गृहपृष्ठ सेवामा स्तरोन्नति गर्दै टेलिकम, अप्टिकल फाइबर विस्तार तीव्र

सेवामा स्तरोन्नति गर्दै टेलिकम, अप्टिकल फाइबर विस्तार तीव्र

काठमाडौं– नेपाल टेलिकमले आफ्ना सेवा स्तरोन्नति गर्दै गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तीव्रता दिएको छ । २०७५ असार मसान्तसम्म चार सय किलोमिटर एडीएसएस अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य लिएकोमा वैशाखसम्ममा तीन सय ७५ किलोमिटर जडान भइसकेको कम्पनीले जनाएको छ । अब असार मसान्तसम्ममा थप एक सय ७५ किलोमिटर नेटवर्क जडान हुनेछ ।
आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिक अवधिमा बाँकी चार सय ५० किलोमिटर थप जडान कार्य सम्पन्न गरी१ हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य टेलिकमको छ ।
हालसम्म टेलिकमले वसन्तपुर– तिरतिरे– पिलुवा– चैनपुर– तुम्लिङटार– खाँदबारी, हिले– भोजपुर, डडेल्धुरा– दिपायल, दिपायल– सिलगढी– साँफेबगर– मंगलसेन र लमही– तुलसीपुरमा नेटवर्क विस्तार गरिसकेको छ । त्यसैगरी, तामाकोसी पुल– खिम्ती– मन्थली– सिन्धुलीबीचको ११५.८ किलोमिटरमध्ये ९० किलोमिटर सम्पन्न भएको छ भने बेनी– जोमसोमबीचको ११३.४४ किलोमिटर रुटमध्ये ९५ किलोमिटरमा अप्टिकल फाइबर जडान कार्य सम्पन्न भइसकेको छ ।
यस्तै बुड्डी– बिजगौरी, तौलिहवा– मर्यादापुर, डण्डाबजार– चोरमारा, तौलिहवा– बहादुरगन्ज र कोहलपुर– लम्कीलाई जोड्ने १६३.२ किलोमिटर लामो अन्डरग्राउन्ड अप्टिकल फाइबर नेटवर्क हाल जडान तथा परीक्षण सम्पन्न भई सञ्चालनको तयारीमा छ । त्यस्तै केरखा– कोरोबारी र गौरादह– कोहोबारा जोड्ने अप्टिकल नेटवर्क जडान सम्पन्न भई स्प्लाइसिङ र टेस्टिङको चरणमा छ । स्याफ्रुबेँसी–रसुवागढी १५ किलोमिटरमध्ये १० किलोमिटर ट्रेन्चिङ र डक्टिङ कार्य सम्पन्न भइसकेको छ भने बाँकी खण्डमा ट्रेन्चिङ र डक्टिङ कार्य भइरहेको टेलिकमले जनाएको छ ।
अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकाम र विभिन्न जिल्लाका नगरपालिका तथा सहरोन्मुख क्षेत्र जोडिनेछन् । टेलिकमले पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेलधुरा, डोटी, अछाम र बैतडीलाई अप्टिकल फाइबर नेटवर्कमा आबद्ध गराएको हो । यसबाट हाल सञ्चालनमा रहेका ३८ एक्सचेन्ज, ३४ बीटीएस र १९ रिपिटरहरुमा अप्टिकल फाइबर जोडिनेछन् ।
हालसम्म नेपाल टेलिकमले ५७ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिसकेको छ । चालू आयोजना सम्पन्न हुँदा ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार कार्य सम्पन्न हुने टेलिकमले जनाएको छ । मुलुकभरका ७७ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य पूरा गर्न बाँकी १३ जिल्लामा हाल सर्भे कार्य प्रारम्भ भइसकेको छ । यी जिल्लामा उपयुक्त प्रविधि प्रयोग गरी चरणबद्ध रुपमा कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ ।
टेलिकमले यसअघि नै विभिन्न चरणमा पाल्पा, पर्वत, बागलुङ, उदयपुर, सुर्खेत, धनकुटा, तेह्रथुम, सल्यान, म्याग्दी, गोर्खा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, स्याङ्जा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, लमजुङ र रसुवाका सदरमुकामलाई अप्टिकल फाइबर नेटवर्कमा जोडिसकेको छ । अप्टिकल फाइबर नेटवर्क विस्तार भएपछि कम्पनीको भ्वाइस र डाटा सेवा गुणस्तरीय हुनेछ । कम्पनीको ब्याकबोन प्रसारण निर्देशनालय, अप्टिकल आयोजना कार्यान्वयन विभागले यो योजना अघि बढाएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

प्रकाशित समय १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु