतिवडा, अर्थमन्त्री
एनसिसले सुरु गरेको घुम्ती बिमा कार्यक्रम गैरसरकारी संस्थाको जस्तो हुनु हुँदैन । लघुबिमामा नेपालीको आकर्षण बढाउनेमात्रै नभएर बिमासँग जोड्ने काममा समेत घुम्ती बिमाको भूमिका रहोस् भन्ने मेरो ध्येय हो । कुनै पनि काम गरेपछि त्यसको परिणाम देखिनुपर्छ र मात्रै त्यो अर्थपूर्ण बन्छ । एनजिओ शैलीकै भएमा घुम्ती बिमाको प्रभाव राम्रो हुँदैन । घुम्ती बिमा कार्यक्रम चलाइरहँदा राम्रो तयारी गर्न म सुझाब दिन चाहान्छु ।बिमा साक्षरतामात्रै नभएर बिमा गर्नेको संख्या पनि बढ्न थाल्यो भने सरकारले यस्ता कार्यक्रमलाई राम्रोसँग प्रोत्साहन गर्ने छ ।

निजी क्षेत्रबाट यत्रो पहल हुनु स्वागतयोग्य – चिरञ्जीवी चापागाईं, अध्यक्ष, बिमा समिति

करिब दुई वर्षअघि करिब ८ प्रतिशतमात्रै नागरिक बिमाको पहुँचमा थिए । अहिले यस्तो प्रतिशत १७ पुगेको छ । बिमा समितिले गरेका नीतिगत तथा संरचनागत सुधारका कारण यो सम्भव भएको हो ।अब निजी क्षेत्रबाट पनि घुम्ती बिमाजस्तो कार्यक्रम सुरु हुनु सकारात्मक कुरा हो । बिमा कम्पनीहरुसँग मिलेर एनसिसले देशव्यापी अभियान सुरु गरेको छ । बिमा समितिले लिएको लक्ष्य प्राप्तिमा यो कार्यक्रमले पनि सहयोग पुर्याउने मेरो विश्वास छ । बिमा समितिले पनि जनप्रतिनिधिहरुलाई बिमाबारे बुझाउने र स्थानीय तहमा बिमामैत्री नीति बनाउन प्रोत्साहन गर्दै आएको छ । अब ग्रास रुटमै पनि एनसिसले कार्यक्रम चलाउँदा यसको प्रभाव थप बढ्छ । तर, कार्यक्रम भाषणमुखी नभएर व्यवहारमुखी हुन जरुरी छ । त्यसो भएमा कार्यक्रमको परिणाम देखिन धेरै समय कुर्नुपर्दैन ।

घुम्ती बिमा प्रभाव राम्रो हुने मेरो विश्वास छ – विजयबहादुर शाह, अध्यक्ष, विकासशील राष्ट्रका बिमा र पुनर्बिमा कम्पनीहरुको संगठन (एआइआरडिसी), पूर्वअध्यक्ष, बिमक संघ एवम् प्रमुख कार्यकारी अधिकृत, नेपाल इन्स्योरेन्स

घुम्ती बिमा कार्यक्रमअन्तर्गत साक्षरतासँगै तत्काल बिमा गर्न सकिने व्यवस्था मिलाइएको रहेछ । यसको प्रभाव राम्रोसँग पर्छ भन्ने मेरो विश्वास छ ।पहिला नागरिकलाई बिमाको महत्व बुझाउने र बिमा गर्न चाहेमा तत्कालै पोलिस सेल गर्नेसम्मको व्यवस्था बिमा क्षेत्रका लागि महत्वपूर्ण बन्न सक्छ । घुम्ती बिमा कार्यक्रममै कसैले बिमा गर्न चाहेको खण्डमा नेपाल इन्स्योरेन्स तयार अवस्थामा हुने छ । अनलाइनमार्फत कुनै पनि ठाउँबाट बिमा गर्न सकिने छ । देशव्यापी रुपमा यो कार्यक्रमलाई सञ्चालन गर्दा यसको प्रभाव निश्चित रुपमा पर्छ ।

बिमामा नेपालीलाई एकाकार गर्न घुम्ती बिमा महत्वपूर्ण– नूरप्रकाश प्रधान, कार्यकारी सदस्य, बिमक संघ, प्रमुख कार्यकारी अधिकृत, लुम्बिनी जनरल इन्स्योरेन्स

