गृहपृष्ठ कोभिड-१९ र नेपालको सेयर बजार
कोभिड-१९ र नेपालको सेयर बजार
नोबेल कोरोनाभाइरस (कोभिड-१९)बाट विश्व अर्थतन्त्रका कुनै क्षेत्रमा तत्काल असर देखिएका छन् भने कुनै क्षेत्रमा दीर्घकालीन प्रभावको संकेत देखिएका छन् । कोरोनाबाट विश्व अर्थतन्त्र प्रभावित भइरहँदा ‘अर्थतन्त्रको ऐना’ सेयर बजारले भने तीव्र गतीमा नकारात्मक दिशा समातिरहेको छ । अर्थात्, विश्व सेयर बजारले तत्काल प्रतिक्रिया जनाइसकेकोे छ ।
न्युयोर्क स्टक एक्सचेन्ज, नास्डाक, टोक्यो स्टक एक्सचेन्ज, सांघाई स्टक एक्सचेन्जलगायत विश्वका ठूला सेयर बजार परिसूचक उच्च बियरिस ट्रेन्डमा छन् । लगानीकर्ताले सेयर बजारबाट बाहिरिँदै सरकारी ऋणपत्र र सुनमा पैसा हालेका छन् । सेयर आपूर्ति बढ्नु तथा ऋणपत्र र सुनको माग बढ्नुले यसलाई सहज पुष्टि गर्छ ।
विश्व सेयर बजारमा पहिरो गइरहँदा नेपालको सेयर बजारमा पनि उच्च उतारचढाव आइरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छोटो अवधिमै करिब ५०० अंकको उतारचढाव आएको छ । १११० अंकबाट उचालिन थालेको नेप्से १६०० अंक पार गरेर फेरि १३०० हाराहारीमा झरेको छ । नेपालको सेयर बजारमा गएको ‘पहिरो’लाई कतिपयले कोरोनासँग जोडेका छन् ।
नेपालको बाह्य व्यापार सम्बन्ध
अहिले विश्व अर्थतन्त्र डगमगाइरहेका बेला त्यसको असरबाट नेपाल पनि अछुतो रहन सक्दैन । नेपालको पर्यटन क्षेत्रले चार अर्ब क्षति व्यहोरिसकेको र अझ ठूलो क्षति व्यहोर्ने आंकलन भइसकेको छ ।
अन्तर्राष्ट्रिय व्यापारमा ठूलो गतिरोध आउने अंकट्याडले जनाएको छ । यसको प्रभाव नेपालको बाह्य व्यापारमा पनि पर्न थालिसकेको छ । चीनसँगको व्यापार ठप्प भएको छ । माघ दोस्रो सातादेखि केरुङ र तातोपानी नाका बन्द छन् । सुक्खा बन्दरगाह तथा वीरगन्ज र विराटनगरको तथ्यांक आएपछिले चीनसँगको बाँकी व्यापारको अवस्था निर्क्याैल हुनेछ ।
हालसम्म विश्वका १२७ देशका सवा लाख नागरिक कोरोनाबाट संक्रमित भएका छन् । करिब ४ हजारको मृत्यु भइसकेको छ । तर, विश्व बजारमा बृहत स्थान बनाइसकेको भारतमा पनि यसको प्रभाव बढ्दै गएको छ ।
नेपालमा हालसम्म ‘शून्य संक्रमण’को स्थिति छ । यो तथ्यले नेपाल-भारत व्यापार खासै प्रभावित नहुने देखिन्छ । तर, कतिपय वस्तु आयातमा रोक लगाएको भारतले आन्तरिक खपतका लागि निर्यात व्यापारमा नियन्त्रण सुरु गरेमा नेपालको बाह्य व्यापार ठप्प हुनसक्छ । किनकि नेपालको बाह्य व्यापारमा भारतसँगको हिस्सा करिब ७० प्रतिशत छ ।
सेयर बजारमा पैसा
विषम परिस्थितिमा पनि नेपालको सेयर बजार उकालो लागेका उदाहरण धेरै छन् । नेपालले २०७२ साल वैशाखमा महाभूकम्पको सामना गरेकै वर्ष सेयर बजार उचालिन थाल्यो र २०७३ साउनमा इतिहास कायम भयो । त्यसबेला लगानी वातावरण बिग्रिएकाले सेयर बजारमा पैसा आएको विश्लेषण भएको थियो ।
अहिले बाह्य व्यापार प्रभावित भएसँगै नेपाली उद्योगका लागि अनुकूल समय आउनसक्थ्यो । नेपाली उद्योगले आन्तरिक खपतका लागि उत्पादन बढाउने अवसर पाउन सक्थे । तर, विदेशी कच्चा पदार्थमा पालिएका नेपाली उद्योग यो अवस्थामा उत्पादन बढाउन पनि असमर्थ हुनेछन् । फलतः ब्याजदर घटेको मौका छोप्दै सेयर बजारमा पैसा खन्याउन नेपाली उद्योगी उद्यत् हुने विश्लेषण हुन थालेको छ । चीनसँग मात्रै व्यापार नहुँदा पनि उद्योगी व्यापारीले सेयर बजारमा पैसा हालेको आंकलन भइरहेको छ ।
ब्याजदर स्थिति
उद्योग र व्यापार क्षेत्रमा लगानी कम हुन थालेसँगै वित्तीय क्षेत्रमा तरलता बढेको छ । यससँगै वाणिज्य बैंकहरुले ब्याजदर घटाएका सूचना सार्वजनिक गर्न थालेका छन् । वाणिज्य बैंकहरुले बचतको औसत ब्याजदर ६ बाट ५ प्रतिशतमा झारेका छन् भने मुद्धतिमा ९ बाट ८ प्रतिशतमा झारेका छन् ।
नबिल र प्रभु बैंकले व्यक्तिगत मुद्धति निक्षेमा ९.३ र संस्थागतमा ८.५ प्रतिशत ब्याजदर तोकेका छन् । बचततर्फ ३.३ देखि ५.३ भित्र छ । एनएमबी र सानिमा बैंकले पनि व्यक्तिगत मुद्धति निक्षेपमा ९.३ र संस्थागतमा ८.६ तथा बचततर्फ ४.५ देखि ६.५ प्रतिशत ब्याजदर बनाएका छन् ।
सनराइज बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा ब्याजदर ९.३ र संस्थागतमा ८.५ तथा बचतमा ४.५ देखि ६.५ सम्म ब्याज दिनेछ । त्यस्तै एभरेस्ट ग्लोबल आइएमई, प्राइम, लक्ष्मी, नेपाल एसबिई बैंकलगायतले पनि ब्याजदर घटाएका छन् ।
ब्याजदर र सेयर बजारबीच विपरीत सम्बन्ध हुने भएकाले ब्याजदर घट्दा सेयर बजारमा सकारात्मक प्रभाव पर्छ । त्यसैले ब्याजदर घटेकाले सेयर बजार बढ्ने अपेक्षामा खरिद चाप बढ्न सक्ने विश्लेषकहरु बताउँछन् । विश्व सेयर बजार परिदृश्यले नकारात्मक दिशा समातिरहेका बेला नेपालको सेयर बजारले बुलिस ट्रेन्ड समाउन सक्ने केही आधार यिनै हुन् ।
प्रकाशित समय १७:१३ बजे

















