गृहपृष्ठ झन् खुम्चियो सेयर बजार, साताभरको कारोबार एक अर्बमा सीमित

झन् खुम्चियो सेयर बजार, साताभरको कारोबार एक अर्बमा सीमित

share-decrease-newskarobar

एक दिनमै दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार रकमको इतिहास बनाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को साताभरको कारोबार एक अर्बमा सीमित भएको छ । सेयर संख्यामा भएको उल्लेख्य वृद्धिका बीच लगानीकर्ताको संख्या स्थिर रहेका बेला वित्तीय क्षेत्रबाट कर्जा प्रवाह घटेसँगै सेयर कारोबार रकममा ठूलो गिरावट आएको हो ।

सेयर बजारमा सूचीकृत कम्पनीहरुको चुक्तापुँजीमा गरिएको भारी वृद्धिका कारण साना लगानीकर्तालाई हकप्रदको भारीले थिचिएका छन् भने निरन्तर ओरालो लागेको बजारको न्यून बिन्दुको पर्खाइमा ठूला लगानीकर्ता देखिएका छन् । सेयर बजार बढ्न नसकेपछि ऋण लिएर लगानी गरेकाहरु अत्तालिएर बेच्न थाल्दा आपूर्ति झन् बढेको छ । यसको चपेटामा सेयर बजार परेको छ ।

अर्कोतर्फ, व्यक्तिगत लगानीकर्ताको पैसा आईपीओ र एफपीओमा फसेको छ । आईपीओ र एफपीओमा संस्थागत लगानीकर्तालाई रोक लगाइएपछि त्यसको दबाब व्यक्तिगत लगानीकर्तामा परेको हो । यसका कारण पनि बजारमा सेयरको माग बढ्न नसकेको नेपाल इन्भेस्टर्स फोरमले जनाएको छ । ‘सेयरको माग नबढेसम्म बजारमा सुधार आउँदैन,’ अध्यक्ष अम्बिकाप्रसाद पौडेलले भने ।

सेयर बजार विश्लेषकहरुले चार गुणाभन्दा धेरैले बढेको सेयर संख्यालाई आधार मान्ने हो भने अहिले मूल्य समायोजनको स्थितिमा बजार रहेको बताएका छन् । कम्पनीहरुको सेयर मूल्य ‘बेस प्राइस’भन्दा तल आइसकेकाले लगानीकर्ताले थोरै–थोरै गरेर सेयर उठाउने हिम्मत गर्नुपर्ने उनीहरु बताउँछन् । ‘कम्पनीहरुले पुँजीवृद्धिको तुलनामा नाफा बढाउन नसक्दा लाभांश वितरण पनि संकुचित भइरहेको छ,’ विश्लेषक रवीन्द्र भट्टराई भन्छन्, ‘यी सबै कुराको असर लगानीकर्ताको मानसिकतामा पर्न गई बजार सकारात्मक बन्न सकेको छैन ।’

साताभरमा एक अर्ब चार करोडको कारोबार

यो साता नेप्सेमा एक सय ८६ कम्पनीको एक अर्ब चार करोड १६ लाख रुपैयाँबराबरको मात्र कारोबार भयो । यो कारोबार रकम गत साताको भन्दा ७.२५ प्रतिशत कम हो । गत साता १९० कम्पनीको एक अर्ब १२ करोड ३१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१.२७ अंकले घटेर ११९८.५४ अंकमा पुगेको छ ।

लगानीकर्ताले सात खर्ब गुमाए
सेयर बजारमा आएको निरन्तरको गिरावटसँगै लगानीकर्ताले सात खर्ब गुमाएका छन् । अर्थात्, कुल बजार पुँजीकरण पनि १४ खर्ब १७ अर्बमा सीमित भएको छ । बजार पुँजीकरण दुई वर्षअघिको तुलनामा करिब ५० प्रतिशत घटेको हो । दुई वर्षअघि बजार २१ खर्बभन्दा बढी रहेको बजार पुँजीकरण अहिले १४ खर्बमा सीमित भएको हो ।

प्रकाशित समय १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु