गृहपृष्ठ हरिहरपुरगढी-सिन्धुलीगढी पदमार्गको पहिलो खण्ड तयार
हरिहरपुरगढी-सिन्धुलीगढी पदमार्गको पहिलो खण्ड तयार
मदन भण्डारी मार्गको घण्टेबाट ऐतिहासिक हरिहरपुरगढी हिँडेर एक घण्टामै
समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्गको पहिलो खण्ड निर्माण पूरा गरेको छ । नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि मरिण गाउँपालिकाको सीमाना सेपाहासम्म पदमार्ग निर्माण सम्पन्न गरेको हो । पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण गरिएको हो ।
पदमार्ग निर्माणमा दैनिक १ सय जनाभन्दा बढी उपभोक्ता डेढ महिनासम्म खटिएका थिए । पदमार्ग निर्माण गर्न गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष तथा समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । घण्टेबाट सुरुभएको पदमार्ग ऐतिहासिक हरिहरपुरगढी किल्ला, जितपुरगढी, भिमगढहुँदै सेपाहा पुगेको थियो । पदमार्गको सुरुआत स्थल घण्टेमा कलात्मक प्रवेशद्वार बनाइएको छ ।
त्यस्तै खोरभञ्ज्याङ र जितपुरमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको छ । खोरभञ्ज्याङको प्रतीक्षालय घन्टे र पीपलमाढीबाट जाने पदयात्रीलाई सुविधा हुने गरी दोबाटोमा बनाइएको छ । जितपुरको डाँडामा बनाइएको प्रतीक्षालयबाट दक्षिणतिरको मरिण फाँट, चुरे र तराईको दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट उत्तरी क्षेत्रको हिमालय पवर्त शृंखलासमेत देखिन्छ । धरान–चतरा जोड्ने मदनभण्डारी लोकमार्गमा पर्ने घन्टेबाट पदमार्ग सुरु हुन्छ ।
निर्माण सम्पन्न भएको पदमार्ग असार ७ गते पूर्वमन्त्री हरिबोल गजुरेलले उद्घाटन गर्नेछन्र । पदमार्ग निर्माण गर्न गजुरेलले स्थानीय विकास साझेदारी कार्यक्रमबाट ४० लाख रुपैयाँ बजेट छुट्याएका थिए । स्थानीय उपभोक्ताले पदमार्ग निर्माण गर्न ४ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् । ‘पदमार्ग बनेपछि मदन भण्डारी लोकमार्गहुँदै यात्रा गर्नेहरू एक घण्टामै ऐतिहासिक हरिहरपुरगढी पुग्न सक्ने घिमिरेले बताए । चौधौं सताब्दीमा बनेको ऐतिहासिक किल्ला हेर्न हरेक नेपालीलाई पदमार्गले सघाउने उनको विश्वास छ ।
चौधौं सताब्दीमा बनाइएका हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोडेर पर्यटन प्रबर्धन गर्न पदमार्ग निर्माण गरिएको हो । सेपाहादेखि सिन्धुलीगढीसम्मको पदमार्ग अर्को बर्ष निर्माण गरिने अध्यक्ष घिमिरे बताए ।
हरिहरपुरगढी किल्ला हरिसिंहदेवले विक्रम संवत १३८१ मा बनाएका थिए । बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालित राजा हरिसिंह सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए । त्यही किल्लाले राज्यको रूप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भन्न थालियो ।
झण्डै ७ सय बर्षअघि बनेको यो किल्ला पुरानै स्वरुपमा जस्ताको तस्तै छ । बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । यी दुई स्थल पदमार्गले जोड्न सकिने आफ्नो अध्ययनले देखाएको घिमिरेले बताए । अभियानका संयोजक लीलानाथ घिमिरेसहित प्राविधिक, समाजशास्त्री, पत्रकारलगायत ८ जनाको टोलीले गत महिना पदमार्गको अध्ययन गर्न हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म ७ दिन लगाएर यात्रा गरेको थियो ।
सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष विजयोत्सव मनाइन्छ ।
अभियानले पदमार्गमा पर्ने गाउँवस्तीमा घरबास (होमस्टे) प्रबर्धनमा पनि सघाउने छ । ‘हामी पदमार्गमा पर्ने बस्तीहरुमा होमस्टे सञ्चालन गर्न स्थानीय बासिन्दालाई तालिम दिने छौं,’ अर्का अभियन्ता सौरभ ढकालले भने, ‘होमस्टेमा बसेर, स्थानीय परिकार खाँदै, स्थानीय जातजाति र तिनका कला संस्कृति अवलोकन गर्दै यात्रा गर्ने अबसर एकिकरण पदमार्गले दिने छ ।’
हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्मको मुख्य पदमार्ग, सहायक मार्ग, चक्रीय मार्गको पहिचान पनि अभियानले गरेको छ । म्ख्य पदमार्गको लम्बाइ ७५ किलोमिटर छ । उक्त दुरी पार गर्न ७ दिन लाग्छ । थोरै दिन हिँड्न चाहनेहरु सहायक मार्ग, चक्रिय मार्गमा यात्रा टुंग्याउन सक्छन् ।
नेपाललाई चिनाउने ऐतिहासिक स्थललाई जोडेर तिनको प्रर्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर देशकै आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउन अभियान लागेको अभियन्ता दीपक श्रेष्ठले बताए । अभियानले यस पदमार्गमा यसै बर्ष यस खण्डमा पदयात्रीलाई घुमाउन लैजाने योजना रहेको उनले सुनाए ।
अभियानले पदमार्गको प्रवर्धन गर्न डकुमेन्ट्री बनाएको छ । श्रव्यदृष्य समाग्री समेटिएको वेबसाइट हरिहरपुरगढी डटकम पनि यसै अवसरमा सुरु गरिएको छ । यस वेबसाइटमा पदमार्गको भिडियो, हरिहरपुरगढीबारे जानकारी, बाटोमा पर्ने गन्तव्यहरु र तस्बिरहरु समेटिएका छन् ।
प्रकाशित समय १५:४४ बजे


















