गृहपृष्ठ नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हट्दै
नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हट्दै
२००९ मा पहिलो पटक नेपालका सबै क्षेत्रमा उडान सुरक्षा सम्परीक्षण गरिएको

विगत पाँच वर्षदेखि युरोपेली संघ (इयू) को कालोसूचीमा परेको नेपालको हवाई उड्डयन क्षेत्र उक्त सूचीबाट चाँडै हट्ने भएको छ ।
इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । सन् २०१३ बाटै अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो ।
नेपाल आइकाओको गम्भीर सुरक्षा सूचीमा परेलगत्तै इयूले पनि नेपाललाई उडान सुरक्षामा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द अधिकारीले गत शुक्रबार प्रतिनिधिसभा बैठकमा उडानसम्बन्धी समसामयिक विषयमा जानकारी गराउँदै नेपालको हवाई क्षेत्र इयूको खतरासूचीबाट छिट्टै हटाउन पहल गरिने प्रतिबद्धता जनाएका थिए ।
उनले अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपालको वायुसेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताउँदै अबको तीन महिनाभित्र इयूको कालोसूचीबाट पनि हट्ने विश्वास व्यक्त गरे ।
सुरक्षा चासो जनाउने इयूले नेपाली वायु यानलाई युरोपका आकासमा उड्न प्रतिबन्द लगाएको थियो । आइकाओको उडान सुरक्षा अडिटको नतिजापश्चात् नेपाल सरकारले इयूलाई नेपाली वायुसेवालाई उक्त सूचीबाट हटाउन आग्रह गरिसकेको छ ।
‘इयूको कालोसूचीबाट हटाउनका लागि प्राविधिक तथा कूटनीतिकस्तरमा भएको पहलबाट इयूको प्राविधिक समूह आगामी सेप्टेम्बरमा नेपाल आउने जानकारी प्राप्त भएको छ,’ पर्यटनमन्त्री अधिकारीले भने, ‘हामीलाई विश्वास छ, इयूको सुरक्षा सूचीबाट पनि नेपाल अबको तीन महिनाभित्र हट्नेछ ।’
पर्यटनमन्त्री अधिकारी आइकाओको कार्यक्रममा सहभागी हुन एकसाता अघि आइकाओ मुख्यालय मन्ट्रिल क्यानाडा पगेका थिए । त्यहाँ उडान सुरक्षा सुपरिवेक्षणको क्षेत्रमा नेपालले हासिल गरेको उल्लेखनीय प्रगतिलाई कदर गर्दै आइकाओले नेपाललाई ‘काउन्सिल प्रेसिडेन्ट’ अवार्ड प्रदान गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले उडान सुरक्षाका सम्बन्धमा नेपालले सबै प्रगति प्रतिवेदन इयूलाई पठाइसकेकाले चाँडै कालोसूचीबाट हट्ने विश्वास व्यक्त गरे । ‘हामीले सबै रिपोर्ट पठाएका छौँ, सेप्टेम्बरतिर इयूको प्राविधिक समूह नेपाल आएर एयरलाइन्सको एसिसमेन्ट गर्नेछन्,’ उनले भने, ‘त्यसपछिको अवस्थामा मात्रै कालोसूचीबाट हट्ने विषयको टुंगो लाग्नेछ ।’
इयूको एयर सेफ्टी सूचीमा रहेसम्म नेपालका कुनै पनि वायुयानले युरोपका आकासमा उडान गर्न पाउँदैनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चाँडै नेपाल भित्र्याउन लागेको दुई वाइडबडी विमानमार्फत जापानलगायत युरोपका गन्तव्यमा उडान भर्ने योजना छ । तर, इयूको कालोसूचीबाट नहटेसम्म निगमले जापान गन्तव्यमा उडान भर्न नसक्ने प्राधिकरणका महानिर्देशक गौतमको भनाइ छ ।
उडान सुरक्षाको क्षेत्रमा आइकाओबाट औँल्याइएको गम्भीर कमीकमजोरीलाई निराकरण गर्न नेपालले गरेका अथक प्रयासका कारण गत ४–११ जुुलाई २०१७ मा सम्पन्न उडान सुरक्षा सम्परीक्षण अडिटपश्चात नेपाल गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटेको थियो ।
आइकाओले विश्वव्यापी उडान सुरक्षा सुपरीवेक्षणअन्तर्गत आफ्ना सदस्य राष्ट्रको उडान सुरक्षा स्थितिको नियमितरुपमा मूल्यांकन गर्छ । आइकाओले वर्गीकरण गरेको क्षेत्र हवाई कानून, नागरिक उड्डयन संगठन, व्यक्तिगत इजाजतपत्र, वायुयान सञ्चालन, उडान योग्यता, वायुयान दुर्घटना जाँच, एयर नेभिगेसन सेवा र विमानस्थल सञ्चालन छन् ।
आइकाओले सन् २००९ मा पहिलो पटक नेपालका सबै आठ क्षेत्रमा उडान सुरक्षा सम्परीक्षण गरेको थियो । रासस
प्रकाशित समय ०८:११ बजे