गृहपृष्ठ नक्कली बिजक बनाएर ८७ लाखको कर छली

नक्कली बिजक बनाएर ८७ लाखको कर छली

rajaswa-newskarobar

वस्तु तथा सेवा खरlद नै नगरी मूल्य अभिवृद्धि कर (भ्याट) को झुटा तथा नक्कली बिजक बनाएर लाखौँको राजस्व छली गरेको तथ्य फेला परेको छ । यसरी कर छली गर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-११ का रामप्रसाद चौलागाईं र सोही जिल्लाको चौंरीदेउराली गाउँपालिका-५ का रामकृष्ण ढकाल रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

झुटा बिजक बनाएर उनीहरुले झन्डै ८७ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरुविरुद्ध बिगोको दोब्बर जरिवाना तथा तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको छ । मैनालीका अनुसार उनीहरूले कम्पनीमार्फत राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसुर गरेकाले मुद्दा चलाइएको हो ।

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-११ घर भई काठमाडौँ महानगरपालिका-९ बस्ने प्रभा इन्टरप्राइजेजका सञ्चालक रामप्रसाद चौलागाईँले ५९ लाख रुपैयाँ र सोही जिल्लाको चौंरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-३२ बस्ने जिपिसी ट्रेडर्सका सञ्चालक रामकृष्ण ढकालले झन्डै २८ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको विभागले जनाएको छ । (रासस)

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु