गृहपृष्ठ झन्डै दुई खर्ब रूपैयाँको कृषिजन्य वस्तु आयात

झन्डै दुई खर्ब रूपैयाँको कृषिजन्य वस्तु आयात

बाह्य व्यापार १५ प्रतिशतले घट्यो

Trade_NewsKarobar

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीबाट बच्न सरकारले चैतदेखि लगाएको लकडाउनका कारण नेपालको वैदेशिक व्यापारमा झन्डै १५ प्रतिशतले कमी आएको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक विवरणअनुसार नेपालको आयात व्यापार १५.६३ प्रतिशतले घट्यो भने निर्यात व्यापारमा पनि करिब १ प्रतिशतले कमी आयो ।

गत आर्थिक वर्षभरिमा नेपालले ११ खर्ब ९६ अर्ब रूपैयाँबराबरको वस्तु आयात गरेको छ । यसमध्ये २ खर्ब १अर्ब ७८ करोड कृषिजन्य वस्तुमात्र आयात गरेको छ ।

नेपालले विदेशबाट धान, मकै, कोदो, गहुँदेखि जुनेलोसम्मका अन्न आयात गर्छ ।गत वर्ष नेपालले ५६ अर्ब ८८ करोड रूपैयाँबराबरको अन्न  आयात गर्दा यहाँबाट जम्मा १ करोड ७० लाख रूपैयाँको मात्र अन्न निर्यात गरेको छ । यसमध्ये ३३ अर्ब ६५ करोड रूपैयाँको धान-चामल आयात भएकत्त भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेपालले भारत, चीन, जापान, अमेरिका, बंगलादेशलगायतका देशबाट चामल आयात गर्दै आएको छ । नेपालले धान, चामलदेखि कनिका समेत आयात गर्छ ।

कृषिप्रधान देश नेपालले गत आर्थिक वर्षमा ३३ अर्ब ५ करोड रूपैयाँको तरकारी र २०  अर्ब ७४ करोड रूपैयाँको फलफूल आयात गर्‍यो भने ९५ करोड ५७ लाख रूपैयाँको जीवजन्तु र ६ करोड रूपैयाँको मासु आयात गर्‍यो ।

गत आर्थिक वर्षभरिमा नेपालले कुल ९६ अर्ब १५ करोड रूपैयाँको वस्तु निर्यात गर्दा यसको एक तिहाइ हिस्सा पाम तेल र सोयाबिन तेल ले ओगटेको छ । यो दुवै नेपालको आफ्नो उत्पादन भने होइन ।

विगत दुई वर्षयता पाम तेल नेपालबाट विशेषगरी भारतमा निर्यात गर्नेक क्रम बढेको हो । गत आर्थिक वर्षमा नेपालबाट १६ अर्ब ९९ करोड ८१ लाख रुपैयाँको प्रशोधित पाम तेल  र २६ करोड ७६ लाख रूपैयाँको कच्चा पाम नेपालबाट भारततर्फ निर्यात भएको छ ।

यसैगरी, ९ अर्ब १७ करोड रूपैयाँको सोयाबिन तेल र २१ करोड ६६ लाख रूपैयाँको कच्चा सोयाबिन तेल नेपालबाट निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

प्रकाशित समय १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु