गृहपृष्ठ सेयरबजार १२ सय अंकभन्दा तल
सेयरबजार १२ सय अंकभन्दा तल
सरकारले संस्थागत लगानीकर्तालाई निरुत्साहित गर्दा व्यक्तिगत लगानीकर्ताको समेत मनोबल खस्कियो : विश्लेषक
सेयर बजार परिसूचक (नेप्से) १२ सय अंकभन्दा तल झरेको छ । मंगलबार १५.२९ अंकले बजार घटेपछि समग्र बजार परिसूचक ११९४.८ अंकमा झरेको हो ।
मंगलबार सेयरबजारमा सूचीकृत कुनै पनि समूह उकालो लाग्न सकेनन् । एक सय ६० कम्पनीको सेयर किनबेच भएको बजारमा कारोबार रकम भने सोमबारको तुलनामा करिब पाँच करोड बढेको छ । सोमबार करिब १८ करोडको सेयर किनबेच भएको बजारमा मंगलबार करिब २३ करोड रुपैयाँको कारोबार भएको हो । होटल, उत्पादनमूलक र लघुवित्त समूह दुई प्रतिशतभन्दा धेरैले घटेका छन् । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरुको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.११ अंकले घटेको छ ।

विश्लेषकहरुले संस्थागत लगानीकर्तामाथिको सरकारको गलत दृष्टिकोणका कारण बजारप्रति आमलगानीकर्ताकै विश्वास गुम्दै गएको टिप्पणी गरेका छन् । संस्थागत लगानीकर्तालाई रोक लगाएकै कारण एनएमबी बैंकको एफपीओ नबिकेको उदाहरण दिँदै एक विश्लेषकले भने, ‘सरकारले संस्थागत लगानीकर्तालाई निरुत्साहित गरिरहेसम्म बजार उठ्दैन ।’ सरकारले एफपीओ र आईपीओमा संस्थागत लगानीकर्तालाई निषेध गर्ने गलत नीति लिएको उनीहरुको आरोप छ ।
केही दिनयता बजारप्रति व्यक्तिगत लगानीकर्ताको समेत विश्वास गुम्दै गएको छ । बजार निरन्तर ओरालो लागेपछि नयाँ लगानीकर्ता प्रवेश गर्न सकिरहेका छैनन् भने पुराना र ठूला लगानीकर्ता बजार प्रवेशका लागि न्यून विन्दु खोजिरहेका छन् । बजारमा छोटो समयमा सेयर आपूर्ति अत्यधिक बढेका बेला निरन्तर घटेको बजारले लगानीकर्ता आत्तिएको विश्लेषकहरुको ठहर छ । कर्जा समस्या र बढ्दो सेयर आपूर्तिबीच सरकारले सही नीति लिन नसक्दा सेयर बजार झन्–झन् ओरालो लाग्दै गएको उनीहरु बताउँछन् ।
प्रकाशित समय १७:३७ बजे

















