गृहपृष्ठ केन्द्रीय तथ्यांक ब्यूरो बनाउने तयारी, प्रदेशमा छुट्टै निकाय
केन्द्रीय तथ्यांक ब्यूरो बनाउने तयारी, प्रदेशमा छुट्टै निकाय
पाँच वर्षे तथ्यांक रणनीति जारी, प्रदेशमा छुट्टै तथ्यांक परिषद् बन्ने, नयाँ तथ्यांक ऐन ल्याइने
सरकारले हालको केन्द्रीय तथ्यांक विभागलाई परिमार्जन गरेर केन्द्रीय तथ्यांक कार्यालयका रूपमा ‘नेसनल ब्युरो अफ स्टाटिक्टिस’ स्थापना गर्ने भएको छ । संविधानमा संघबाहेक प्रदेश तथा स्थानीय तहमा समेत तथ्यांकीय निकाय खुल्ने व्यवस्था भएकाले ती सबै निकायको छाता निकायका रूपमा ‘नेसनल ब्युरो अफ स्टाटिक्टिस’ गठन गर्ने तयारी गरिएको हो ।
यसै सिलसिलामा हाल कार्यान्वयनमा रहेको तथ्यांक ऐन–२०१५ लाई पनि परिमार्जन गरेर संघीय ढाँचामा नयाँ ऐन जारी गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । प्रदेश तथा स्थानीय तहमा समेत स्थापना हुने तथ्यांकीय निकायहरूलाई समेटेर नयाँ ‘राष्ट्रिय तथ्यांक परिषद्’ पुनर्गठन गरिने विभागद्वारा हालै सार्वजनिक गरिएको तथ्यांक प्रणालीको विकासका लागि राष्ट्रिय रणनीति (२०७५/७६– ०७९/८०) मा उल्लेख छ । प्रदेशस्तरमा ‘प्रदेश तथ्यांक परिषद्’ समेत गठन गरिने रणनीतिपत्रमा उल्लेख छ ।
हाल केन्द्रीय तथ्यांक विभाग राष्ट्रिय योजना आयोगमातहतको एउटा निकायका रूपमा रहँदै आएको छ । तथ्यांकका पहुँच बढाउनका लागि ‘ओपन डाटा’ प्रणालीमा जाने विभागको तयारी छ ।
प्रदेश तथा स्थानीय तहका तथ्यांकसमेत राष्ट्रिय प्रणालीमा समेटेर एकीकृत तथ्यांकीय डाटाबेस बनाउने र विभिन्न निकायहरूले जारी गर्ने तथ्यांकको दोहोरोपन हटाउन निर्धारित तथ्यांक प्रणाली लागू गर्ने तयारी सरकारको छ । हाल केन्द्रीय तथ्यांक विभाग, नेपाल राष्ट्र बैंक, भन्सार विभाग, उद्योग विभागलगायतका विभिन्न सरकारी निकायहरूले नै फरक फरक खालका तथ्यांक जारी गर्दा जनमानसमा अन्योल सिर्जना हुने गरेको छ ।
नयाँ तथ्यांकीय निकायहरू सिर्जना गर्दा जनशक्ति र प्रविधिको पनि अधिकतम प्रयोग गरिने रणनीतिपत्रमा उल्लेख गरिएको छ भने ती निकायमा कार्यरत जनशक्तिको सशक्तीकरणका लागि राष्ट्रिय तथ्यांक प्रशिक्षण तथा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना बनाइएको छ ।
प्रकाशित समय १६:०६ बजे

















