गृहपृष्ठ नेपाललाई धमाधम नयाँ शीर्षकमा ऋण स्वीकृत गर्दै विश्व बैंक
नेपाललाई धमाधम नयाँ शीर्षकमा ऋण स्वीकृत गर्दै विश्व बैंक
विश्व बैंकद्वारा नेपाललाई थप ५४ अर्ब ऋण
विश्व बैंकले नोबल कोरोना भाइरस महामारी (कोभिड–१९) महामारीपछिको आर्थिक पुनर्बहालीका लागि भन्दै थप ५४ अर्ब २८ करोड रुपैयाँ (४५ करोड अमेरिकी डलर)को ऋण सहयोग स्वीकृत गरेको छ ।
याे सहित बैंकले कोभिड–१९ महामारीपछि फरक-फरक शीर्षकमा दिएको सहयोग १ खर्ब ३० अर्ब पुगेको छ । यसअघि बैंकले नेपाललाई कोरोना भाइरस महामारीलगत्तै फरक–फरक शीर्षकमा करिब ७२ अर्ब रुपैयाँबराबरको ऋण सहयोग स्वीकृत गरिसकेको छ ।
बैंकले आफ्नो सहायता प्राथमिकतालाई कोभिड-१९ पछि पुनःप्राथमिकीकरण गरि नयाँ शीर्षकमा सहयोग स्वीकृत गरिरहेको हो । नयाँ शीर्षकमा पुरानै बजेटरी सहयोगलाई पनि कोभिड-१९ पछिका आर्थिक सुधार र पुनर्बहालीसँग जोड्ने गरिएको छ ।
नयाँ थपिएको ऋण सडक क्षेत्र सुधारका लागि र सीमापार व्यापार, बढी रोजगारी तथा उत्तम सडक सुरक्षासहितको कोभिड–१९पछिको आर्थिक पुनर्बहालीका लागि प्रदान गरिएको बैंकले जनाएको छ ।
‘कोभिड १९ का सन्दर्भमा नागरिकको ज्यान जोगाउनु प्राथमिकता हो भने सँगसँगै आर्थिक सुधारमा पनि जोड दिइनु उत्तिकै आवश्यक छ,’ नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारि हदाद जर्भोसले भने, ‘हाम्रो सहयोगबाट नेपालले सडकलाई सुरक्षित तुल्याउने तथा मानिस तथा वस्तुको आगमनमा सहजीकरण, रोजगारी सिर्जना तथा स्थानीय उत्पादन र सेवाको माग सिर्जनाबाट नेपालको कोभिड–१९ पछिको पुनबर्हालीका लागि सहयोग पुर्याउने छ ।’
यो सहयोगबाट सञ्चालन हुने रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजनाअन्तर्गत नागढुंगा–नौबिसे–मुग्लिङ सडकको सुधार तथा कमला–ढल्केवर–पथलैया सडकको स्तरोन्नति गरिनेछ । दुवै सडक खण्ड भारत तथा अन्य मुलुकसँगको सम्पर्क र व्यापारका लागि महत्वपूर्ण भएको बैंकले जनाएको छ ।
आयोजनाले सीमा नाकाहरूमा व्यापारका सीमितताहरूलाई सुधार गर्न तथा कृषि निर्यातलाई प्रोत्साहन गर्नेगरि पूर्वाधार, सुविधा र सरसफाईका सेवामा सुधार गर्ने पनि बैंकले जनाएको छ । कोभिड–१८ महामारीका बीचमा यो आयोजनाले सीमा क्षेत्रमा वस्तु तथा मानिसहरूको जाँचबुझ प्रक्रियामा सहयोग गर्ने तथा सुरक्षित दूरी, दूरकार्य प्रणालीजस्ता विशिष्ट कार्य व्यवस्थाहरूका लागि मार्गदर्शन विकास गर्ने समेत बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार आयोजनाले राष्ट्रिय सडक सुरक्षा परिषद र सडक विभागलाई सुदृढीकरण गर्नेछ भने मुलुकका अतिव्यस्त हुने सडकहरू तथा रणनीतिक महत्वका सडक सञ्जालको आवधिक मर्मतसम्भारमा पनि सहयोग पु¥याउने छ । यसमा संकटकालीन प्रतिकार्य तथा पुनर्बहालीका लागि परियोजनाका कोषहरूलाई पुनःप्राप्त गरी संकटकालीन प्रतिकार्यमा प्रयोग गर्न सकिने व्यवस्थासमेत गरिएको छ ।
प्रकाशित समय १२:४५ बजे

















