गृहपृष्ठ कोरोना भाइरसका कारण दोस्रो आन्तरिक पर्यटन मेलाको मिति सर्यो
कोरोना भाइरसका कारण दोस्रो आन्तरिक पर्यटन मेलाको मिति सर्यो
फागुन ९ र १० गते आयोजना हुने भनिएको आन्तरिक पर्यटन मेलाको मिति सरेको छ । चीनमा कोरोना भाइरस फैलिएपछि पर्यटन व्यवसायमा परेको असरका कारण मेलाको मिति सारिएको नेपाल इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।
मेला आगामी जेठ १६ र १७ गते मेला आयोजना हुने म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिए । चीनमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण नेपालमा विभिन्न भ्रमहरु फैलिएकाले मेला सार्नु परेको उनको भनाइ छ । ‘मेलाको सबै तयारी अन्तिम चरणमा पुगिसकेको छ । कोरोना भाइरसको प्रभावकै कारणले मात्र मिति सर्नुपरेको हो,’ उनले भने ।
हालसम्म ७३ वटा स्टल बुकिङ भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए । ‘गत वैशाखमा आयोजित मेलामा ११५ स्टलहरु बुकिङ भएको थियो । यसपालि १५० पुर्याउने लक्ष्य छ,’ म्यानेजमेन्टले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने । मेलालाई व्यवस्थित बनाउन सल्लाहकार समिति, गुडवील एम्बेस्डर, ब्राण्ड एम्बेस्डर, प्रचारप्रसार संयोजक, मिडिया संयोजक र अन्तर्राष्ट्रिय विभागलगायत विभागहरु गठन भइसकेको उनले जानकारी दिए ।
उनका अनुुसार मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य तथा ७ वटै प्रदेशका स्थानीय परिकार, हस्तकलाका सामग्रीको व्यावसायिक स्टलहरु राखिनेछ । त्यस्तै र्याफ्टिङ, बञ्जीजम्प, जिपफ्लायर, केवलकार, प्याराग्लाइडिङजस्ता साहसिक खेलहरु मेलाका आकर्षण हुनेछन् । यसबाहेक मेलामा राष्ट्रिय कला तथा संस्कृतिको प्रदर्शनी, विभिन्न जातजातिका संस्कृति झल्कने झाँकी र नृत्यहरु पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
पर्यटन विज्ञ आङछिरिङ शेर्पाले कोरोना भाइरसको कारण पर्यटन क्षेत्रमा देखा परेको प्रतिकुल अवस्थामा मेला सार्नु उपयुक्त रहेको उल्लेख गरे । ‘जाडोमा भन्दा गर्मी याममा पर्यटक बढी आउने भएकाले यस समय उपयुक्त छ,’ शेर्पाले भने ।
‘पहिला देश, अनि विदेश’ मूल नारा रहेको मेलाले मोफसलमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकको विश्वास छ । पर्यटकीय क्षेत्रहरुको विकासका लागि देशभर पर्यटनमैत्री वातावरण सिर्जना गराउनु मेलाको उद्देश्य रहेको म्यानेजमेन्टका संयोजक माधवप्रसाद सुवेदीले बताए । ५० हजार जनाले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
प्रकाशित समय १७:२० बजे

















