गृहपृष्ठ प्रदेश ५ ले ल्यायो २८ अर्ब ९ करोडको बजेट
प्रदेश ५ ले ल्यायो २८ अर्ब ९ करोडको बजेट
प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याइएको हो ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गरेका हुन् । आगामी वर्षका लागि चालूतर्फ ११ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालूतर्फ ४०.८० प्रतिशत र पुँजीगततर्फ ५९.२० प्रतिशत बजेट छुट्याइएको सरकारले जनाएको छ ।
प्रदेश ५ लाई संघीय सरकारले स–शर्त अनुदान ९ अर्ब ६७ करोड ३ लाख र वित्तीय समानीकरण अनुदान ६ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ प्रदान गरेको थियो ।
प्रदेशको आन्तरिक राजस्व २ अर्ब ४० करोड छ । आर्थिक वर्ष २०७४÷७५ को बजेटबाट अनुमानित ६० करोड रुपैयाँ बचत रहेको मुख्यमन्त्री पोखरेलले जानकारी गराए । संघीय (केन्द्र) सरकारको बजेटमा पुँजीगतभन्दा चालू खर्च बढी हुने गरेको भए पनि प्रदेशको बजेटमा चालू खर्च कम र पुँजीगत बजेट बढी छ । केन्द्रको अधिकांश बजेट तलबभत्ता खुवाउन चालू खर्चमा जाने गरेको थियो । तर, प्रदेश सरकारअन्तर्गत कर्मचारी कम भएकाले चालू खर्च थोरै देखिएको छ ।
प्रकाशित समय १६:२१ बजे

















