गृहपृष्ठ बुध्द एयरको वाराणसी उडान सुरु

बुध्द एयरको वाराणसी उडान सुरु

भ्रमण वर्ष सन् २०२० लाई टेवा पुग्ने पर्यटनमन्त्री रवीन्द्र अधिकारीको विश्वास

बुध्द एयरले शुक्रबारदेखि काठमाडाैं वाराणसी उडान सुरू गरेको छ । शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बुध्द एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले वाराणसी उडानबारे जानकारी दिए । कम्पनीले सोमबार र शुक्रबार गरी साताको दुर्इ उडान भर्नेछ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले क्षेत्रीय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले नेपालको पर्यटनलाई बढावा दिने विश्वास व्यक्त गरे । मन्त्री अधिकारीले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारीलाई उडान कनेक्टिभिटीले थप बल पुग्ने विश्वास गरे ।

मन्त्री अधिकारी तथा बुध्द एयरका प्रबन्ध निर्देशक बस्नेतले वाराणसी उडानका सम्पूर्ण यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वागत तथा बिदाइ गरेका थिए । पर्यटकीय तथा धार्मिक यात्रामा जाने तीर्थालुलाई उनीहरूले बिदाइ गरेका हुन् ।

नेपालबाट वाराणसी यात्रामा गएका यात्रुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतले स्वागत गर्ने कार्यक्रम छ ।

प्राचीन सहर र सभ्यतासँग जोडिएका सहरहरू हुन्, काठमाडौं र वाराणसी । धार्मिक आस्थाका हिसाबले पनि काठमाडौं र वाराणसीको स्थान उच्च छ । दुवै सहरलाई बुध्द एयरको उडानले सीधा सम्बन्ध स्थापित गरेको छ । कम्पनीले दुवै सहरका लागि विभिन्न धार्मिक तथा पर्यटकीय होलिडे प्याकेज पनि सञ्चालनमा ल्याएको छ । वाराणसीका लागि क्लासिक काशी, बुध्द ट्रेल जसमा सारनाथ, बोधगया तथा वरपरका अयोध्या, इलाहावाद, प्रयाग स्नान अादि छन् ।

भारतीय तिर्थालु तथा यात्रुका लागि पनि विभिन्न धार्मिक तथा होलिडे प्याकेज रहेको कम्पनीले जनाएको छ । जसमा पशुपतिनाथ, मुक्तिनाथ, जानकी दर्शनलगायत छन् । युवा वर्गलाई लक्षित गरि हिमालयन ट्रेल, ट्रेकिङ, जंगल सफारी इत्यादि पनि सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

यस उडानबाट तेस्रो मुलुकका पर्यटकलाई पनि नेपाल भित्र्याउन सकिने र सन् २०२० लाई सरकारको भ्रमण वर्ष मनाउने तयारीलाई थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ । काठमाडाैं–वाराणसी–काठमाडाैंको उडान अवधि जम्मा ५० मिनेटको हुनेछ । बुध्द एयरले अहिले प्रवर्धनात्मक दोहोरो भाडादर नेपालबाट वाराणसी १४ हजार र क्लासिक काशी दर्शनको होलिडे प्याकेज शुल्क २५ रूपैयाँ तोकेको छ ।

प्रकाशित समय १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु