गृहपृष्ठ प्रदेश २ : कोरोना नियन्त्रणका लागि २ अर्ब निकाशा

प्रदेश २ : कोरोना नियन्त्रणका लागि २ अर्ब निकाशा

province-2_newskarobar

प्रदेश नं २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि दुई अर्ब खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई अर्ब रुपैयाँ रकम निकासा गरेको हो ।

चालू आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसबाट कोरोना रोकथाम तथा नियन्त्रण प्रयोजनका लागि दुई अर्ब रुपैयाँ निकासा भएको र सो रकम खर्च भइरहेको आर्थिक मामिलामा तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

सचिव श्रेष्ठका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्न सामाजिक विकास मन्त्रालयअन्तर्गत ८६ करोड रुपैयाँ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई १० करोड ४५ लाख रुपैयाँ पठाइएको छ । यस्तै लकडाउन प्रभावितलाई राहत बाँड्न उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई ३३ करोड ७० लाख रुपैयाँ र भूमि व्यवस्था तथा कृषि मन्त्रालयलाई ३६ करोड रुपैयाँ निकासा गरिएको छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई एक करोड रुपैयाँ तथा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको चार वटा डिभिजनलाई २५–२५ लाख रुपैयाँका दरले पैसा पठाइएको सचिव श्रेष्ठले बताए । यसबाहेक प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ कोषमा २५ करोड रुपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

कोभिड कोषबाट धनुषाको नगराइन नगरपालिकाको गङ्गुलीस्थित क्वारेन्टाइन मर्मतसम्भारका लागि नेपाली सेनालाई ५० लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको छ । यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई औषधि, उपकरण र क्षमता अभिवृद्धिका लागि कोषबाट १० लाख रुपैयाँ दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्रेष्ठले बताए ।

कोरोना रोकथाम, नियन्त्रण, उपचार काममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सवारी चालक, पत्रकारलगायत व्यक्तिहरुका ज्यान गएमा ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय प्रदेश सरकारले गरिसकेको छ । सचिव श्रेष्ठले आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम निकास गरे पनि हालसम्म खर्च भएको विवरण आइनसकेको बताए । ‘कोरोना महामारीका लागि रकम निकासा गरिएको हो, काम भइरहेको छ । चालू आर्थिक वर्षको बजेटबाट रकम निकासा भएकाले जेठ मसान्तसम्म खर्च भएको रकमबाहेक सबै सरकारी कोषमा फिर्ता आउँछ,’ श्रेष्ठले भने ।

कोरोना संक्रमणको जोखिमका हिसाबले प्रदेश नं २ लाई सबैभन्दा बढी संवेदनशील मानिएको छ । भारतसँगको खुला सीमा र वैदेशिक रोजगारमा जानेहरुको सङ्ख्या प्रदेश नं २ बाटै बढी भएकाले यस प्रदेशलाई उच्च जोखिमका रूपमा हेरिएको हो । (रासस)

प्रकाशित समय ०७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु