गृहपृष्ठ अझै आधामात्रै क्षमतामा चल्छन् उद्योग

अझै आधामात्रै क्षमतामा चल्छन् उद्योग

Industry_NewsKarobar

देशमा विद्युत्को निरन्तर उपलब्धता बढेपछि उद्योगहरूले आफ्नो क्षमता उपयोग केही बढाए पनि अझै जडित क्षमता पूर्ण रूपमा सञ्चालन हुन नसकेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको गत आर्थिक वर्ष २०७५/७६ को अर्द्ध–वार्षिक अवधि आर्थिक गतिविधि अध्ययनअनुसार देशभरिका उद्योगहरूको औसत क्षमता उपयोग ६० प्रतिशतमात्र छ । गत वर्षको यसै अवधिमा ती उद्योगको औसत क्षमता उपयोग ५८ प्रतिशत रहेको थियो ।

यसले देशमा औद्योगिक वातावरण अझै कमजोर नै छ भन्ने संकेत मिल्छ । आयातको धनराशि बढेर १३ खर्ब रुपैयाँ नाघेका बेला स्वदेशी उद्योगहरू कम क्षमतामा चल्दा त्यसको असर भुक्तानी सन्तुलनमा पनि पर्छ ।

प्रमुख निर्यातजन्य वस्तुहरूमध्ये पश्मिना, वनस्पति घिउ र प्रशोधित चियाको उत्पादन बढे पनि गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात् ३२.१ प्रतिशत मात्र रहेको देखिएको छ । यसको असरले देशको निर्यातबाट आयमा असर पार्छ । यो वर्षको ११ महिनामा देशबाट ८७ अर्ब ८३ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

यो अवधिमा आफ्नो जडित क्षमता धेरै उपयोग गर्ने उद्योगहरूमा पश्मिना, बियर, वनस्पति घिउ, फलामको रड, प्रशोधित चिया, खानेतेल र चाउचाउ उद्योग परेका छन् । पश्मिना उद्योग आफ्नो क्षमताको करिब ९८ प्रतिशत चलेको देखिए पनि यो गत वर्षभन्दा घटेको हो । गत वर्षको यही अवधिमा पश्मिन उद्योग लगभग सतप्रतिशत क्षमतामा चलेका थिए ।

बियर उद्योगहरूले आफ्नो क्षमताको ८९ प्रतिशत उत्पादन गरेका छन् । बियर उद्योगहरूको जडित क्षमता ५ करोड ७२ लाख लिटर भएकोमा तिनले ५ करोड ९ लाख लिटर उत्पादन गरेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख गरिएको छ ।

यो अवधिमा खानेतेल उद्योगहरूले ६४ दशमवलव ७७ प्रतिशत, प्रशोधित चिया उद्योगले ६४ दशमवलव ९४ प्रतिशत, चाउचाउ उद्योगले ६४ प्रतिशत, हल्का पेयपदार्थ उद्योगले ६१ दशमवलव ७७ प्रतिशत क्षमता उपभोग गरेका छन् ।

देशभरिका चाउचाउ उद्योगका जडित क्षमता ५ करोड ६० हजार मेट्रिक टन रहेकामा तिनले ३ करोड २० लाख ५३ हजार मेट्रिक टन उत्पादन गरेका छन् । गत वर्षका तुलनामा यस वर्ष चाउचाउ उद्योगका क्षमता उपभोग भने घटेको छ ।

निर्माणजन्य उद्योगहरू सिमेन्ट र फलामे डन्डीको क्षमता उपयोग घटेको देखिन्छ । यसले निर्माण क्षेत्रमा आएको सुस्सतालाई प्रतिबिम्बत गरेको छ ।

राष्ट्र बैंकको अध्ययनले समेटेका उद्योगमध्ये वनस्पति घिउ तथा तेल, अन्न तथा पशुदाना, प्रशोधित दूध, अन्य खाद्य पदार्थ, चुरोट, सिन्थेटिक कपडा, पश्मिना, गार्मेन्ट, रोजिन, विजुलीका तार र केबुलको उत्पादनमा कमी आएको छ । मदिरा, वियर, हल्का पेय पदार्थ, धागो, जुटका सामान, प्रशोधित छाला, चिरेको काठ, कागज तथा कागजका उत्पादन, प्लाष्टिकका सामान, धातुका उपकरण आदिको उत्पादनमा वृद्धि भएको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार पेय पदार्थ समूहको उत्पादन ११.४ प्रतिशत, जुटका सामान १३.३ प्रतिशत, चिरेको काठको उत्पादन २६.१ प्रतिशत, कागज तथा कागजका उत्पादन ५०.५ प्रतिशत, प्लास्टिकको सामानको उत्पादन १.५ प्रतिशतले बढेको छ भने वनस्पति घिउ तथा तेल ७.० प्रतिशत, दुग्ध पदार्थ ९.८ प्रतिशत, अन्न तथा पशुदाना समूहको उत्पादन ५.७ प्रतिशत, अन्य खाद्य पदार्थ समूहको उत्पादन ३.४ प्रतिशत र चुरोटको उत्पादन १२.३ प्रतिशतले कमी आएको छ ।

यस्तै, तयारी कपडा ५१.४ प्रतिशत, रोजिनको उत्पादन ९९.२ प्रतिशत तथा विजुलीको तार र केबुल उत्पादनमा १.७ प्रतिशतले कमी आएको छ ।

प्रकाशित समय १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु