गृहपृष्ठ ‘निर्यात व्यवसायलाई अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा विकास गर्न महासंघले भिजन बनाउँछ’

‘निर्यात व्यवसायलाई अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा विकास गर्न महासंघले भिजन बनाउँछ’

निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले निर्यातलाई आफ्नो नेतृत्वले प्राथमिकतामा राख्ने विश्वास दिलाएका छन् ।

अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात व्यवसायलाई विकास गर्नेगरी महासंघले आफ्नो भिजन निर्माण गर्न लागेको अध्यक्ष गोल्छाले बताए । उनले निर्यातमा भएका समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । जसमा व्यवसायको लागत, निर्यात प्रोत्साहन, नीतिगत सुधार र व्यवस्थामा ध्यान दिने स्पष्ट पारे । उनले आफ्नो नेतृत्वमा पक्ष र विपक्ष नहुने र एकजुट भएर उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्ने भन्दै अर्थतन्त्रको विकासमा भुमिका खेल्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले निर्वाचनपछि महासंघमा पक्ष-विपक्ष सकिएको र आफूले निजी क्षेत्रको र उद्योगी व्यवसायीको साख बढाउन कुनै कसर बाँकी नराख्ने बताए । ‘मैले बैंकको बोनसबाट पाउने रकमभन्दा व्यवसाय धेरै ठूलो छ । त्यसैले बैंकको स्प्रेडदर कम गर्न मेरो पहल हुनेछ,’ वरिष्ठ उपाध्यक्ष ढकालले भने । उनले निजी क्षेत्रका समस्या पहिचान र निराकरणमा आफूले एक इँटा थप पर्ने प्रतिबद्धता व्यक्त गरे ।

वस्तुगततर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले अहिले नीतिगत स्पष्टता नभएको भन्दै त्यसले लगानीमा नै असर पार्ने बताए । उनले आफ्नो पहिलो प्राथमिकता नीतिगत स्पष्टता कायम गराउन सरकारसँग सहकार्य गर्ने र लगानीमैत्री वातावरण बनाउने बताए ।

स्वागत कार्यक्रममा जिल्लातर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले जिल्ला तहमा धेरै समस्या भएको भन्दै त्यसको समाधानको लागि काम गर्ने बताए । त्यसैगरि एसोशिएट्स तर्फका उपाध्यक्ष रामचन्द्र सांघाईले आफूपनि धागो निर्यातक उद्यमी भएको भन्दै निर्यातको वृद्धिको लागि पूर्ण सहयोग फिनलाई गर्ने जानकारी दिए ।

कार्यक्रममा फिनका अध्यक्ष राम बहादुर गुरुङ्गले निर्यातलाई प्रबद्र्धन गर्न नयाँ नेतृत्वलाई आग्रह गर्दै व्यवसायीक हित अनुकुल नीति ल्याउन पहल गर्नुपर्ने बताए । फिनका महासचिव दुर्गा बिक्रम थापाले महासंघको १० वर्षे मार्गचित्र बनाउन सहयोगी भुमिका खेल्न तयार रहेको भन्दै महासंघमा पक्ष विपक्षको रुपमा काम गरेमा त्यसको विरोध गर्ने चेतावनी दिए । यो कार्यकालमा महासंघ एकजुट भएको हेर्न चाहेको भन्दै हालका अध्यक्ष शेखर गोल्छाको कामको गतिलाई साथ दिने बताए ।

फिनका उपाध्यक्ष शंकर पाण्डेले फिन र महासंघ एकअर्काका परिपुरक भएका भन्दै एफएनसिसिआईमा सफाई गर्नुपर्ने समय आईसकेको तर्फ संकेत गरे । उनले महासंघका रानीति ल्याउन नहुने भन्दै नीतिगत परिमार्जन गरेर हालको निर्यातलाई ५ गुणाले बढाउन सकिने जिकिर गरेका थिए ।

स्वागत कार्यक्रममा अन्य वक्ताहरुले पनि महासंघ नेतृत्वलाई एक ढिक्का भएर अगाडि बढ्न सुझाव दिएका थिए । उनीहरुले सरकारसँग सहकार्य गरि नीतिगत स्पष्टता गर्दै निर्यात व्यवसाय र उद्योगलाई प्रथामिकतामा राखेर अर्थतन्त्रको विकास गर्नुपर्ने बताएका थिए ।

प्रकाशित समय १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु