गृहपृष्ठ कपुरधारामै छैन खानेपानीको धारा
कपुरधारामै छैन खानेपानीको धारा
खानेपानी तथा ढल निकास विभागनजिकै खानेपानीको धारा छैन भन्दा सुन्नेलाई अनौठो लाग्नसक्छ तर काठमाडौँ महानगरपालिका २६ कपुरधाराको अवस्था भने यस्तै छ ।
खानेपानीको धारा नभए पनि पहिले जमीनमुनिबाट पानी निकालिन्थ्यो । पहिले ६० फिटमै पानी आउने भए पनि हाल १२० फिट तल जाँदा पनि पानी नआउने गरेको स्थानीय लक्ष्मण शाहीले गुनासो गरे । खानेपानीको धारा जडान नभएको र जमीनमुनिको पानी समेत आउन मुस्किल हुने गरेकाले परिवेश मिनरल वाटर कम्पनीबाट लिन बाध्य हुनुपरेको स्थानीयवासीको दुःखेसो छ ।
स्थानीयवासी मासिक एक हजार रुपैयाँ तिरेर कम्पनीबाट पानी लिन बाध्य छन् । खानेपानी समस्या समाधानका लागि पूर्व वडाध्यक्ष वर्षाराम भण्डारीका पालादेखि नै अनुरोध गर्दै आए पनि समाधान हुन नसकेको शाहीले बताए ।
विभाग रहेको पानीपोखरीबाट नजिकै रहे पनि यहाँका १६० घरमा खानेपानीको धारा नभएको वडाध्यक्ष ख्यामराज तिवारीले स्वीकार गे । समस्या समाधानका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सबै घरमा धारा जडान गर्ने गरी बोलपत्र आह्वान गरेकाले केही समयमै समस्या समाधान हुने उनको भनाइ छ । (रासस)
प्रकाशित समय १६:१० बजे

