मलाई यो कार्यक्रम निकै मन पर्यो । ठाउँ–ठाउँमा बिमा साक्षरतासम्बन्धी कार्यक्रम चलाउने र कसैले बिमा गर्न चाहेको खण्डमा स्पटबाट पोलिसी दिने । मलाई लाग्छ, यो हामी सबैको कार्यक्रम हो । यो कार्यक्रमबाट हामी सबैले फाइदा लिन सक्छौं । त्यसैले यसलाई साझा कार्यक्रम सम्झिएर हामी सबै यसमा जोडिन सक्यो भने यसको प्रभाव अझ बढ्ने मेरो विश्वास छ । धेरै नेपाली बिमाबारे अज्ञानता वा अर्धज्ञानका कारण बिमासँग जोडिएका छैनन् । ती नेपालीलाई बिमासँग जोड्ने काम घुम्ती बिमाले गर्न सक्ने देखियो ।

घुम्ती बिमाबाट सबैलाई फाइदा छ– किशोरप्रसाद लामिछाने, निमित्त प्रमुख कार्यकारी अधिकृत, प्रभु लाइफ इन्स्योरेन्स
घुम्ती बिमामा प्रभु लाइफ मुख्य प्रायोजकका रुपमा जोडिएको छ । हामी सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो कार्यक्रममा जोडिएका हौं । मैले अवधारण सुनेपछि वास्तवमा यो कार्यक्रम समग्र बिमा क्षेत्रकै लागि अर्थपूर्ण र लाभदायक महशुस गरेँ । कार्यक्रम सुरु भइसकेको छ । उद्घाटन कार्यक्रममा बिमाबारे मान्छेको उत्सुकता र सहभागिताले हामीलाई पनि उत्साहित बनाएको छ । यसलाई निरन्तर र प्रभावकारी ढंगले सञ्चालन गर्न म एनसिसलाई सुझाब पनि दिन चाहान्छु ।

घुम्ती बिमा अभिकर्ताहरुका लागि पनि लाभदायक – डा. रवीन्द्र घिमिरे, बिमा विज्ञ
बिमा गर्दा हुने फाइदाबारे कम र बिमाका झन्झटबारे फैलिएको भ्रमबारे बढी जानकार भएकाले कतिपय नेपाली बिमा गर्न चाहिरहेका छैनन् । बुझाउनेले पनि बिमालाई खाली मृत्यु र क्षतिसँगमात्रै जोडिदिन्छन् । कुनै मान्छेलाई बिमा गर्न कन्भिन्स गर्न जानेको पहिलो शब्द सुनेरै बिच्कने अवस्था छ । बिमा भनेको बचत पनि हो, जोखिम हस्तान्तरण हो, सुरक्षित भविष्यको सुनिश्चितता हो । यो कुरा मान्छेलाई उसको परिवेश र भाषाअनुसार स्पष्टसँग बुझाउन सक्नुपर्छ । मलाई लाग्छ, घुम्ती बिमाको योजना नै यही हो । घुम्ती बिमा नागरिकका लागि मात्रै नभएर नागरिकलाई कन्भिन्स गर्न जाने अभिकर्ताका लागि पनि महत्वपूर्ण छ ।

घुम्ती बिमाको अवधारणा निकै मन पर्यो– श्रीमान कार्की, पूर्वकार्यकारी निर्देशक, बिमा समिति
घुम्ती बिमाको अवधारणा मलाई निकै मन पर्यो । यसलाई कसरी, कुन तरिकाले निरन्तरता दिइन्छ त्यसले नतिजा निर्धारण गर्नेछ । अवधारणा र सोचमात्रै राम्रो भएर हुँदैन, कार्यान्वयनको पाटो झन प्रभावकारी र मजबुद हुनुपर्छ । सुरुवात जुन किसिमले भएको छ यसले निरन्तरता पाएको खण्डमा बिमाको बजार विस्तारमा घुम्ती बिमा कोसे ढुंगा साबित हुने छ । बुझेर पनि बिमा नगर्ने मान्छेलाई केही भन्न र गर्न सकिँदैन । तर, नबुझेर बिमा नगरेकाहरुलाई सचेत गराउन र बिमा गराउन घुम्ती बिमाको भूमिका अहम देखिन्छ ।

घुम्ती बिमा त महाअभियान हो – विक्रान्त पाण्डे, महासचिव, निर्जिवन बिमा व्यवसायी संघ, नायव महाप्रबन्धक, नेपाल इन्स्योरेन्स
घुम्ती बिमा एउटा महाअभियान हो । यो कहिले रोकिनु हुँदैन, कतै अल्झिनु हुँदैन । एउटा व्यक्ति, समाज, बिमा कम्पनी हुँदै पूरा मुलुककै लागि घुम्ती बिमा महत्वपूर्ण बन्न सक्छ । सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक तुल्याउन सक्छ घुम्ती बिमाले । जहाँ चाहिन्छ बिमा त्यहाँ आइपुग्छ घुम्ती बिमा । एनसिसले जुन तयारीका साथ यो कार्यक्रम अगाडि बढाएको छ, यसले मचाहिँ निकै उत्साहित छु । ममात्रै नभएर समग्र बिमा क्षेत्र उत्साहित छ भन्ने लाग्छ ।

सामाजिक उत्तरदायित्वको दायरा बढाउन तयार छौं–निर्मलकाजी श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, मेट लाइफ इन्स्योरेन्स
बिमा साक्षरता बढाउने उद्देश्यले अभियान नै सञ्चालन हुने स्वागतयोग्य छ । यो कार्यक्रम दूरदराजसम्म जान सक्यो भने पक्कै नतिजा देखिन्छ । सडक नाटक, विज्ञको विचार, प्रशिक्षण, विभिन्न प्रस्तुतिमार्फत मनोरञ्जन र ज्ञान एकैसाथ दिँदा त्यो छिटो मान्छेले टिप्न सक्छन् । हामीले पनि ग्रास रुटमा साक्षरतासम्बन्धी कार्यक्रम गर्दै आएका छौं । आगामी दिनमा घुम्ती बिमासँग जोडिएर हामी पनि हाम्रो सामाजिक उत्तरदायित्वको दायरा बढाउन तयार छौं ।

हामी निस्वार्थ अघि बढेका छौं – लक्ष्मी श्रेष्ठ, अध्यक्ष, नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस)
घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान देशभर सञ्चालन गर्ने गरी उद्घाटन गरिएको छ । हामीले लामो तयारीपछि कार्यक्रम सुरु गरेका हौं । माननीय अर्थमन्त्री, विज्ञहरु, दिग्वज र अग्रज व्यक्तित्वको सुझाब, सम्बन्धित निकायको परामर्शलाई मध्यनजर गरी कार्ययोजना तयार गरेका छौं । यो कार्यक्रम सुरु गर्नुमा हाम्रो कुनै स्वार्थ छैन । हामी सरकारी कार्यक्रमलाई सहयोग गरी मुलुकप्रतिको उत्तरदायित्व निर्वाह गर्न चाहान्छौं ।

बिमाका पहुँचबाहिर रहेका नागरिकलाई यसमा जोडेर उनीहरुको सुरक्षित भविष्य सुनिश्चित गर्न चाहान्छौं । यसमा हामीले सबै पक्षको साथ र सहयोगको अपेक्षा गरेका छौं । सुरुवाती चरणमा हामीले पाएको साथ र सहयोगप्रति कृतज्ञ छौं । अहिले प्रभु लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेपाल टेलिकमलगायतका संस्थालाई हामीले प्रत्यक्ष रुपमा आर्थिक तथा नैतिक सहयोग गरी कार्यक्रमलाई अघि बढाउन मद्दत गरेका छन् । अन्य कतिपय कम्पनीले पनि हामीले नैतिकरुपमा साथ र सहयोग गरिरहेका छन् । बिमा क्षेत्रका प्रबृद्ध व्यक्तित्वले घुम्ती बिमाबाट गरेको अपेक्षा पूरा गर्ने लक्ष्यमा हामी हुने छौं । फेरि पनि सबैले साथ दिएमा घुम्ती बिमालाई हामी राष्ट्रको सबैभन्दा महत्वपूर्ण कार्यक्रम बनाउन सक्ने कुरामा विश्वस्त छौं ।

प्रकाशित समय १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु